नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनलाई आगामी कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने तयारी गरिएको छ । त्यसका लागि पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा प्रसारण लाइनलाई भित्र छिराउने र बाहिर निकाल्ने (लुप इन–लुप आउट) कार्य गरिनेछ ।
उक्त कार्यका लागि शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म दुहवी–दमक १३२ केभी प्रसारण लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ । यसबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा उक्त समयमा विद्युत् आपूर्ति प्रभावित हुने बताइएको छ ।
१४८.५ एमभिए क्षमताको सबस्टेसन
केरौन सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभिए क्षमताका दुईवटा र ३३/११ केभीको २२.५ एमभिए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन सञ्चालनमा आएपछि मोरङ जिल्लाको विद्युत् आपूर्ति सुरक्षित र भरपर्दो हुनुका साथै प्राविधिक चुहावट घट्ने बताएका छन् ।

हाल उक्त क्षेत्रमा करिब ५० किलोमिटर लामो दुहवी–रानी–रङ्गेली ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । लामो लाइनका कारण प्राविधिक चुहावट बढी हुने र उपभोक्ताले पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या भोग्दै आएका थिए ।
केरौन सबस्टेसन सञ्चालनमा आएपछि ३३ केभी लाइनको लम्बाइ घट्ने, भोल्टेजमा सुधार आउने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने प्राधिकरणको अपेक्षा छ ।
११ केभीका पाँच फिडर, दुईवटा ३३ केभी डबल सर्किट लाइन
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन् । त्यस्तै, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ ।
केरौन सबस्टेसन आयोजना प्रमुख दर्शन राय यादवका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि यी प्रसारण लाइनसमेत चार्ज गरिनेछन् । यसले स्थानीय क्षेत्रमा विद्युत् वितरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एक अर्ब रुपैयाँ लागतमा निर्माण
केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।
सबस्टेसन सञ्चालनमा आएपछि मोरङ तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न, विद्युत् वितरण प्रणालीको क्षमता सुधार गर्न र उपभोक्ताले भोग्दै आएको ट्रिपिङ तथा भोल्टेजसम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।