नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरा राख्ने कार्यमा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएपनि कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।
घटस्थापनाको साइत आज बिहान ११ बजेर ४७ मिनेटमा बजे रहेको छ । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।