बजार घट्दै तल्लो विन्दुमा झर्ने क्रम जारी नै छ। साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ को विन्दुमा झरेको छ। यस दिन चार अर्ब २९ करोड रुपैयाँको मात्रै शेयर खरिदबिक्री भएको छ। पछिल्लो बजारको प्रवृत्तिले बजार संवेदनशील अवस्थामा रहेको देखाएको छ।
कारोबार रकम, बढ्ने र घट्ने कम्पनीको संख्या, क्षेत्रगत कारोबार र लगानीकर्ताको व्यवहारलाई हेर्दा तत्काल बजार सकारात्मक देखिँदैन। बजारमा के भएको हो भन्ने कुरा सूचक मात्र हेरेर बुझ्न कठिन हुने बजारका जानकारहरूको भनाइ छ। लगानीकर्ताको मनोबल पनि कमजोर भएकै कारण बजारले गति लिन नसकेको हो। कम्पनीको वित्तीय अवस्था, ब्याजदर, तरलता र नियामकीय नीति भने सकारात्मक देखिएका छन्। तर पछिल्ला दिनहरूमा प्रमोटर शेयर बिक्रीको विषय बजारमा बढी चर्चामा रहेको छ।
पछिल्लो समय प्रमोटर वा आधारभूत शेयरधनीले ठूलो परिमाणमा शेयर बिक्री गर्नुअघि सूचना दिनुपर्ने व्यवस्था चर्चामा छ। धितोपत्र बोर्डको निर्देशनअनुसार पाँच प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहने आधारभूत शेयरधनीले बिक्री गर्नुभन्दा १५ दिनअघि कम्पनीलाई जानकारी दिनुपर्ने र त्यसको सूचना नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
पछिल्ला दिनमा यसै व्यवस्थाले बजारलाई बिथोलेको लगानीकर्ताहरूको बुझाइ छ। यस व्यवस्थाले बजारलाई सम्भावित ठूलो आपूर्तिबारे पहिले नै जानकारी दिएको हुन्छ। ठूलो कित्ता बिक्रीको सूचनाले लगानीकर्ताको मनोविज्ञानमा दबाब परेको हुन सक्ने लगानीकर्ता ऋतुजंग जिसीले बताए। बिक्रीको कारण, बिक्रीपछि बाँकी रहने स्वामित्व र कम्पनीप्रतिको प्रमोटरको दीर्घकालीन प्रतिबद्धताको विषयमा पनि नीतिगत व्यवस्था भएमा त्यसको नकारात्मक प्रभाव नपर्ने उनको बुझाइ छ।
त्यस्तै, लक–इन सकिएपछि ठूलो मात्रामा शेयर बजारमा आउन सक्ने भएकाले यसको प्रभाव बजारमा परिरहेकै छ। वास्तवमा लक–इन अवधिको उद्देश्य प्रमोटर तथा संस्थापकलाई निश्चित समयसम्म कम्पनीसँग जोडेर राख्नु हो। तर संस्थापक लगानीकर्ताहरूले त्यसको दुरुपयोग गर्दै मूल्य उचालेर चर्को मूल्यमा सर्वसाधारणलाई शेयर भिडाउने अस्त्रका रूपमा मात्रै लिएको लगानीकर्ताहरूको आरोप छ।
सर्वसाधारणका लागि सीमित शेयर मात्र बजारमा आएपछि मूल्य तीव्र रूपमा बढ्ने गरेको छ। पछि लक–इन खुलेर ठूलो आपूर्ति आउँदा मूल्यमा दबाब पर्ने गरेको छ, जसले कम्पनीप्रतिको विश्वसनीयता नै डगमगाउने लगानीकर्ताहरूको बुझाइ छ। सोही कारण लगानीकर्ताले प्रारम्भिक मूल्य वृद्धि मात्रै नभई कम्पनीको वित्तीय अवस्था र सम्भावित आपूर्तिलाई ख्याल गरेर लगानी गर्नुपर्ने जानकारहरू बताउँछन्।
बजारमा देखिएका यस्ता बेथितिहरूलाई सुधार गर्दै जान प्रतिबद्ध रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बताए। हाल बजारको मनोबल सुधार्न सबैभन्दा पहिले नीतिगत स्पष्टता र स्थिरता जरुरी छ। नीतिगत बाटोहरू स्पष्ट भएपछि सुधारको कामले पनि गति लिने भट्टले भने। प्रमोटर शेयरको लक–इन, शेयर बिक्रीको पूर्वसूचना, बिक्रीपछि कायम रहने स्वामित्व र शेयरको वर्गीकरणबारे स्पष्ट व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए।
त्यसैगरी, अहिले बजारको अर्को समस्या शेयर supply (आपूर्ति) पनि भएको लगानीकर्ताहरूको बुझाइ छ। बजारमा माग बढाउन दीर्घकालीन संस्थागत लगानीलाई प्रोत्साहन गर्न आवश्यक छ। मार्जिन कारोबार तथा अन्य नयाँ वित्तीय उपकरण विस्तार गर्दा भने जोखिम व्यवस्थापन र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा लगानीकर्ताहरूले जोड दिँदै आएका छन्।
आइपीओ स्वीकृत गर्दा कम्पनीको वित्तीय अवस्था, व्यवसायको सम्भावना र जोखिमलाई प्राथमिकतामा राखिएको छ। आइपीओ मूल्य निर्धारणमा पनि पारदर्शिता बढाउन लगानीकर्ताहरूले जोड दिँदै आएका छन्। बुक बिल्डिङमा संस्थागत लगानीकर्ताको भूमिका र लक–इन व्यवस्थाको बजारमा पर्ने प्रभावका आधारमा पुनरावलोकन गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ।
बजार सुधारको जिम्मेवारी नियामक निकायको मात्र होइन; लगानीकर्ताले पनि आफ्नो निर्णय प्रक्रियामा सुधार गर्नुपर्छ। हल्ला, सामाजिक सञ्जाल वा छोटो अवधिको मूल्य वृद्धिका आधारमा लगानी गर्नु जोखिमपूर्ण हुने जानकारहरूको बुझाइ छ।