घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

Oct 07, 2026 06:29 AM RSS



दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा हिजाे बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

बैठकले यही असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।

उनका अनुसार, सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ ।

दसैँमा ठूलो संख्यामा यात्रु राजधानीलगायत सहरी क्षेत्रबाट आआफ्नो गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

दसैँका समयमा यात्रुले अनावश्यक दुःख पाउन नपरोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

दसैँको समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।