व्यापारसँगै उच्च बढ्याे हिमालयन डिस्टिलरीकाे नाफा

Nov 16, 2026 12:48 PM Merolagani



हिमालयन डिस्टिलरी लिमिटेड (HDL) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो व्यापार र खुद नाफामा उच्च वृद्धि भएकाे देखाएको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा १३८.१८ प्रतिशतको उच्च वृद्धि भएको छ।

बिक्री आम्दानीमा भएको तीव्र वृद्धि र प्रभावकारी बजार व्यवस्थापनले कम्पनीको नाफालाई यो उचाइमा पुर्‍याउन प्रमुख भूमिका खेलेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेर १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ रहेको थियो। यसैगरी, आन्तरिक उत्पादन तथा बजार विस्तारका कारण खुद बिक्री आम्दानी बढेर ९१ करोड २८ लाख रुपैयाँ कायम भएको छ। बिक्रीमा भएको यस वृद्धिसँगै कम्पनीको कुल मुनाफा ६० करोड ४३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा गत वर्षको १२ करोड ५७ लाख रुपैयाँबाट झन्डै १७० प्रतिशतले बढेर ३३ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २३ रुपैयाँ ३२ पैसा पुगेको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा र तरलता अनुपात ६.३६ को अति मजबुत विन्दुमा रहेको छ।

कम्पनीले 'किङ्ग्सर', 'ब्लू ओरिजिन' लगायतका प्रिमियम ब्रान्डहरूको उत्पादन र बजार बिस्तारलाई आक्रामक रूपमा अगाडि बढाएको छ। बजारमा देखिएका प्रतिस्पर्धात्मक चुनौती तथा उपभोक्ता रुचीमा आएका परिवर्तनहरूका बाबजुद कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर, सहज वितरण र प्रभावकारी बजेट व्यवस्थापनमार्फत उपभोक्ताको मन जित्न सफल भएको छ।