ग्लोबल आइएमई बैंकको खुद नाफा २४.५ प्रतिशत बढ्यो

Nov 01, 2026 01:51 PM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो, जसको तुलनामा यस वर्ष बैंकको नाफामा २४.४९ प्रतिशतको वृद्धि भएको छ।

व्यावसायिक दायरा विस्तारसँगै कोर बैंकिङ आम्दानीमा आएको सुधार र प्रभावकारी लागत व्यवस्थापनले बैंकलाई यो उच्च वित्तीय सफलता दिलाउन मुख्य योगदान पुर्‍याएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १३ कराेड रुपैयाँबाट बढेर ४ अर्ब १९ कराेड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५ अर्ब ५१ कराेड रुपैयाँबाट वृद्धि भई ६ अर्ब रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३७ कराेड रुपैयाँबाट बढेर ३ अर्ब २२ कराेड रुपैयाँ पुगेको छ।

बैंकको सञ्चित वितरणयोग्य नाफा २ अर्ब ७ कराेड रुपैयाँ रहेकाे छ, जसले लगानीकर्ताका लागि मजबुत प्रतिफल क्षमता सुरक्षित गरेको देखाउँछ। यस्तै, बैंकको चुक्ता पूँजी ३९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६ खर्ब ९० अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह ४ खर्ब ७१ अर्ब रुपैयाँ कायम भई बैंकको व्यवसायको आकार थप सुदृढ बनेको छ।

कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा प्रतिशेयर आम्दानी बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा कायम भएको छ। बैंकले आफ्नो निष्कृय कर्जालाई ४.७९ प्रतिशतमा नियन्त्रणमा राख्दै १२०.१७ प्रतिशतको उच्च लोन लस प्रोभिजन कभरेज कायम गरेको छ, जसले बैंकको सम्पत्तिको सुरक्षा र जोखिम बहन क्षमता उच्च रहेको पुष्टि गर्छ।