कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रियामा सुरुमा वडा तहबाट प्रतिनिधि तथा कार्यसमिति चयन हुन्छन्। त्यसपछि गाउँ–नगर, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेश तहका नेतृत्व तथा प्रतिनिधि चयन गरिन्छ। विभिन्न तहबाट छनोट भएका प्रतिनिधिमध्येबाट महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। यही प्रतिनिधिले अन्ततः कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। उनीहरूले सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछन्।
कांग्रेसको महाधिवेशनको अहिलेको निर्वाचन प्रक्रियामा दोस्रो बजारमा सक्रिय रूपमा शेयर कारोबार गर्दै आएका लगानीकर्ताहरू पनि सहभागी भएका छन्। महाधिवेशन प्रतिनिधिदेखि प्रदेश तथा जिल्ला तहका विभिन्न पदमा शेयर बजारसँग जोडिएका व्यक्तिहरूले उम्मेदवारी दिएका हुन्।
शेयर बजारका सक्रिय लगानीकर्ता तारा फुल्लेलले अर्घाखाँचीबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। फुल्लेल लामो समयदेखि पुँजी बजारका विषयमा सक्रिय छन्। उनले लगानीकर्ताको हित, बजार सुधार, नियामकीय प्रभावकारिता र संस्थागत सुधारका विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्। लगानीकर्ताको आवाज नीति निर्माण तहसम्म पुग्नुपर्ने विषयमा पनि उनले निरन्तर बोल्दै आएका छन्।
फुल्लेल राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनले विद्यार्थी राजनीतिबाट क्षेत्रीय सचिव तथा लुम्बिनी प्रदेश प्रतिनिधिसम्मको जिम्मेवारी पूरा गरेका छन्। फुल्लेलले पार्टी संगठनलाई बलियो बनाउने, युवा पुस्तालाई पार्टीसँग जोड्ने र अग्रजको अनुभवलाई नयाँ पुस्ताको ऊर्जासँग जोड्ने विषयलाई प्राथमिकता दिँदै आएका छन्।
त्यसैगरी, शेयर बजारमा सक्रिय महिला लगानीकर्ता दुर्गा तिवारीले पनि महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी छन्। उनले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी हुन्। तिवारी शेयर बजारमा सक्रिय महिला लगानीकर्ताका रूपमा परिचित छन्।
रुपन्देहीबाट मुकुन्द चालिसेले पनि महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। उनले अपाङ्गता भएको क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन्। चालिसेले पार्टीका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्। विशेष आवश्यकता भएका वर्गको सम्मानजनक उपस्थितिका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

शेयर बजारसँग जोडिएका व्यक्तिहरूले प्रदेश र जिल्ला तहमा पनि उम्मेदवारी दिएका छन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बागमती प्रदेश कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, संघका उपाध्यक्ष कमलराज अधिकारीले काठमाडौं क्षेत्र नम्बर ८ बाट क्षेत्रीय सचिव पदका लागि उम्मेदवारी दिएका छन्। अधिकारी शेयर बजारका लगानीकर्ताका विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा शेयर बजारसँग जोडिएका अन्य व्यक्तिहरूको पनि सहभागिता रहेको छ। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या ठूलो भएपनि सक्रिय रूपमा कारोबार गर्ने र शेयर बजारका समसामयिक विषयमा सार्वजनिक रूपमा सक्रिय देखिएका व्यक्तिहरूलाई मात्र समेटिएको छ।