सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ‘टप गेनर्स’ को शीर्ष १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन्। यस दिन १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।