नेपाल राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, आज बोलकबोल

Oct 07, 2026 10:42 AM Merolagani



नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन (निक्षेप संकलन) गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले २०८३ असोज २१ गते २८ दिन अवधिको ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल असोज २१ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत हुनेछ। सोही दिन निष्कासन हुने यस उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ कात्तिक १८ गते तोकिएको छ। यसको ब्याजदर भने बोलकबोल प्रतिस्पर्धाका आधारमा निर्धारण हुनेछ।

कस्ता संस्था सहभागी हुन पाउने ?
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल ३० अर्ब रुपैयाँसम्मको लागि बोल पेश गर्न सक्नेछन्। यसमा बहु-ब्याजदरमा पनि बहु-बोलकबोल गर्न सकिने सुविधा रहेको छ।

बाँडफाँड प्रक्रिया र शर्तहरू :

  • प्राथमिकता : निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकतामा राखिनेछ।

  • दामासाही बाँडफाँड : समान ब्याजदर उल्लिखित बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा 'प्रो-राटा बेसिस' (दामासाही) मा बाँडफाँड गरिनेछ।

  • धितो सुविधा : यस उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ।

  • नियामकीय गणना : संकलित निक्षेप रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। यद्यपि, यसलाई वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपात (Liquidity Ratio) मा भने गणना गर्न पाइने व्यवस्था छ।

  • पूर्व-भुक्तानी (Pre-mature) नहुने : संकलित निक्षेप रकम भुक्तानी मिति अगावै फिर्ता भुक्तानी हुने छैन।

साथै, बोलपत्र स्वीकृत भएपछि निष्कासनका दिन खातामा पर्याप्त रकम नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।