डेढ महिनाभित्र न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने बाध्यतामा निर्जीवन बीमा कम्पनीहरु

Jun 09, 2019 merolagani



निर्जीवन बीमा कम्पनीहरुले अबको डेढ महिनाभित्र तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्नेछ। चुक्ता पूँजी वृद्धिको लागि बीमा समितिले दिएकोे समय सीमा सकिन करिब ४० दिन बाँकी छ। निर्धारित समयभित्र तोकिएको पूँजी कायम गर्न कम्पनीहरु लागि परेका छन्।

हाल सञ्चालनमा रहेका कूल २० निर्जीवन बीमा कम्पनी मध्ये ६ वटाले न्यूनतम चुक्ता पूँजी पुर्याइसकेका छन्। नेको, एभरेष्ट, शिखर, हिमालय जनरल, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले यस अघि नै न्युनतम चुक्ता पूँजी पुर्याइसकेका छन् ।

बाँकी १४ कम्पनीले चालु आर्थिक वर्षको असार भित्रै पुर्याउने क्रममा छन्। बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी नपुगेका कम्पनीहरुले हकप्रद र बोनस वितरण गरेर पूँजी वृद्धिको बाटो अपनाएका छन्।

एनएलजी, लुम्बिनी र युनाइटेड इन्स्योरेन्सले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको तयारी गरेको छ भने सगरमाथा सिद्धार्थ, प्रिमियर, आइएमई जनरल इन्स्योरेन्सले बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

एनएलजी इनस्योरेन्सको ६० प्रतिशत हकप्रद जेठ १४ गते र लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद गत बैशाख २५ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव परित गरिसकेको छ।

हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएपछि निष्काशन हुनेछ। दुबै इन्स्योरेन्सले असार भित्रै चुक्ता पूँजी पुर्याउने योजना अनुरुप विशेष साधारण सभाबाट हकप्रद पारित गरेका हुन् ।

यस्तै युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट हकप्रद स्वीकृत भएपछि इन्स्योरेन्सले शेयरधनीको लागि हकप्रद निष्काशन गर्नेछ । हकप्रद पछि युनाइटेड इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ इन्स्योरेन्सले १५.४८ प्रतिशत र सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस पारित गर्न दुबै कम्पनीले असार १३ गते एकै दिन साधारण सभा बोलाएका छन् । बोनस वितरण पछि दुबै कम्पनीको चुक्ता पुँजी एक अर्ब भन्दा माथि पुग्नेछ ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत र प्रिमियर इन्स्योरेन्सले ७९.७९ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । उक्त बोनस बीमा समितिको अनुमति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ। बोनस वितरण पछि आइएमई जनरलको १ अर्ब २ करोड र प्रिमियरको १ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

नेप्सेमा सूचीकृत प्रुडेन्सियल इन्स्योरेन्सले भने पूँजी वृद्धिको कुनै तयारी गरेको छैन्। इन्स्योरेन्सको ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ । यस्तै २ विदेशी कम्पनी (ओरेन्टल र नेशनल इन्स्योरेन्स) र राष्ट्रिय बीमा कम्पनीले तत्कालको लागि पूँजी वृद्धि गर्नुपर्ने योजना अघि सारेका छैनन् ।

यस्तै सञ्चालनमा आएका नयाँमध्ये अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्स गरी ३ निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी कायम गर्न ९० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्नुपर्नेछ । यी तीन बीमा कम्पनीहरू कुनैको पनि व्यवसायिक कारोबार सुरू गरेको एक वर्ष पुगेको छैन् । त्यस कारण आईपीओ निष्काशन गरेर चुक्ता पूँजी बढाउने प्रकृयाले समय लिनेछ।

तीनैवटा कम्पनीको हाल कायम चुक्ता पूँजी ७० करोड रूपैयाँ छ। न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउन यी कम्पनीले ३० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।