चार करोड बिगो भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

Oct 09, 2026 01:59 PM Merolagani



बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले चार करोड रुपैयाँ बिगो र कैद सजाय ठेकिएका फरार प्रतिवादीलाई भक्तपुरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला, साविक झौखेल गा.वि.स. वडा नं. ३ (हाल चाँगुनारायण नगरपालिका वडा नं. ३) बस्ने दिपक चन्द्र न्यौपाने हुन। राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दिपक चन्द्र न्यौपाने रहेको बैंकिङ्ग कसुर मुद्दामा (मुद्दा नं. ०८०–८१–०११२) झापा जिल्ला अदालतको मिति २०८१ वैशाख ७ गतेको फैसलाले उनलाई चार करोड रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र एक महिना १५ दिन कैदको सजाय सुनाएको थियो।

अदालतको फैसलापछि सजाय बेरुजू राखी फरार रहँदै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरी टोलीले उनलाई मिति २०८३ असोज २२ गते भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १ सृजनाटोलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।