पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्स फाइनल पुग्नका लागि यो दोस्रो अवसरको सदुपयोग गर्न चाहन्छ। लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम आफ्नो तेस्रो लगातार फाइनल यात्रा तय गर्दै यस पटक ट्रफी उचाल्ने दाउमा छ। उता, इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनको भारी अन्तरले पराजित गर्दै पहिलो पटक क्वालिफायरमा पुगेको चितवन राइनोज आज सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक एनपीएल फाइनलमा पुग्ने ऐतिहासिक सफलता हासिल गर्न चाहन्छ।
चितवन उच्च मनोबलका साथ मैदान उत्रनेछ जसमा कमिल मिहारा र अनुभवी कप्तान रवि बोपारा उत्कृष्ट ब्याटिङ फर्ममा छन्। त्यस्तै, बलिङतर्फ प्रतियोगिताका सर्वाधिक विकेटेक्टर रिजन ढकाल र उसामा मिर चितवनका मुख्य हतियार हुन्। यता, सुदूरपश्चिम कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र बलर अनिल खरेलको धारिलो बलिङमा निर्भर रहनेछ। लिग चरणको भेटमा सुदूरपश्चिमले चितवनलाई हराए पनि इलिमिनेटरको उच्च लयलाई निरन्तरता दिँदै शारीरिक थकानलाई चिर्दै फाइनलको टिकट काट्न चितवनलाई कडा संघर्ष गर्नुपर्नेछ।