शिवमको महँङ्गो शेयर किनेर किन पछुताउने ? स्थानीयबासी यसरी जान्छन् सोझै घाटामा

Jul 28, 2018 Merolagani



शिवम् सिमेन्ट्सले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म उद्योग प्रभावित मकवानपुरबासीहरुका लागि प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले साधारण शेयर बिक्री गर्दैछ । कम्पनीले उच्च प्रिमियम राखेर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर बेचेर मकवानपुरबासीहरुलाई सिधै ठग्दैछ भन्ने ब्यापक गुनासो जनस्तरबाटै आउन थालेको छ ।

मकवानपुरबासीले आफ्नै जिल्लामा स्थापित उद्योगको शेयरधनी बन्न प्रतिकित्ता एक सय रुपैयाँमै शेयर पाउने ठूलो आशा राखेका थिए तर कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँमा शेयर बेच्ने त्यो पनि तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने भएपछि मकवानपुरबासीले आफू ठगिएको महसुस गरेका छन् । 

उद्योग प्रभावितहरुका लागि बिक्री गरिएको शेयर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाईने र त्यसलाई धितो राखेर कर्जा लिन पनि नपाईने धितोपत्र सम्बन्धी नियम छ ।

प्रतिकित्ता एक सय रुपैयाँमै आवेदन गरेर तीन बर्ष कुर्न परे पनि ठीकै हुन्थ्यो कि तत्कालै दोस्रो बजारमा बिक्री गर्न पाउने अवस्थामा ईच्छुकले तीन सय रुपैयाँमै पनि शेयर किन्न सक्थे । तर अब दुबै कुरा नभएपछि मकवानपुरवासीले आफू ठगिएको महसुस गर्नु एकदम जायज छ भन्ने देखिन्छ ।

उद्योगबाट सिर्जना हुने धुँवा धुलो र ध्वनी प्रदुषण खाएका मकवानपुरबासीलाई महँङ्गोमा शेयर किन्नुपर्ने अवस्थामा किन पारियो भन्ने जवाफ स्वीकृती दिने धितोपत्र बोर्डले पनि दिन सकेको छैन ।

यसरी हुन्छ घाटा

अहिले शिवम् सिमेन्टको प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ रहेको छ । यो शेयरलाई कम्पनीले ३०० रुपैयाँमा साउन १३ गतेदेखि स्थानीयका लागि निष्काशन खुला गर्दैछ । तर कम्पनीले आह्वान पत्रमा तीन बर्षमा कूल ४५ प्रतिशतसम्म नगद लाभांश दिने घोषणा गरेको छ ।

अहिले प्रिमियम मूल्यमा लगानी गरेको सेयरमूल्यको लागत हिसाब गर्दा ४०० रुपैयाँ पर्न जाने हुन्छ । जसले गर्दा शिवमको शेयर किन्ने स्थानीयबासीहरु सोझै घाटामा जाने देखिन्छ ।

कम्पनीले आईपीओ बिक्री गरेको बर्षमा १० प्रतिशत, दोस्रो बर्ष १५ प्रतिशत र तेस्रो बर्ष २० प्रतिशतका दरले नगद लाभांश दिनसक्ने सम्भावना ब्यक्त गरेको छ ।

यति नगद लाभांश खानका लागि नै किन स्थानीयले प्रिमियम मूल्यमा प्रतिकित्ता ३०० र सर्वसाधारणले ४०० रुपैयाँ मूल्य हालेर यस कम्पनीको शेयर किन्नु पर्यो ? भन्ने प्रश्न उठ्छ ।

सेयर बजारमा देखिएको गिरावटले अहिले २० प्रतिशत नगद लाभांश दिनसक्ने कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा २०० रुपैयाँ हाराहारीमा छानीछानी मज्जाले किन्न पाइने अवस्था रहेको छ । 

धितोपत्र बोर्डले भने जस्तै उत्पादनमूलक वर्गको कम्पनी हो भन्दैमा उचालिएर आईपीओ किन्ने हो भने भोलि अर्घाखाँची लगायतका अन्य सिमेन्ट कम्पनीहरुले ल्याउने शेयरहरुको बाढी आउँदाको अवस्था के होला भन्ने प्रश्न छँदैछ ।

ईक्रा नेपालले शिवमको सेयरलाई ग्रेड थ्री प्लस रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत मात्र जनाउँछ ।

उता शिवमले भने स्थानीयबासीलाई ३०० रुपैयाँका दरले दुई प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र देशभरिका सर्वसाधारणलाई १० प्रतिशत अर्थात ४४ लाख कित्ता शेयर शेयर बेचेर दुई अर्ब २ करोड रुपैयाँ जम्मा पार्नेछ ।

यस मध्ये स्थानीयमा आठ लाख ८० हजार कित्ता शेयर बेचेर उसले २६ करोड रुपैयाँ उठाउने छ । स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने भनिएको छ ।

स्थानीय बासिन्दालाई शेयर बाँडफाँड गरेको ३ दिनभित्र उद्योगले सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ ४४ लाख कित्ता आईपीओ निष्काशन गर्ने जनाईएको छ । सर्वसाधारणमा जारी गर्ने सबै सेयर विक्री भएको अवस्थामा कम्पनीले एक अर्ब ७६ करोड रुपैयाँ संकलन गर्ने देखिन्छ ।

स्थानीय र सर्वसाधारणबाट संकलित हुने रकम भनेको अहिलेको शिवमको चुक्ता पूँजी तीन अर्ब ८७ करोडको आधा भन्दा बढी हो । कम्पनीको चुक्ता पूँजीको आधा रकम कम्पनीलाई प्रिमियम वापत बुझाएका सर्वसाधारणको कम्पनीमा अस्तित्व भने निकै कमजोर हुनेछ ।

साधारण सेयर बिक्री पश्चात कम्पनीका सम्भवतः एकजना सञ्चालकको प्रतिनिधित्व पनि मुस्किल पर्नसक्छ । यस्तो अवस्थामा संस्थापकहरुले कम्पनीमा गर्ने मनोमानीको नियन्त्रण गर्ने अर्को संयन्त्र केही छैन ।

कता हराए नेप्सेमा सूचीकृत उत्पादनमुलक १४ कम्पनी ? सरकारले खाेजी गर्ला !

प्रत्यक्ष नियमनकारी निकाय नभएका यस्ता कम्पनीहरु जोखिम वर्गमा पहिलेदेखि रहँदै आएका छन् । उत्पादन मूलक धेरै कम्पनी सेयर बजारमा आएर पनि अहिले ती कम्पनीका अस्तित्व समाप्त भैसकेको अवस्था रहेको छ ।

फेरी अहिले कम्पनीको अवस्था राम्रै रहेपनि प्रतक्ष्य नियमनकारी निकाय नभएका कम्पनी भोलिका दिनमा डुबेमा त्यसमा गरिएको लगानी फिर्ताको ग्यारेन्टी कसैले गर्दैन । यस कारण कम्पनीले जारी गर्ने सेयर आम लगानीकर्ताका लागि भन्दा कम्पनीको लागि मात्र फाइदाजनक देखिन्छ ।

अाईपिओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ । शेयर बिकेन भने पनि प्रत्याभूति गर्ने एनआईबिएल एस क्यपिटलले सकार्ने भएकाले सर्वसाधारणलाई धेरै चिन्ताको बिषय हैन तर सर्वसाधारणलाई कति फाईदा हुन्छ र उनिहरुको लगानी सुर के हुन्छ भन्ने मुख्य कुरा हो ।

कम्पनीको संस्थागत सुशासन अहिले धेरै चर्चामा छैन तर एकै खाले मारवाडी समुदायका ब्यक्तिहरुको ९० प्रतिशत हिस्सेदारी हुँदा भोलि भारतको एशियन सिमेन्टको जस्तै घटना घटेर सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने खतरा उत्पन्न नहोला भन्न सकिन्न ।

कम्पनीले नवलपरासीमा चीनको होङ्सी सिमेन्टसँगको साझेदारीमा ठूलो कारखाना स्थापना गर्दा २० प्रतिशत हिस्सेदारी हालेको छ तर त्यहाँबाट आउने प्रतिफलको अधिकांश हिस्सा एउटा समूहले मात्र हात पार्ने पक्का छ । ठूलो लगानीमा सञ्चालित होङ्सीको प्रतिफल आउन ३–४ वर्ष अझै लाग्नेछ । 

कम्पनीको यस्तो छ प्रक्षेपण

शिवम् सिमेन्ट लिमिटेडले आउँदो २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७६।०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान उसको छ । चालु आर्थिक वर्ष ०७५ । ०७६ मा २५.२८ प्रतिशत बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । गत आवमा उद्योगको नाफा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ थियो ।

२ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पुग्ने आब्हानपत्रमा उल्लेख गरिएको छ । तर चालू आर्थिक वर्षमा भने ८.४१ प्रतिशत मात्र आम्दानी बढ्ने अनुमान उद्योगको छ ।

चालू आवमा उद्योगले १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । नाफा बढेपछि उद्योगको लगानीकर्ताको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १६ पैसा पुग्ने प्रक्षेपण छ । चालु आवमा ईपीएस ३२.५७ प्रतिशत हुने अनुमान उद्योगको छ भने प्रतिफल १७.७८ प्रतिशत पुग्ने आब्हानपत्रमा उल्लेख छ । 

प्रिमियम मूल्यमा आईपिओ निष्काशन गरेपछि उद्योगको सेयर पूँजी बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । यस्तै जगेडा कोषको आकार पनि बढेर आगामी आवमा ६ अर्ब ३ करोड २८ लाख रुपैयाँ पुग्ने देखाईको छ ।

चालू आवमा जगेडा कोष बढेर ४ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । २ वर्षमा उद्योगको चुक्ता पूँजी र जगेडा कोष गरी सम्पत्ति १० अर्ब ४३ करोड २८ लाख रुपैयाँ पुग्ने वित्तीय विवरणमा उल्लेख छ ।

उत्पादनमूलक कम्पनीहरुलाई पूँजी बजारमा ल्याउने भन्दैमा संस्थापकहरुले सर्वसाधारणलाई ठग्ने र पैसा कुम्ल्याउने माध्यम बन्नुहुन्न । सर्वसाधारणलाई मुर्गा बनाएर कम्पनीका मालिकहरुले मोज नलुटुन भन्ने ख्याल नियमनकारीहरुले गर्नेपर्छ । हैन भने प्रिमियम सहितको आईपीओ र एफपीओमा सर्वसाधारण ठगिने श्रृंखलाको अन्त्य हुँदैन ।

सर्वसाधारणले पनि कम्पनीको अवस्था र कम्पनीमा आफुले गर्ने लगानी र त्यसले दिने प्रतिफल हेरेर मात्र लगानीको योजना बनाउन आवश्यक छ । प्राथमिक शेयर भन्दैमा उचालिएर लगानी गर्दा आफ्नो जोखिम बहन क्षमता र कम्पनीको लाभांशले दिने तुलनात्मक लाभ हेर्नेपर्छ ।

आज अरुको लहैलहैमा लागेर लगानी गर्ने कि आफैँ सजग भएर कम्पनीको अवस्था र प्रतिफलको आंकलन गरेर लगानी गर्ने भन्ने कुरा लगानी पूर्व नै गर्न सकिएमा मात्र लगानीको प्रतिफल धेरै पाउन सकिने कुरामा दुईमत नहोला ।




comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।