कम्पनीहरूले सर्वसाधारणलाई शेयर बिक्री गर्ने क्रममा आफ्नो व्यावसायिक योजना, भविष्यको आम्दानी, प्रतिशेयर आम्दानी (ईपीएस), नेटवर्थ र सञ्चित नाफा सम्बन्धी प्रक्षेपण प्रस्तुत गर्ने गर्दछन्। तिनै प्रक्षेपण र व्यावसायिक रणनीतिलाई आधार मानेर लगानीकर्ताले शेयर खरिद गरेका हुन्छन्। तर, आईपीओ निष्काशन गरी सर्वसाधारणबाट पूँजी जुटाएपछि कम्पनीहरूको अवस्थामा अपेक्षित प्रगति भएको पाइँदैन।
प्राथमिक बजार हुँदै दोस्रो बजारमा आउने अधिकांश कम्पनीहरूले आईपीओ जारी गर्नुअघि गरेको प्रतिबद्धता र वास्तविक प्रगति विवरणमा ठूलो भिन्नता देखिने गरेको छ। मेरो लगानीले विशेषगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका १० वटा कम्पनीहरूको वित्तीय विवरण केलाउँदा लगानीकर्ताले अपेक्षा गरेको प्रतिफल र कम्पनीको वास्तविक उपलब्धिबीच ठूलो अन्तर रहेको स्पष्ट हुन्छ।
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरूमध्ये वि.सं. २०८० असोजमा सर्वसाधारणलाई शेयर जारी गरेको सोनापुर मिनरल्स एन्ड आयलले आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा हुने प्रक्षेपण गरेकोमा वास्तविकतामा १५ रुपैयाँ २६ पैसाले ऋणात्मक रह्यो। त्यस्तै पछिल्ला वर्षहरुमा पनि भएका छन्। अघिल्लो आर्थिक वर्षमा २२ रुपैयाँ ३१ पैसा पुग्ने अनुमान गरिएको ईपीएस जम्मा २० पैसामा सीमित भयो भने गत आर्थिक वर्षमा २३ रुपैयाँ ५५ पैसा पुग्ने प्रक्षेपण गरिएकोमा १० रुपैयाँ ९६ पैसा मात्र कायम भयो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा छ, यद्यपि नेटवर्थ भने आर्थिक वर्ष २०८२/८३ मा प्रक्षेपित भन्दा बढेर २०० रुपैयाँ ८१ पैसा पुगेको छ।
त्यसैगरी, बुक बिल्डिङमार्फत शेयर जारी गरेको सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०८०/८१ मा १७ रुपैयाँ ८२ पैसा ईपीएस हुने प्रक्षेपण गरेकोमा जम्मा ३ रुपैयाँ ७५ पैसा मात्र हासिल गर्यो। तर, त्यसपछिको आर्थिक वर्षमा भने कम्पनी प्रक्षेपणको नजिक पुगेको देखिन्छ, जहाँ २२ रुपैयाँ ११ पैसा प्रक्षेपण गरिएकोमा २० रुपैयाँ र गत आर्थिक वर्षमा २५ रुपैयाँ ४९ पैसा अनुमान गरिएकोमा २१ रुपैयाँ २० पैसा ईपीएस कायम भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको ईपीएस ७ रुपैयाँ ९६ पैसा रहेको छ।

वि.सं. २०८१ फागुनमा सर्वसाधारणलाई शेयर जारी गरेको ओम मेगाश्री फर्मास्युटिकल्सले पनि आईपीओअघि प्रस्तुत गरेका बाचा पूरा गर्न सकेको छैन। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५ रुपैयाँ ७३ पैसा र गत आर्थिक वर्षमा ९ रुपैयाँ ७९ पैसा ईपीएस पुग्ने अनुमान गरेकोमा क्रमशः १ रुपैयाँ ४९ पैसा र ६ रुपैयाँ २९ पैसाले ऋणात्मक रह्यो। कम्पनीले चालु आर्थिक वर्षमा १४ रुपैयाँ १० पैसा ईपीएस पुग्ने अनुमान गरेको थियो। यद्यपि, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत कम्पनीको ईपीएस ८ रुपैयाँ २२ पैसा ऋणात्मक छ भने नेटवर्थसमेत प्रक्षेपित ११३ रुपैयाँ ३७ पैसाबाट घटेर ९५ रुपैयाँ ९८ पैसामा झरेको छ।

सागर डिस्टिलरीको अवस्था पनि प्रक्षेपण अनुसार अघि बढ्न सकेको छैन। प्रक्षेपण अनुसार अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा ५९ पैसा ईपीएस कायम गरे पनि गत आर्थिक वर्षमा २ रुपैयाँ ७० पैसा प्रतिशेयर आम्दानीको प्रक्षेपण विपरीत ७ रुपैयाँ ८९ पैसा ऋणात्मक हुन पुग्यो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ईपीएस ६८ पैसा ऋणात्मक छ भने नेटवर्थ ११९ रुपैयाँ १५ पैसा रहेको छ। यस्तै, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले गत आर्थिक वर्षमा ३ रुपैयाँ ५० पैसा ईपीएस हुने अनुमान गरेकोमा १ रुपैयाँ ५६ पैसा मात्र कायम गर्यो। चालु आर्थिक वर्षमा ९ रुपैयाँ ६३ पैसा पुर्याउने लक्ष्य राखेको कम्पनीले पहिलो त्रैमासमा ७६ पैसा मात्र कमाएको छ भने ११४ रुपैयाँ ८३ पैसा अनुमान गरिएको नेटवर्थ १०७ रुपैयाँ ५५ पैसामा सीमित छ।

एसवाई प्यानल नेपालले गत आर्थिक वर्षमा ९ रुपैयाँ २१ पैसा ईपीएस प्रक्षेपण गरेपनि ६ रुपैयाँ २८ पैसा कायम गरेकाे छ। चालु आर्थिक वर्षको प्रक्षेपित १० रुपैयाँ ४३ पैसाको तुलनामा पहिलो त्रैमासमा ६ रुपैयाँ ४६ पैसा मात्र हासिल गरेको छ। कम्पनीको नेटवर्थसमेत प्रक्षेपित १२७ रुपैयाँ ८० पैसाको तुलनामा ११३ रुपैयाँ २८ पैसा मात्र छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको अवस्था झनै कमजोर देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ८ रुपैयाँ ८० पैसा ईपीएस प्रक्षेपण गरेको कम्पनीले जम्मा १ रुपैयाँ ६ पैसा मात्र हासिल गर्यो भने चालु आर्थिक वर्षमा ८ रुपैयाँ १४ पैसा लक्ष्य राखेकोमा पहिलो त्रैमासमै १४ रुपैयाँ ६८ पैसा ऋणात्मक देखिएको छ। यद्यपि, कम्पनीको नेटवर्थ १२५ रुपैयाँ ४८ पैसा रहेको छ। आम्दानीमा आएको गिरावटले कम्पनीको प्रक्षेपित व्यावसायिक प्रगतिलाई चुनौती दिएको छ।
सोपान फर्मास्युटिकल्सको अवस्था पनि प्रक्षेपण भन्दा कमजोर देखिएको छ। कम्पनीले गत आर्थिक वर्षमा ९ रुपैयाँ ७१ पैसा र चालु आर्थिक वर्षमा ११ रुपैयाँ ८० पैसा ईपीएस हुने अनुमान गरेकोमा गत आर्थिक वर्ष २ रुपैयाँ २३ पैसामा सीमित भएको छ भने नेटवर्थ पनि प्रक्षेपित १०२ रुपैयाँ ६१ पैसाबाट घटेर ९६ रुपैयाँ ३४ पैसामा झरेको छ। चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण भने हालसम्म पनि प्रकाशन भएको छैन। यता, एभरेष्ट कलर लिमिटेडको आम्दानी भने अन्य कम्पनीको तुलनामा सकारात्मक देखिएको छ। गत आर्थिक वर्षमा ५ रुपैयाँ ८२ पैसा ईपीएस प्रक्षेपण गरेको कम्पनीले ७ रुपैयाँ ३८ पैसा हासिल गर्यो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ईपीएस १४ रुपैयाँ ४६ पैसा पुर्याएको छ जबकी प्रक्षेपित ८ रुपैयाँ ५१ पैसा थियाे। तर, नेटवर्थ भने प्रक्षेपित १२३ रुपैयाँ ६२ पैसाको तुलनामा १२० रुपैयाँ १० पैसामा सीमित छ। यसले आम्दानीको सूचकमा सुधार देखिए पनि नेटवर्थमा भने प्रक्षेपित उपलब्धि भने हासिल हुन नसकेको देखिएको हो।
गत जेठमा शेयर बिक्री गरेको सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले पनि गत आर्थिक वर्षमा १० रुपैयाँ ३१ पैसा ईपीएस कायम गर्ने प्रक्षेपण गरेकोमा ६ रुपैयाँ ६० पैसा मात्र कायम गर्न सफल भएकाे छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म भने प्रक्षेपित १२ रुपैयाँ ८८ पैसाको नजिक अर्थात् १२ रुपैयाँ ६१ पैसा हासिल गरे पनि नेटवर्थमा अपेक्षित सुधार गर्न सकेको छैन।

कम्पनी र नियामकको जवाफदेहिता
सर्वसाधारणले कम्पनीको व्यावसायिक योजना र सम्भावित प्रतिफललाई आधार मानेर लगानीकर्ताले शेयर खरिद गरेका हुन्छन्। आईपीओ निष्काशनअघि कम्पनीहरूले प्रस्तुत गर्ने वित्तीय प्रक्षेपणको विश्वसनीयता र नियामकीय निगरानी हुनु पर्ने जानकारहरुको जोड छ।
आईपीओ निष्काशनअघि कम्पनीहरूले सार्वजनिक गर्ने आह्वानपत्रमा चार्टर्ड एकाउन्टेन्टहरूले कम्पनीको भावी व्यावसायिक लक्ष्यलाई आधार मानेर वित्तीय प्रक्षेपण तयार पार्ने लेखापरीक्षक उमेशराज पाण्डे बताउँछन्। उनका अनुसार बजारको माग, उत्पादन क्षमता, लागत र व्यवस्थापकीय पक्षले प्रभाव पार्ने भएकाले प्रक्षेपण नमिल्दैमा गलत विवरण प्रस्तुत गरेको भन्न मिल्दैन, तर लक्ष्यअनुसार व्यवसाय किन विस्तार भएन भन्नेबारे नियामकले निगरानी गर्नुपर्छ।
शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले आईपीओबाट संकलित रकमको सही उपयोग र व्यावसायिक विस्तार हुन नसकेको बताउँदै शेयर बिक्रीपछि पनि वास्तविक प्रगतिबारे लगानीकर्तालाई जानकारी गराउनु कम्पनीको दायित्व भएको धारणा राखे।
यसैगरी, शेयर लगानीकर्ता केशव कोइरालाले नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रभावकारी निगरानी नहुँदा मनलाग्दी प्रक्षेपण देखाएर सर्वसाधारणबाट पूँजी जुटाउने विकृति बढेको आरोप लगाएका छन्। 'प्रक्षेपण गरिएका सबै कुरा पुरा नहुन सक्छ। तर नियामकले प्रक्षेपण र वास्तविक उपलब्धिबीच ठूलो अन्तर देखिएपछि के कारण भन्ने विषयमा सम्बन्धित जिम्मेवार कम्पनीलाई जवाफदेही बनाउनु पर्ने हुन्छ,' कोईरालाले मेरोलगानीसँग भने।
सर्वसाधारणलाई शेयर बिक्री गर्ने कम्पनीहरूलाई जवाफदेही बनाउने कानुनी व्यवस्था स्पष्ट छ। कम्पनी ऐन, २०६३ को दफा २४ ले विवरणपत्रमा बदनियतसाथ वा जानीजानी गलत विवरण राखेर लगानीकर्तालाई आर्थिक क्षति पुगेमा हस्ताक्षर गर्ने सञ्चालकले व्यक्तिगत रूपमै वास्तविक क्षतिको क्षतिपूर्ति व्यहोर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ ले पनि धितोपत्र निष्काशन गर्ने संगठित संस्थालाई आफ्नो आर्थिक स्थितिको मूल्यांकन गर्न आवश्यक जानकारी तथा धितोपत्रको कारोबार वा मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र बोर्ड र शेयरधनीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डलाई कम्पनीहरूले पेस गरेका आर्थिक विवरण पुनरावलोकन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकारसमेत दिएको छ। यसले कम्पनी आईपीओ निष्काशन गरी बजारमा सूचीकृत भएपछि पनि लगानीकर्ताप्रतिको जवाफदेहिता कायम रहने कुरालाई स्पष्ट पारेको छ।
धितोपत्र निष्काशन तथा बाँडफँड निर्देशिका, २०७४ को १० औ संशोधनको दफा ४५ ले पनि विवरणपत्र भन्दा फरक भएमा जानकारी दिनु पर्ने व्यवस्था गरेको छ। कम्पनीले विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु, विवरण पुस्तिका वा अन्य विवरणमा प्रक्षेपण गरिएका विवरणहरुमा १५ प्रतिशत वा सो भन्दा बढी फरक पर्न भएमा सो को कारण सहित खुलाई संगठित संस्थाले बोर्डलाई जानकारी दिनुपर्ने उल्लेख छ। साथै, सो निर्देशिकामा विवरण तथा प्रक्षेपणकर्ताको जानकारी सहित संगठित संस्थाको आगामी वार्षिक प्रतिवेदनमा समेत प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ ।
विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा र नियामक निकाय नेपाल धितोपत्र बोर्ड मौन बस्दा मनलाग्दी प्रक्षेपण गर्ने प्रवृत्ति मौलाएको लगानीकर्ताहरूको गुनासो छ। कम्पनीहरूले आईपीओ निष्काशनअघि प्रस्तुत गरेका वाचा र त्यसपछिको वास्तविक वित्तीय उपलब्धिको तुलना गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको लगानीकर्ता कोइरालाको जोड छ। यता बजारको नियामक निकाय बोर्डले सम्बन्धित कम्पनीसँग सो विषयमा प्रभावकारी नियमन गर्न नसकेको गुनासो बढ्दै गर्दा कानूनमा भएको व्यवस्था अनुसार कम्पनीहरुलाई लगानीकर्ता प्रति जवाफदेही बानाउने काम भईरहेको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
व्यवसाय विस्तार गर्न सर्वसाधारणबाट पूँजी संकलन गरेपछि झनै अवस्था खस्कँदो देखिनु चिन्ताजनक विषय हो। तसर्थ, आम लगानीकर्ताको लगानी सुरक्षित गर्न आईपीओ जारी हुनुपूर्व प्रक्षेपण सार्वजनिक गर्न लगाउने मात्र नभई शेयर बिक्रीपछिको उपलब्धि अनुगमन गर्ने र प्रक्षेपण फेल खाने कम्पनीलाई जवाफदेही बनाउने नियामकीय प्रणाली तत्काल प्रभावकारी बनाउनु पर्नेमा जानकारहरूले जोड दिएका छन्।