नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत, विद्युत् र वित्तीय क्षेत्रको योगदान उच्च

Oct 14, 2026 05:31 PM Merolagani



नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा ४ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा विद्युत् उत्पादन तथा वितरण, वित्तीय तथा बिमा सेवा, आवास तथा भोजन सेवा र सूचना तथा सञ्चार क्षेत्रको वृद्धिले अर्थतन्त्र विस्तारमा योगदान पुर्‍याएका छन् ।

कार्यालयले असोज २८ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख, जेठ र असार महिनालाई समेट्ने चौथो त्रैमासिकमा आधारभूत मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ प्रतिशतले बढ्ने प्रारम्भिक

अनुमान छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकमा यस्तो वृद्धिदर ४.८ प्रतिशत थियो । यसले अर्थतन्त्र विस्तार भए पनि अघिल्लो वर्षको तुलनामा वृद्धिदर केही सुस्त रहेको देखाउँछ ।

अर्थतन्त्रमा देखिएको यो विस्तारमा विद्युत् तथा ग्याससम्बन्धी गतिविधिको योगदान सबैभन्दा उच्च रहेको छ । वित्तीय तथा बिमा सेवा, आवास तथा भोजन सेवा र सूचना तथा सञ्चार क्षेत्रले पनि तुलनात्मक रूपमा राम्रो वृद्धि हासिल गरेका छन् । तर अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर भने सीमित देखिएको छ ।

विद्युत् क्षेत्रको वृद्धिदर २४.३६ प्रतिशत

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलन आपूर्तिसम्बन्धी गतिविधिको कुल मूल्य अभिवृद्धि २४.३६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो क्षेत्र १२.६ प्रतिशतले विस्तार भएको थियो ।

यसले विद्युत् क्षेत्रको वृद्धि अघिल्लो वर्षको तुलनामा थप तीव्र भएको देखाउँछ । कार्यालयले समग्र आर्थिक वृद्धिमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणमा भएको वृद्धिलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

विद्युत् क्षेत्रपछि वित्तीय तथा बिमा गतिविधिमा ९.०७ प्रतिशतको वृद्धि अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा यस क्षेत्रको वृद्धिदर १८.३ प्रतिशत थियो । यसअनुसार वित्तीय तथा बिमा क्षेत्र विस्तार भए पनि अघिल्लो वर्षको तुलनामा यसको वृद्धिदर घटेको छ ।

आवास तथा भोजन सेवा क्षेत्रमा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ७.६६ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी क्षेत्रको वृद्धिदर क्रमशः ३.६ प्रतिशत र ६ प्रतिशत थियो । यसले पर्यटनसँग सम्बन्धित आवास तथा भोजन सेवामा सुधार देखिएको संकेत गर्छ भने सूचना तथा सञ्चार क्षेत्रको विस्तार पनि थप तीव्र भएको देखाउँछ ।

यातायात तथा भण्डारण क्षेत्रमा ६.८१ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.९७ प्रतिशत वृद्धि हुने अनुमान छ । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रमा ५.५५ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत र अन्य सेवामा ३.८२ प्रतिशत वृद्धि हुने कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कृषि क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत मात्रै

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि चौथो त्रैमासिकमा १.३५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो क्षेत्र २.५ प्रतिशतले विस्तार भएको थियो ।

 

कृषि तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ । तर कृषि क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेकाले समग्र अर्थतन्त्रको विस्तारमा यसको योगदान अपेक्षाकृत कमजोर देखिएको छ ।

अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्र भने ५.९७ प्रतिशतले विस्तार हुने अनुमान छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रको विस्तारमा सहयोग पुर्‍याएको कार्यालयको विश्लेषण छ ।

निर्माण क्षेत्रमा २.३८ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.३४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । औद्योगिक उत्पादनतर्फ भने १.४४ प्रतिशतको वृद्धि मात्रै देखिएको छ । खानेपानी आपूर्ति, ढल व्यवस्थापन तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमा १.४३ प्रतिशत र शिक्षामा १.३२ प्रतिशत वृद्धि हुने अनुमान छ ।

यसैगरी घरजग्गा कारोबारसम्बन्धी गतिविधिमा २.६८ प्रतिशत, व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक सेवामा ३.१९ प्रतिशत र यातायात तथा भण्डारणमा ६.८१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सार्वजनिक प्रशासन तथा रक्षासम्बन्धी गतिविधि भने ०.१२ प्रतिशतले घट्ने प्रारम्भिक अनुमान छ । कार्यालयले सरकारी खर्चमा आएको कमीलाई यस त्रैमासिकको वृद्धिदर सामान्य रहनुको एउटा कारणका रूपमा औँल्याएको छ ।

 




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।