नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.०७ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको असोजमा यस्तो ब्याजदर ३.८५ प्रतिशत थियो। एक वर्षमा निक्षेपको ब्याजदर ०.७८ प्रतिशत विन्दुले घटेको हो।
त्यस्तै, वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ। गत वर्षको असोजमा यस्तो ब्याजदर ७.५० प्रतिशत थियो। यसरी एक वर्षमा कर्जाको औसत ब्याजदर १.१९ प्रतिशत विन्दुले घटेको छ। ब्याजदर घट्दा बैंकबाट ऋण लिने ग्राहकलाई राहत पुगेको छ। तर, निक्षेपकर्ताले पाउने प्रतिफल भने ठूलो प्रभाव पारेको छ।
ब्याजदर घट्ने क्रमसँगै वाणिज्य बैंकहरूको आधारदर पनि तुलनात्मक रूपमा न्यून विन्दुमा देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकको आधारदर औसत ४.७५ प्रतिशत रहेको छ। यीमध्ये माछापुच्छ्रे बैंकको आधारदर सबैभन्दा बढी ५.८१ प्रतिशत छ। एनआईसी एसिया बैंकको ५.५५ प्रतिशत र नेपाल एसबीआई बैंकको ५.०८ प्रतिशत आधारदर रहेको छ।

यसको विपरीत स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम ३.९४ प्रतिशत छ। राष्ट्रिय वाणिज्य बैंकको ३.९६ प्रतिशत र एभरेष्ट बैंकको ४.२५ प्रतिशत आधारदर छ। सबैभन्दा बढी र कम आधारदर भएका बैंकबीच १.८७ प्रतिशत विन्दुको अन्तर देखिएको छ।
आधारदर कम भएका बैंकबाट कर्जा लिने ग्राहकले तुलनात्मक रूपमा कम ब्याजदरमा ऋण पाउने सम्भावना रहन्छ। तर, वास्तविक कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा बैंकले तोकेको प्रिमियम पनि जोडिन्छ। त्यसैले आधारदर कम हुँदैमा सबै प्रकारका कर्जाको ब्याजदर समान रूपमा कम हुन्छ भन्ने हुँदैन।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २.८ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेको छ। यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले बढेको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ। यसले बैंकमा निक्षेप बढेपनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको देखिएको हो । बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त हुनुको अर्को कारण पनि यही हो। विकास बैंक र वित्त कम्पनीको ब्याजदर पनि घटेको छ। विकास बैंकहरूको निक्षेपको औसत ब्याजदर गत वर्षको असोजमा ४.४५ प्रतिशत रहेकोमा अहिले ३.४४ प्रतिशतमा झरेको छ। कर्जाको ब्याजदर ८.७७ प्रतिशतबाट घटेर ७.५९ प्रतिशत कायम भएको छ।
त्यस्तै, वित्त कम्पनीहरूको निक्षेपको औसत ब्याजदर ५.६२ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा आएको छ। कर्जाको ब्याजदर पनि १०.१८ प्रतिशतबाट घटेर ८.३७ प्रतिशत कायम भएको छ।
बैंकिङ प्रणालीमा तरलता सहज रहेको तथ्य अन्तरबैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदरले पनि देखाउँछ। बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक ब्याजदर गत वर्षको असोजमा २.५८ प्रतिशत रहेकोमा अहिले २.७५ प्रतिशत छ। त्यस्तै, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशतबाट घटेर १.०१ प्रतिशतमा झरेको छ।
ब्याजदर न्यून विन्दुमा पुग्दा पनि कर्जा विस्तारले अपेक्षित गति लिन सकेको छैन। कर्जाको माग कमजोर हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ। यही कारण नेपाल राष्ट्र बैंकले बजारबाट तरलता खिच्ने कामलाई निरन्तरता दिँदै आएको छ। समग्रमा ब्याजदर घट्नु ऋणीका लागि सकारात्मक भएपनि निक्षेपकर्ताका लागि भने प्रतिफल घट्ने अवस्था हो। बैंकहरूका लागि पनि पर्याप्त तरलता हुँदाहुँदै कर्जा विस्तार गर्न नसक्नु चुनौती बनेको छ।