कम्पनीले यसअघि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने बताएको थियो । यसलाई संसोधन गरेर साउन १६ गतेदेखि मात्र निष्काशन गर्ने कम्पनीले बताएको छ । स्थानीयको समस्यालाई मध्यनजर गर्दे निष्काशन मिति पछाडि सारिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रभावितको अार्इपिअाे निष्काशन पछि सरेपछि सर्वसाधारणको लागि निष्काशन हुने समय पनि झन् पछाडि धकेलिने भएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सूचना अधिकारी गणेश न्यौपानेले जिल्ला समन्वय समितिको बैठकको सिफारिसको आधारमा आईपिओ निष्काशनको मिति २४ दिन पछाडि सारिएको बताए ।
बर्षाको समय भएकाले ग्रामिण क्षेत्रमा आवतजावतको समस्या र खेतीपातिको अवस्थालाई मध्यनजर गर्दे पूर्व निर्धारित मितिमा संसोधन गरिएको उनले बताए ।
'हामीले जिल्ला समन्वय समितिको आग्रहमा धितोपत्र बोर्डबाट स्वीकृती पाएको दुई महिनाभित्र निष्काशन हुने गरि दुई महिना भन्दा एक साता अगाडिबाट स्थानीयका लागि साधारण सेयर जारी गर्ने मिति तय गरेका हाैं ।' न्यौपानेले भने ।
जिल्ला समन्वय समितिबाट काठमाडौंमा बसोबास गरिरहेका दोलखाबासीलाई काठमाडौंबाटै वितरण गर्ने व्यवस्था मिलाउन र हाल रहेको आवेदन स्थललाई विस्तार गरि प्रत्येक वडा कार्यालयमा बैंक मार्फत आईपिओ भर्ने व्यवस्था मिलाउन पनि सिफारिस साथ अनुरोध अाएको प्रबक्ता न्यौपानेले मेरोलगानीलाई बताए ।
यता सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले पनि बर्षातको समयलाई मध्यनजर गर्दे आईपिओ निष्काशन गर्नको मिति संसोधन भएको बतायो । कोषले हाल आवेदन संकलन गर्ने बैंकहरुमार्फत नै जिल्ला समन्वय समितिको सिफारिस अनुसार काठमाडौंमा बसोबास गर्नेहरुलाई काठमाडौंबाटै र दोलखाको वडाबाट पनि साधारण सेयरको आवेदन संकलन गर्ने व्यवस्था मिलाउन विषयमा छलफल अगाडि बढाइएको जनाएको छ ।
पहिलेकाे व्यवस्था भन्दा थप कहाँ कहाँबाट र कसरी आवेदन संकलन गर्ने भन्ने अन्तिम निर्णय भने छलफलपछिको निष्कर्षबाट मात्र टुङ्गो लाग्ने विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
यसअघि स्थानीयहरुका लागि अपर तामाकोशी आयोजना निर्माणस्थल,तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट साधारण सेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था रहेको थियो ।