दशैँ यात्रामा कडा निगरानी : ११ सयभन्दा बढी चालक कारबाहीमा, प्रविधिको प्रयोगले दुर्घटनामा उल्लेख्य कमी

Oct 26, 2026 12:05 PM Merolagani



बडादशैँ मनाएर राजधानी फर्किनेहरूको ओइरोसँगै काठमाडौँ उपत्यकाका सडकहरू फेरि व्यस्त बन्न थालेका छन्।

दशैँको अवधिमा उपत्यका भित्रिने र बाहिरिने गरी करिब साढे ११ लाख नागरिक आवतजावत गर्दा पनि ट्राफिक प्रहरीको कडा निगरानी र प्रविधिको उच्चतम प्रयोगका कारण यसपटक सडक दुर्घटनामा उल्लेखनीय कमी आएको छ। चाडपर्व लक्षित विशेष सुरक्षा रणनीति अन्तर्गत उपत्यकाका मुख्य नाका र संवेदनशील सडक खण्डहरूमा चलाइएको आकस्मिक जाँच तथा अनुगमनले यात्रालाई विगतभन्दा सुरक्षित बनाएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ देखि कात्तिक ८ गते बिहान ६ बजेसम्मको अवधिमा ७ लाख २१ हजार ९३१ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने सोही अवधिमा ४ लाख ३० हजार ८३८ जना भित्रिसकेका छन्। बाहिरिनेमा ४ लाख २० हजार ५४९ पुरुष र २ लाख ७३ हजार ६७० महिला छन्। यस्तै, फर्किनेहरूमा २ लाख ६२ हजार ८१८ पुरुष र १ लाख ६८ हजार २० महिला रहेका छन्। यस दौरान १ लाख ४ हजार ३३२ सवारीसाधन बाहिरिँदा ८४ हजार ४५७ सवारीसाधन उपत्यका प्रवेश गरेका छन्।

चाडपर्वको यस विशाल आवागमनलाई व्यवस्थित र दुर्घटनामुक्त बनाउन ट्राफिक प्रहरीले उपत्यकाका १४ रणनीतिक स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको थियो। जसअन्तर्गत बसपार्कहरूको चुस्त व्यवस्थापन, टिकटको प्रि-बुकिङ प्रणाली कार्यान्वयन र भाडादरमा हुने ठगी नियन्त्रण गर्न नियमित अनुगमन गरिएको थियो।

विशेषगरी यात्रुको ज्यान जोखिममा पार्ने लापरबाहीविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको थियो। जाँचका क्रममा ६४ जना सार्वजनिक सवारीका चालकसहित कुल १ हजार १०१ जनालाई मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको भेटिएपछि कारबाही गरिएको छ। त्यस्तै, अत्यन्तै घातक मानिएको लागूऔषध सेवन (लापसे) गरेर सार्वजनिक सवारी चलाउने ४० जना चालकलाई समेत प्रयोगशाला परीक्षणबाट पुष्टि गरी नियन्त्रणमा लिइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार प्रविधिको भरपुर उपयोग, चौबीसै घण्टा निगरानी र सडक प्रयोगकर्ताहरूमा बढेको चेतनाका कारण यस वर्ष चाडपर्वमा ठूला अप्रिय सडक दुर्घटना हुन पाएनन्। दशैँको टीका सकिएपछि उपत्यका फर्किनेको संख्या अझै बढिरहेकाले नाकाहरूमा सुरक्षा जाँच र सहजीकरणलाई आगामी केही दिनसम्म निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।

 




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।