विग मर्जरमा शेयर लगानीकर्ताको चासो, कारोबार रोक्दा के होला बजार ?

Jun 28, 2019 05:41 PM merolagani



-सुधा देवकोटा।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र नभई बीमा कम्पनीहरुलाई समेत एक आपसमा गाभ्न प्रोत्साहित गर्ने नीति लिएपछि पछिल्लो एक महिना यता मर्जरको बिषयमा शेयर बजारको सबैभन्दा चर्चाको बिषय बनेको छ।

शेयर बजारको सबैभन्दा धेरै हिस्सा ओगेटेका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लग्ने घोषणा भएसँगै शेयर लगानीकर्ताको ध्यान त्यसतर्फ मोडिएको छ। त्यसैमा बीमा कम्पनीहरुको पनि मर्जर गरिने कुराले शेयर बजारमा थप प्रभाव परेको देखिन्छ ।

विगतमा मर्जरमा गएका संस्थाहरुको लामो समय शेयर कारोबार रोकिएको समस्या भोगेका लगानीकर्ताहरु सरकारले नै बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लाने संकेत गरेपछि थप आशंकित बनेका छन् ।

बिहीबार मात्रै राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका उच्च अधिकारीहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरका लागि जोडि खोज्न निर्देशन दिएका थिए । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या २८ बाट घटाएर दश देखि १५ मा झार्ने योजना अघि सारेको छ । जसले गर्दा शेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

बजेटमा शेयर बजार सुधारका प्रशस्त कार्यक्रम घोषणा गरिएपनि बजेट सार्वजनिक भए यता शेयर बजार निरन्तर ओरालो लागेको छ । बजेट सार्वजनिक गरेको दिन एक हजार ३१३.८८ अंकमा रहेको नेप्से सूचक एक महिनाको अन्तरालमा नै ५६.७३ अंकले अर्थात ४.३२ प्रतिशतले झरेर एक हजार २५७.१५ विन्दुमा झरेको छ ।

सरकारले शेयर बजारमा सुधारका नयाँ कार्यक्रमसँगै पूँजीगत लाभकरमा छुट दिँदा समेत शेयर बजारका लगानीकर्ताहरुको मनोबल बढ्न नसक्नुको कारण मर्जर नीति भएको विश्लेषण गर्न थालिएको छ। बजेटले गरेको व्यवस्थालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कार्यान्वयन तहमा लैजाने पूर्व घोषणा गरेपछि शेयर बजारमा यसको प्रभावहरु देखिन थालेको छ ।

नेपाल इन्भेष्टर संघका अध्यक्ष छोटेलाल रौनियारले शेयर बजारमा छोटो समय ट्रेड गर्ने लगानीकर्तालाई मर्जरले थोरै असर गरेपनि लामो समयको लागि लगानी गर्ने लगानीकर्तालाई फाइदा हुने हुदा मर्जरबाट लगानीकर्ताहरु डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। तर, मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुलाई बिशेष योजना, समय तालिका र आर्कषक प्याकेज सहित मर्जर प्रकृयामा लैजानुपर्छ । रौनियारले भने ।

शेयर बजारमा कारोबार भईरहेका कम्पनीहरु मर्जर प्रकृयामा सामेल हुँदा उनीहरुको कारोबार रोकिने हुँदा अल्पकालीन लगानीकर्ताहरु बढी त्रशित बनेको देखिन्छ । अर्कातर्फ कम्पनीहरु बीचको स्वाप रेसियो कति हुने भन्ने जिज्ञासा पनि लगानीकर्तामा रहने हुँदा यसको प्रभाव शेयर बजारमा प्रत्यक्ष देख्न सकिन्छ ।

यसै पनि नेपालको शेयर बजार सानो छ । शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुमध्ये ८० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् । यसरी ठूला बैंकहरु मर्जर जाँदा ती बैंकहरुको कारोबार रोक्का हुने हुँदा बजार अझ साँघुरो हुने अनुमान विज्ञहरुको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जरका लागि जोडि खोज्न प्रष्ट निर्देशन दिएकाले पनि आगामी मौद्रिक नीतिमा मर्जरले प्रमुख प्राथमिकता पाउने देखिन्छ । विगतमा लामो समयसम्म शेयर बन्धक बनाएर मर्जरको पिडा भोगेका लगानीकर्ता पुन विग मर्जरको चर्चाले केहि निराश देखिएका छन् । यस्तै कतिपय कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेको लामो समयपछि सम्झौता तोड्ने गरेको देखिन्छ । यसबाट शेयर बजारका लगानीकर्ता थप प्रताडिप हुने गरेका छन् ।

यसको ज्वलन्त उदाहरणको रुपमा प्राइम र ओमका बिच मर्जर हुने भनिएको र अन्तिम अवस्थामा आएर तोडिएको अवस्थालाई लिन सकिन्छ । जस्तै देब बिकास बैंकले एक्विजिशन गर्ने भनेको वेष्टर्न डेभलपमेन्ट बैंकको झण्डै एक वर्ष देखि शेयर कारोबार हुन सकेको छैन् ।

यसरी मर्जरमा जाने भन्दै अन्तिम अवस्थामा आएर सम्झैता तोड्दा कम्पनी भन्दा पनि शेयरधनीहरुलाई मर्का पर्न जान्छ । यस्ता घटनाहरुले मर्जरप्रति शेयर लगानीकर्ता उत्साहित हुन नसकेको उनीहरु बताउँछन् ।

हाल सम्म १६ वटा बैंक तथा वित्तिय संस्था मर्जर तथा ८ वटा कम्पनी एक्विजिशन प्रक्रियामा छन्। मर्जर तथा एक्विजिसनको क्रममा रहेकाले ती कम्पनीहरुको शेयर कारोबार रोक्का छ ।

बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति(एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा गाभ्ने गाभिने कम्पनीको शेयर कारोबार रोक्का रहने व्यवस्था छ । तर विग मर्जरमा ठूला ठूला बैंकहरु समेत मर्जरमा जान सक्ने भन्दै शेयर कारोबार रोक्का गर्ने व्यवस्था हटाउनुपर्ने माग लगानीकर्ताको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।