के नेप्सेमा प्राविधिक विश्लेषणले वास्तवमै काम गर्छ? १४ फाइनान्स कम्पनीहरूको दश वर्षभन्दा बढीको तथ्याङ्कले के देखाउँछ?

Oct 02, 2026 06:03 AM Merolagani



दिपेन्द्र पाण्डे

नेपालको शेयर बजारमा लामो समयदेखि एउटा प्रश्न उठिरहेको छ: चार्ट र प्राविधिक सूचक हेरेर गरिने कारोबारले साँच्चै काम गर्छ कि गर्दैन? कतिपय लगानीकर्ता यसलाई बजार बुझ्ने उपयोगी औजार मान्छन् भने कतिपयले यसलाई केवल अनुमान वा संयोग मात्र ठान्छन्। 

यसको जवाफ व्यक्तिगत अनुभवभन्दा विगतको तथ्याङ्कमा खोज्नु बढी भरपर्दो र उपयुक्त हुन्छ। यसै उद्देश्यका लागि, नेपालका १४ वटा फाइनान्स कम्पनीहरूको दीर्घकालकाे लङ टर्म तथ्याङ्कहरू प्रयाेग गरी छ वटा प्राविधिक रणनीतिहरूको ब्याकटेस्ट गरिएको छ। 

ब्याकटेस्ट भनेको के हो?

सरल भाषामा भन्नुपर्दा, ब्याकटेस्ट भनेको कुनै लगानीको नियमलाई विगतको बजार तथ्याङ्कमा लागू गरेर हेर्ने विधि हो—जसले “यदि यही नियम पहिले अपनाएको भए के हुन्थ्यो?” भन्ने प्रश्नको उत्तर दिन्छ। यसले कुनै रणनीति विगतमा कति पटक सफल भयो? र औसतमा कति प्रतिफल दियो? भन्ने देखाउँछ। 

अध्ययनविधि

  • कम्पनीहरू: फाइनान्स क्षेत्रका १४ वटा कम्पनीहरू (BFC, CFCL, GFCL, GMFIL, GUFL, ICFC, JFL, MFIL, MPFL, NFS, PFL, PROFL, RLFL र SIFC) को विगतका तथ्याङ्क प्रयोग गरिएको छ। 
  • अवधि: रणनीतिअनुसार सन् २०१२ वा २०१५ देखि १८ सेप्टेम्बर २०२६ सम्मको तथ्याङ्क समेटिएको छ। 
  • प्रयोग गरिएका उपकरण: मुभिङ एभरेज (Moving Average), आरएसआई (RSI), म्याकडी (MACD), भोलुम (Volume) र एडीएक्स (ADX) जस्ता प्राविधिक सूचकहरू मिलाएर छ वटा रणनीति परीक्षण गरिएका छन्। 

जोखिम नियन्त्रणका नियम (Risk Management):

  • स्टप-लस (घाटा कटौती): किनेको मूल्यभन्दा ५ प्रतिशत तल झरेपछि शेयर बिक्री गर्ने। 
  • नाफाको लक्ष्य (Profit Target): कम्तीमा १५ प्रतिशत नाफा भएमा वा अघिल्लो ६० दिनको सबैभन्दा उच्च मूल्य (दुईमध्ये जुन बढी हुन्छ) पुगेपछि नाफा सुरक्षित गर्ने।

 

 

माथिको तालिकाले देखाउँछ कि सबैभन्दा धेरै कारोबार गराउने रणनीति (जस्तै रणनीति ५) भन्दा कम तर धेरै सही संकेत दिने रणनीति (जस्तै रणनीति ३)हरू ऐतिहासिक रूपमा बढी सफल देखिएका छन्।

अध्ययनका ४ मुख्य सिकाइहरू

१. केवल शेयरको चार्टभन्दा समग्र क्षेत्रको ट्रेन्ड हेर्दा नतिजामा सुधार

  • रणनीति ५ (दैनिक सूचक मात्र): शेयरको दैनिक चार्ट मात्र हेर्दा १०५ वटा कारोबार गरायो, जसमा सफलता दर ५५.२ प्रतिशत मात्र रह्यो। 
  • रणनीति १ (क्षेत्रगत सूचक थप्दा): जब यसमा फाइनान्स क्षेत्रको समग्र इन्डेक्स पनि हेरियो, तब कारोबार संख्या घटेर ३९ मा झर्‍यो तर सफलता दर बढेर ७६.९ प्रतिशत पुग्यो। 
  • साधारण सिकाइ: कुनै एउटा कम्पनी कारोबारका लागि राम्रो छ कि छैन मात्र नहेरी, त्यो कम्पनी कुन क्षेत्रमा पर्छ? र त्यसको समग्र अवस्था कस्तो छ? भन्ने पनि हेर्नुपर्छ।  

२. धेरै समयावधिको ट्रेन्ड थप्दा सफलता अझ बढ्यो

  • रणनीति २: साप्ताहिक रूपमा बजारको शक्ति नाप्ने उपकरण (ADX) थपिँदा १९ मध्ये १६ कारोबार (८४.२ प्रतिशत) सफल भए। 
  • रणनीति ३: मासिक रूपमा म्याकडी (MACD) पनि थपिँदा जम्मा १५ कारोबारमध्ये १४ वटा (९३.३ प्रतिशत) सफल भए। यो अध्ययनको सबैभन्दा उत्कृष्ट नतिजा हो। तर, यो केवल १५ वटा कारोबारमा मात्र आधारित भएकाले भविष्यमा पनि सधैँ साेही दरमा सफलता मिल्छ भन्ने सुनिश्चित हुँदैछ। 

३. बारम्बार कारोबार गर्नुभन्दा छनोटपूर्ण कारोबार गर्नु प्रभावकारी

  • रणनीति ५ ले १४ वर्षमा १०५ पटक (वर्षमा औसत ७ पटक) कारोबार गराउँदा ५५.२ प्रतिशत सफल भयाे।
  • तर रणनीति ३ ले ११ वर्षमा जम्मा १५ पटक (वर्षमा करिब १ पटक) मात्र कारोबार गराउँदा सफलता दर ९३.३ प्रतिशत पुग्यो।
  • सिकाइ: हरेक दिन जथाभाबी कारोबार गर्नु र राम्रो अवसर कुरेर अनुशासित ढङ्गले कारोबार गर्नु फरक कुरा हुन्।

४. सफलता दर मात्र होइन, नाफा-नोक्सानीको पाटो पनि हेर्नुपर्छ

सफलता दर धेरै भएर मात्र पनि हुँदैन। प्रति कारोबार औसत प्रतिफल र नोक्सानीको जोखिम कति छ? भन्ने पनि सँगै हेर्नुपर्छ। जस्तै, अधिकतम नोक्सानी ५ प्रतिशतमा सीमित गरिँदा, रणनीति ३ मा औसत प्रतिफल १५.२ प्रतिशत र रणनीति १ मा ११.९ प्रतिशत देखियो। 

के नेप्सेमा प्राविधिक विश्लेषणले काम गर्छ त?

यो अध्ययनले दिने सावधानीपूर्ण उत्तर यस्तो छ: खासगरी क्षेत्रगत ट्रेन्डका साथै दीर्घकालीन सङ्केतहरूलाई मिलाएर प्रयोग गर्दा केही नियममा आधारित रणनीतिहरूले विगतको तथ्याङ्कमा राम्रो नतिजा देखाएका छन्। तर बजार परिवर्तनशील भएकाले प्राविधिक विश्लेषण सधैं काम गर्छ भन्न सकिँदैन। यसलाई जादुई सूत्र होइन, नियम बनाएर निर्णय गर्ने उपकरण ठान्नुपर्छ। 

“नेप्सेमा उचित प्राविधिक विश्लेषण गरेर कारोबार गरियो भने ट्रेडिङमा ७०% भन्दा सफल भइन्छ। माथिको तालिकाको विश्लेषणले पनि त्यही देखाउँछ। ६५–७० प्रतिशत सफलता दर भएको ट्रेडर नाफामा रहन सक्छ?

सक्छ, तर स्टप-लस र नाफाको लक्ष्य कडाइका साथ पालना गरेमा मात्र”। 

विश्वव्यापी तथ्याङ्कअनुसार ७० देखि ९७ प्रतिशत अल्पकालीन ट्रेडरले नाेक्सानी व्यहाेर्छन्, जसको मुख्य कारण गलत फर्मुला होइन, मानसिक अनुशासनको कमी हो।

खुद्रा लगानीकर्ताले के सिक्ने?

  • बजारको बृहत तस्वीर हेर्ने: एउटा कम्पनीको मात्र चार्ट नहेरी समग्र क्षेत्र र बजारको ट्रेन्ड बुझ्ने। 
  • एउटै इन्डिकेटरमा मात्र भर नपर्ने: धेरै सिग्नलहरू एकै ठाउँमा मेल खान्छन् कि खादैनन्, जाँच्ने। 
  • गुणस्तरमा ध्यान दिने: बारम्बार कारोबार गर्नुभन्दा छानिएका र भरपर्दो अवसरमा मात्र कारोबार गर्ने। 
  • पहिलो सर्त, जोखिम व्यवस्थापन: कारोबार गर्नुअघि नै आफूले कति घाटा व्यहाेर्न सकिन्छ? र कतिखेर निस्कने? (Stop-loss) निर्धारण गर्ने। 
  • ब्याकटेस्टलाई अन्तिम प्रमाण नमान्ने: यसले विगतको इतिहास देखाउने हो, भविष्यको शतप्रतिशत ग्यारेन्टी गर्दैन। 

निष्कर्ष

दैनिक सिग्नल मात्र हेर्ने रणनीतिको सफलता दर ५५.२ प्रतिशत थियो, तर क्षेत्रको ट्रेन्ड र दीर्घकालका संकेत थप्दा यो दर ७६.९, ८४.२ र ९३.३ प्रतिशतसम्म पुग्यो। तर यी अंक भविष्यको ग्यारेन्टी होइनन्। यसकाे मुख्य सन्देश “कुन इन्डिकेटर सबैभन्दा राम्रो?” पत्ता लगाउनु होइन। 

बरु सोध्नुपर्ने प्रश्न यो हो: 

“के म नियमबिना बजारमा लगानी गरिरहेकाे छुँ?, कि परीक्षण गरिएको नियम, उचित जोखिम व्यवस्थापन र धैर्यताका साथ निर्णय गरिरहेको छु?”

कुनै एउटा इन्डिकेटरले जादु गर्दैन, तर परीक्षण गरिएको रणनीति, स्पष्ट प्रवेश र निकासका नियम, जोखिम नियन्त्रण र अनुशासनले निर्णयलाई अड्कलबाट तथ्यतर्फ लैजान सक्छ। तालिकाका छ वटा रणनीति उदाहरण मात्र हुन्; अन्य हजारौं संयोजन अझै परीक्षण हुन बाँकी छन्। कारोबार गर्नु पौडी खेलेजस्तै हो: जसलाइ पढेर बुझ्न सकिन्छ। तर वास्तविक सीप, अभ्यास र अनुशासनसहित मैदानमा उत्रेपछि मात्र आउँछ।

नोट: यस अध्ययनमा ब्रोकर कमिसन, सेबाेन शुल्क, पूँजीगत लाभकर, मूल्यमा हुने उतारचढाव तथा केही ऐतिहासिक तेजी बजारको प्रभावलाई पूर्ण रूपमा समावेश गरिएको छैन, त्यसैले वास्तविक बजारमा परिणाम केही भिन्न हुन सक्छ। 

 



आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।