समीक्षा अवधिमा देशमा सञ्चालित १४ वटा परम्परागत निर्जीवन बीमा कम्पनी र ४ वटा नयाँ लघु निर्जीवन बीमा कम्पनीहरूले कुल २ लाख ५४ हजार ६०७ वटा बीमालेख जारी गरी उक्त परिमाणमा बीमाशुल्क संकलन गरेका हुन्।
साउन महिनाको तथ्यांक अनुसार निर्जीवन बीमा बजारमा परम्परागत बीमा कम्पनीहरूको वर्चस्व कायमै देखिएको छ। समीक्षा अवधिमा परम्परागत १४ बीमकले २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गर्दै ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अर्कोतर्फ भर्खरै व्यवसाय विस्तार गरिरहेका नवप्रवेशी ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले २५ हजार आठ वटा बीमालेख जारी गर्दै ७३ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन्।
निर्जीवन बीमा कम्पनीहरुकाे साउनकाे व्यवसाय
| क्र.सं. |
कम्पनीको नाम |
जारी बीमालेख संख्या |
संकलित प्रिमियम (रु.) |
| १ |
हिमालयन एभरेष्ट इन्स्योरेन्स |
२७,८७१ |
५,६२,५१,८९२ |
| २ |
सगरमाथा लूम्विनी इन्स्योरेन्स |
२२,९६४ |
५,५३,२६,६६० |
| ३ |
एनएलजी इन्स्योरेन्स |
१९,७५६ |
५,३४,६७,२४५ |
| ४ |
शिखर इन्स्योरेन्स |
२७,६५२ |
५,१२,०२,०४० |
| ५ |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स |
२०,६६६ |
४,६७,६५,७१० |
| ६ |
आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स |
१८,५५७ |
४,४७,१३,३६१ |
| ७ |
दि ओरिएन्टल इन्स्योरेन्स |
४,८९५ |
४,४३,७०,४२६ |
| ८ |
नेको इन्स्योरेन्स |
२३,०४४ |
३,८०,८५,३२५ |
| ९ |
युनाइटेड अजोड इन्स्योरेन्स |
२७,९८३ |
३,३२,३४,८८४ |
| १० |
नेशनल इन्स्योरेन्स |
२,६७४ |
२,७०,२३,९४१ |
| ११ |
नेपाल इन्स्योरेन्स |
१३,६६२ |
२,५२,७६,००१ |
| १२ |
सानिमा जिआईसी इन्स्योरेन्स |
९,९२७ |
२,४०,३१,०१२ |
| १३ |
राष्ट्रिय बीमा कम्पनी |
१,३६७ |
१,९०,२२,०२० |
| १४ |
प्रभु इन्स्योरेन्स |
८,५८१ |
१,४०,६८,०३६ |
| जम्मा |
१४ कम्पनीहरू |
२,२९,५९९ |
५३,२८,३८,५५५ |
कम्पनीगत व्यवसायको विश्लेषण गर्दा नेपालको निर्जीवन बीमा बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ। हिमालयन एभरेष्टले साउन महिनामा मात्र २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५ करोड ६२ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको सगरमाथा लूम्विनी इन्स्योरेन्सले २२ हजार ९६४ वटा बीमालेखमार्फत ५ करोड ५३ लाख २६ हजार रुपैयाँको व्यवसाय गरेको छ। यस्तै एनएलजी इन्स्योरेन्सले १९ हजार ७५६ वटा बीमालेख जारी गरी ५ करोड ३४ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ।
अग्रणी कम्पनीहरूको सूचीमा शिखर इन्स्योरेन्सले ५ करोड १२ लाख २ हजार रुपैयाँ व्यवसाय गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड ६७ लाख ६५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यस्तै आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ४ करोड ४७ लाख १३ हजार रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ४३ लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
अन्य बीमकहरूको बजार हिस्सा हेर्दा नेको इन्स्योरेन्सले ३ करोड ८० लाख ८५ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ करोड ३२ लाख ३४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ करोड ७० लाख २३ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ करोड ५२ लाख ७६ हजार रुपैयाँ तथा सानिमा जिआईसी इन्स्योरेन्सले २ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १ करोड ९० लाख २२ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ करोड ४० लाख ६८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
लघु निर्जीवन बीमातर्फ क्रियाशील कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २२ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सले १७ लाख ८८ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १७ लाख ६७ हजार रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १४ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
पोर्टफोलियोका आधारमा व्यवसायको वर्गीकरण गर्दा निर्जीवन बीमा क्षेत्रमा सम्पत्ति बीमाको हिस्सा सबैभन्दा बढी देखिएको छ। साउन महिनामा सम्पत्ति बीमाबाट मात्रै १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ जुन कुल व्यवसायको ठूलो हिस्सा हो। दोस्रो स्थानमा रहेको मोटर बीमाबाट १२ करोड २२ लाख ९६ हजार रुपैयाँ संकलन भएको छ। यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ७ करोड ५८ लाख ७८ हजार रुपैयाँ, विविध बीमाबाट ५ करोड ९६ लाख ८९ हजार रुपैयाँ, सामूद्रिक बीमाबाट ४ करोड २९ लाख १० हजार रुपैयाँ, स्वास्थ्य बीमाबाट ३ करोड २३ लाख २५ हजार रुपैयाँ र कृषि तथा बाली बीमाबाट १ करोड ९२ लाख २७ हजार रुपैयाँ बीमाशुल्क उठेको छ। बाँकी विधातर्फ हवाई बीमाबाट १ करोड ३४ लाख ४७ हजार रुपैयाँ, लघु बीमाबाट ७३ लाख २८ हजार रुपैयाँ र दायित्व बीमाबाट १२ लाख ९५ हजार रुपैयाँ संकलन भएको छ।
प्रदेशगत आधारमा निर्जीवन बीमा व्यवसायको विश्लेषणात्मक चित्र हेर्दा बाग्मती प्रदेशको वर्चस्व कायमै रहेको छ। कुल ५४ करोड रुपैयाँको व्यवसायमध्ये बाग्मती प्रदेशबाट मात्रै ३८ करोड ६ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल संकलित बीमाशुल्कको ७० प्रतिशतभन्दा बढी हिस्सा हो। बाग्मती प्रदेशमा साउन महिनामा १ लाख २३ हजार ३८९ वटा बीमालेख जारी भएका छन्।
बाग्मतीपछि लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ जहाँबाट ३९ हजार ९९ वटा बीमालेखमार्फत ४ करोड २७ लाख १७ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। कोशी प्रदेशबाट २८ हजार ९७० वटा बीमालेखमार्फत ४ करोड १९ लाख ६९ हजार रुपैयाँ र मधेश प्रदेशबाट २६ हजार ५१९ वटा बीमालेखमार्फत ३ करोड ५३ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
भौगोलिक आधारमा गण्डकी प्रदेशमा २० हजार ८९६ वटा बीमालेख जारी भई २ करोड ५५ लाख ४५ हजार रुपैयाँ व्यवसाय भएको छ भने सुदुरपश्चिम प्रदेशमा ११ हजार ६०० वटा बीमालेखमार्फत ९९ लाख १ हजार रुपैयाँ संकलन भएको छ। बीमाको पहुँचका दृष्टिकोणले कर्णाली प्रदेश अझै पनि निकै पछाडि देखिएको छ जहाँ साउन महिनामा ४ हजार १३४ वटा मात्रै बीमालेख जारी भई ३९ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
समग्रमा साउन महिनाको तथ्यांकले निर्जीवन बीमा बजारमा सम्पत्ति र मोटर बीमाको दबदबा कायमै रहेको देखाउँछ भने आर्थिक क्रियाकलापको केन्द्रका रूपमा रहेको बाग्मती प्रदेशमै बीमा व्यवसायको ठूलो हिस्सा सीमित रहेको स्पष्ट पार्छ।