नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने: कुन सवारीलाई कति? (शुल्क विवरणसहित)

Oct 29, 2026 08:56 AM Merolagani



नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूसँग आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै शुल्क सङ्कलनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १५ गतेदेखि यो दस्तुर असुली सुरु गर्न लागिएको हो।

आयोजनाले काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट प्रस्थान गर्ने (बाहिरिने) सवारीसाधनहरूका लागि छुट्टाछुट्टै सडक उपभोग दस्तुरको दर तोकेको छ।

सूचनाअनुसार काठमाडौँ भित्रिने सवारीसाधनहरूले वर्गअनुसार ६५ रुपैयाँदेखि अधिकतम ६०० रुपैयाँसम्म र काठमाडौँबाट बाहिरिने सवारीसाधनहरूले ६० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म टोल शुल्क बुझाउनुपर्नेछ। आयोजनाले सुरुङमार्ग प्रयोगकर्ता सम्पूर्ण सवारीधनी तथा चालकहरूलाई तोकिएको शुल्क बुझाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।