राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै नयाँ नोट साट्न सकिने व्यवस्था

Oct 10, 2026 11:03 AM Merolagani



दसैँका लागि नयाँ नोट साट्न विभिन्न बैंकका शाखामा पुगेका सेवाग्राहीले सहज रूपमा नोट प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। सरकारी सूचनाबमोजिम जुनसुकै बैंकबाट नयाँ नोट प्राप्त गर्न सकिने भनिए पनि व्यवहारमा भने सेवाग्राहीले विभिन्न समस्या भोग्नुपरेको बताएका छन्।

आफ्नो खाता रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत नजिकका केही निजी बैंकका शाखामा नयाँ नोट साट्न जाँदा कतै नयाँ नोट नआएको, कतै सीमित रकम मात्र आएकाले वितरण गरिसकेको र कतै निश्चित मितिमा आउन भन्दै सेवाग्राहीलाई फर्काउने गरिएको एक सेवाग्राहीले बताए।

यसैबीच, नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा भने नयाँ नोट साट्ने प्रक्रिया सहज रहेको पाइएको छ। एक मित्रबाट विशेषगरी ज्येष्ठ नागरिकलाई समेत लाइनमा नबसी सहज रूपमा नयाँ नोट साट्न सकिने जानकारी पाएपछि थापाथली पुगेका एक सेवाग्राहीले पाँच मिनेटभित्रै आवश्यक रकम साट्न पाएको अनुभव सुनाए।

 

अन्य बैंकका शाखामा नयाँ नोट साट्न कठिनाइ भोग्नुपरेको अवस्थामा नेपाल राष्ट्र बैंकमा छिटो र सहज रूपमा सेवा पाएको भन्दै उनले बैंकको व्यवस्थापनको प्रशंसा गरेका छन्।

सेवाग्राहीका अनुसार उचित व्यवस्थापन र प्रभावकारी कार्यप्रणाली अपनाउन सके सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सकिन्छ। नेपाल राष्ट्र बैंक, थापाथलीमा देखिएको सेवा प्रवाह त्यसको उदाहरण भएको उल्लेख गर्दै उनले यस्तो व्यवस्थापन अन्य सरकारी तथा गैरसरकारी निकायमा समेत लागू हुनुपर्नेमा जोड दिएका छन्।

नयाँ नोट साट्ने कार्यलाई सहज बनाएको भन्दै उनले नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित पक्षलाई धन्यवादसमेत दिएका छन्।