इन्टिग्रेटेड इन्जिनियरिङ एन्ड इन्डस्ट्रियल इन्टरप्राइजेजले प्रवद्र्धन गर्न लागेको आयोजनामा एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।
आयोजनाको कुल लागत १ अर्ब ९५ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएको छ । कुल लागतको ७० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बैंक ऋणमार्फत जुटाइनेछ । बाँकी ३० प्रतिशत अर्थात् ५८ करोड ७६ लाख रुपैयाँ प्रवद्र्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ ।
प्रवद्र्धक कम्पनीका अनुसार आयोजनाका लागि २०८२ पुसमै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । त्यस्तै, विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गर्न २०८३ भदौमा विद्युत् विकास विभागमा आवेदन पेस गरिएको छ ।
ऋण लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनतर्फको महत्त्वपूर्ण काम पूरा भएको कम्पनीले जनाएको छ । अब आवश्यक प्रक्रिया पूरा गरी आयोजनाको निर्माण अघि बढाउने तयारी छ ।
आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब ५ करोड ९९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् करिब १.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिनेछ । त्यसपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ ।
आयोजनाको निर्माण सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ३० मेगावाट सौर्य विद्युत् थपिनेछ ।