कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्चमा भएको वृद्धिका कारण यस वर्ष झिलिमिली बत्तीलगायत विद्युतीय सामग्री महँगिने भएका हुन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोजसम्म) ६४ करोड ५२ लाख रुपैयाँ बराबरका २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए ।
तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष झिलिमिली बत्ती आयातको मूल्य करिब ८ प्रतिशतले बढेको छ भने परिमाण करिब २७ प्रतिशतले घटेको छ । अर्थात् कम परिमाणमा बत्ती आयात हुँदा पनि त्यसका लागि बढी रकम खर्च गर्नुपरेको देखिन्छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष सुदर्शनप्रसाद पौडेलले स्रोत बजारमै कच्चा पदार्थको मूल्य बढेकाले नेपाली बजारमा विद्युतीय सामग्री महँगिएको बताए । उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन् । चीनबाटै सामग्रीको मूल्य बढेर आएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनको भनाइ छ ।
विशेषगरी झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र बाहिरी आवरणमा प्रयोग गरिने प्लास्टिकको मूल्य बढेको पौडेलले बताए । उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको लागत बढ्दा तयारी सामग्रीको मूल्यसमेत वृद्धि भएको उनले जानकारी दिए । उनका अनुसार विद्युतीय सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा १५ देखि २० प्रतिशतसम्म बढेको छ ।
कच्चा पदार्थको मूल्यवृद्धिसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत थपिएको छ । डलरको मूल्य बढेकाले विदेशी बजारबाट सामग्री खरिद गर्दा व्यवसायीले अघिल्लो वर्षभन्दा बढी रकम तिर्नुपरेको पौडेलको भनाइ छ । स्रोत बजारमै प्रतियुनिट मूल्य बढ्नु र डलरको विनिमय दरसमेत अनुकूल नहुनुले नेपाली बजारमा मूल्यवृद्धिको दबाव सिर्जना गरेको उनले बताए ।
ढुवानी खर्चमा भएको अस्वाभाविक वृद्धिले पनि विद्युतीय सामग्रीको मूल्य बढाउन भूमिका खेलेको छ । पौडेलका अनुसार अघिल्लो वर्ष चीनबाट एउटा कन्टेनर ल्याउँदा २ हजारदेखि २ हजार २०० अमेरिकी डलरसम्म ढुवानी खर्च लाग्थ्यो । अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर पाउन सहज छैन । यसरी ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा आयातित सामग्रीको लागत पनि उल्लेख्य रूपमा बढेको छ ।
त्यस्तै, चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान आयात गर्न नसक्दा व्यवसायी थप समस्यामा परेका छन् । केरुङ नाका प्रयोग गर्दा तुलनात्मक रूपमा कम ढुवानी खर्च लाग्ने भए पनि अहिले वीरगन्जलगायत अन्य नाका हुँदै घुमाएर सामान ल्याउनुपर्ने अवस्था रहेको पौडेलले बताए । यसले आयातको समय र लागत दुवै बढाएको उनको भनाइ छ ।
पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति सहज छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यवसायीसँग पर्याप्त मौज्दातसमेत छैन । लागत बढेर मूल्य महँगिए पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न सकेको छैन ।
कच्चा पदार्थ र डलरको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको वृद्धि तथा आपूर्ति व्यवस्थामा देखिएको समस्याले यस वर्षको तिहारमा झिलिमिली बत्ती उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने देखिएको छ । मागअनुसार पर्याप्त आपूर्ति हुन नसके मूल्य र उपलब्धता दुवैमा थप दबाब पर्न सक्ने व्यवसायीको भनाइ छ ।