बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष ०७४/०७५ मा कुल ६० करोड ९६ लाख रुपैयाँ मात्र शेयरधितोमा कर्जा प्रवाह गरेका छन् ।
याे अघिल्लो बर्षको तुलनामा ७८.३७ प्रतिशत अर्थात दुई अर्ब २० करोड ९२ लाख कम हो ।
जबकी अघिल्लो आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
वित्तीय बजारमा लगानी योग्य रकमको अभाव र शेयर बजारमा देखिएको गिरावटले गत बर्ष यस प्रकारको कर्जामा कमी आएको हो । त्यस्तै राष्ट्र बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा भनेपछि यसतर्फको कर्जा निरुत्साहित हुन पुगेको हो ।
अर्कातर्फ कर्जाको ब्याजदर बढ्ने र बजार घट्दै गएपछि लगानीकर्ताहरुले समेत बैंकबाट यस प्रकारको ऋण लिन सकेनन् । बैंकहरुबाट आउने मार्जिन कलले पनि शेयर कर्जा विस्तार हुन पाएन ।
क्षमता भन्दा आधा कम कर्जा प्रवाह, एक खर्ब क्षमता ४१ अर्ब प्रवाह
हालसम्म बैंकहरुले शेयर कर्जामा ४१ अर्ब ८ करोड ५३ लाख कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षसम्म बैंकहरुले मार्जिन प्रकृतिको कूल कर्जा ४० अर्ब ४७ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

प्राथमिक पूँजीको २५ प्रतिशत कायम
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको सीमा प्राथमिक पूँजीको २५ प्रतिशत कायम गरेको छ । प्राय सबैजसो वाणिज्य बैंकहरुको आठ अर्ब चुक्ता पूँजी पुगिसकेको र जगेडामा समेत बलियो भएको अवस्था छ ।
अहिले वाणिज्य बैंकहरुको कुल प्राथमिक पूँजी नै तीन खर्ब ९८ अर्ब भन्दा बढी पुगिसकेको अवस्थामा बैंकहरुले यस क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँसम्म कर्जा प्रदान गर्नसक्ने क्षमता देखिन्छ ।
तर बैंकहरुले हालसम्म ४१ अर्ब ८ करोड ५३ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यसले बैंकहरु शेयर कर्जाप्रति अनुदार बनेको संकेत गर्छ । उनीहरुले राष्ट्र बैंकले तोकेको सीमामा भन्दा आधा कम मार्जिन कर्जा प्रवाह गरेको पाइएको छ । बैंकहरुले चाहेमा अझै यस क्षेत्रमा झण्डै ६० अर्ब रुपैयाँसम्म थप कर्जा प्रवाह गर्नसक्ने अवस्था छ ।
शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा राष्ट्र बैंकले तोकेपनि बैंकहरु उदार नहुँदा यो क्षेत्रमा तोकिएको जति कर्जा प्रवाह हुन सकेको छैन । केही बैंकहरुले यो क्षेत्रमा शुन्य कर्जा प्रवाह गरेको र केही बैंकले सीमा अनुसारकै कर्जा प्रवाह गरेको पाइएको छ । अर्कातर्फ धेरै लगानीकर्ताहरुले यो सुविधा उपयोग नगरेको अवस्था पनि हुनसक्छ ।
शेयर धितोमा प्रवाह गरिने कर्जा पनि अनिवार्य गरिनुपर्ने माग
शेयर बजारका लगानीकर्ताले मार्जिन कर्जामा प्रदान गरिने कर्जा अनिवार्य गरिनुपर्ने माग राख्दै आएका छन् । तर राष्ट्र बैंकले सीमा तोकेपनि शेयर धितोमा प्रवाह गर्ने कर्जा अनिवार्य नभनेकाले बैंकहरुले यस्तो कर्जा ऐच्छिक रुपमा दिने गर्छन । जसले गर्दा शेयर बजारका लगानीकर्ता भने निरुत्साहित देखिन्छन् ।
अर्काेतर्फ राष्ट्र बैंकले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म भन्दा बढीले घटेको अवस्थामा मात्र बैंकहरुले मार्जिन कल गर्न सक्ने मौद्रिक नीतिमा व्यवस्था गरेको छ ।
यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि मार्जिन कल गर्दे आईरहेका थिए । यसबाट पनि लगानीकर्ताले थप सहुलियत पाउने नै हो ।
अहिले शेयरबजार घटेको अवस्था र मार्जिन कलको सीमा पनि बढाईएको अवस्थामा बैंकहरुले शेयर कर्जा अलिकति मात्रै पनि बढाउने हो भने ओरालो लागेको बजार केहि तङग्रिने अवस्था देखिन्छ ।