हितग्राही खाता अनिवार्य गरिए यता र दोस्रो बजारमा ब्यक्तिगत करदाता नम्बर ( प्यान) लागू भएपछि यस्ता विकृति हटेको दाबी गरिनु भ्रम मात्र हो। धितोपत्र बोर्डले साउन १ गतेदेखि गैरकानुनी तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका कडाईका साथ लागू गर्ने भएपछि यस्ता क्रियाकलाप गर्नेहरु सम्पत्ति शुद्दीकरणको दायरामा तानिनसक्ने सम्भावना बढेर गएको छ ।
धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा यस्तो ब्यवस्था छ :-
सम्पति शुद्दीकरण सम्बन्धी निर्देशिका अनुसार हरेक लगानीकर्ताले एकैपटक वा पटक पटक गरी १० लाख रुपैयाँसम्मको कारोबार गरेमा त्यस्ता लगानीकर्ताको विवरण राष्ट्र बैंकको सम्पति शुद्दीकरण ईकाई र सम्पति शुद्दीकरण अनुसन्धान विभागमा पठाउन पर्ने अनिवार्यता पहिले देखि नै गर्दै आएको थियो र शेयर दलालहरुले नियमित रुपमा त्यस्तो विवरण पठाउँदै पनि आएका थिए ।
धितोपत्र बोर्डले त्यसमा थप कडाई गरेर शंकास्पद कारोबार समेत जनाएर विवरण पठाउनुपर्ने अनिवार्यता गरेपछि गैरकानुनी रुपमा अरुको नाममा किनबेच गर्दै आएकाहरु छानबिनको दायरामा पर्ने जोखिम बढेको हो।
कुनै शेयर दलालले आफ्नो लाईसेन्स नै खारेज हुने र पाँच करोडसम्म जरिवाना ब्यहोर्नुपर्ने जोखिम किन पनि लिन सक्दैन भने कुनै लगानीकर्तालाई एउटा कारोबारको बारेमा बचाउ गर्नुभन्दा उसलाई आफ्नो कम्पनी जोगाउनु ठूलो कुरा हुन जान्छ। कसैले गैरकानुनी र शंकास्पद कारोबार गरिरहेको छ भन्ने जान्दाजान्दै उसले त्यसलाई लुकाएर धितोपत्र बोर्ड वा अरु निकायको आँखा छल्ने प्रयास उसले अवश्यय नै गर्नेछैन ।
धितोपत्र बोर्ड, सम्पति शुद्दीकरण वा अन्य नियमनकारी निकायलाई कुनै कारोबारका बारेमा शंका लागेमा तत्कालै सोधपुछ गर्ने हुँदा शेयर दलालहरु आफ्ना ग्राहकहरु प्रति बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने अवस्था छ।
सक्कली ब्यक्ति पर्दा पछाडि रहेर अर्कै ब्यक्तिलाई अगाडि सारेर गरिने कारोबार कति जोखिमपूर्ण छ भने यसले सक्कली र नक्कली दुबै ब्यक्तिलाई छानबिनको दायरामा ल्याउँछ । त्यतिले मात्रै नपुगेर समयमै शंकास्पद कारोबार बारे जानकारी नदिएमा शेयर दलाल समेत छानबिनको दायरामा तानिन्छ। यतिसम्म कुरामा ध्यान पुर्याउनु पर्छ कि ग्राहकको पहिचान विवरण ठीक ढङ्गले भरेर सही तरिकाले त्यसलाई ब्यवस्थित रुपमा राखिएको छैन भने पनि दलाललाई झमेला पर्नसक्छ।
यदि कुनै ब्यक्तिको नाममा कसैले कारोबार गर्दै आएको थियो र ती ब्यक्तिका बारेमा उजुरी परी सम्पति शुद्दीकरणका अधिकारीहरुको अगाडि उभ्याईँदा मैले त हैन, फलानाले गरेको हो भनेर दोषारोपण गरिदियो भने कि त दोस्रो ब्यक्ति त्यहाँ हाजिर हुनुपर्छ कि त भने भाग्नुपर्छ । यसरी भाग्दा पनि सम्पति शुद्दीकरणको मुद्दाबाट उन्मुक्ति पाइँदैन। लगानी गरेको सम्पति पनि गुम्छ, त्यस्तो जोखिम किन लिने ?
नक्कली लगानीकर्ता खडा गरी कारोबार गर्नेहरुमा शेयर दलाल, ठूला लगानीकर्ता, आफ्नो नामबाट कारोबार गर्न नसक्ने ब्यक्तिहरु मात्रै हैन, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, बीमा समिति, अन्य सरकारी निकायका कयौं अधिकारी र राजनीतिक दलका नेता, कार्यकर्ता समेत संलग्न छन् ।
नियम लाग्दा ती सबैलाई लाग्छ तर नेपालको कानूनी ब्यवस्था यति फितलो छ की शक्तिमा पहुँच र पैसा नहुनेहरु मात्र बढी फस्छन्, शक्तिशालीहरु उहिल्यै उम्किसकेका हुन्छन् । भित्र मिलाउन नसके मात्र धेरै कुरा बाहिर आउने हो । तर यसका लागि पनि धेरै शक्ति र पैसा खर्च हुन्छ ।
आफ्नो मेहनत र पसिनाबाट आर्जित रकम, ऋण र सापटी गरेर कसैले शेयर बजारमा लगानी गरेको छ भने रत्तिभर पनि आत्तिनु पर्दैन । सम्पति शुद्दीकरणको नयाँ ब्यवस्थाले त झन् त्यस्ता आम सर्वसाधारण लगानीकर्ताको हीत रक्षा गर्छ तर अहिले आत्तिएका भने तिनै सर्वसाधारण लगानीकर्ता हुनसक्छन् । यो नबुझेर र अत्याउनेहरुका कारण देखिरहेको छ ।
कुनै लगानीकर्ताले अर्काको नाममा शेयर किनबेच गर्दै आएका छन् भने आजै त्यो छाडेर आफ्नो नाममा किनबेच गर्नु जरुरी छ । आफ्नै परिवारको नाममा किनबेच गरेको अवस्था हो भने पनि परिवारका सदस्यलाई अनावश्यक झमेला बोकाउन हुन्न भने त्यो पनि छाडिदिनुपर्छ र आफ्नै नाम वा आफ्नो कम्पनीको नाममा लगानी सार्नुहोस्, जसमा तपाई निर्धक्क भएर आफ्नो दाबी र प्रतिरक्षा गर्न सक्नुहुन्छ ।
सही काम गर्नेहरु उत्साहित हुने र गलत काम गर्नेहरुले आफ्ना गलत धन्दा बन्द गरेर पूँजी बजारलाई बलियो बनाउने अवसर नै सम्पति शुद्दीकरणको नयाँ निर्देशिका लागू हुने समय हो ।