आईतबार शेयर किनबेच ठप्प पारौंं, पूँजी बजार विरोधीलाई अन्तिम धक्का दिऔं

Jul 20, 2019 11:59 AM Merolagani

तिलक कोइराला ।

लगानीकर्ताले किनबेच गरेको शेयरको विवरण नेपाल स्टक एक्सचेन्ज, सीडीएससी र शेयर दलालले राख्दै आएकोमा अहिले एक्कासी सरकारले ढुंगे युगको नियम लगाएर लगानीकर्ताको घाँटी अठ्याउँने प्रयास गरेको छ ।

पूँजीगत लाभकर गणनामा भारित औसत लागत अर्थात वेटेज एभरेज कार्यान्वयनको क्रममा लगानीकर्तालाई प्रमाण जुटाएर आफ्नो शेयरको भारित औसत लागत दावी गर भन्नु सरासर नेप्से, सीडीएससी र दलालको बेईमानी हो । प्रमाण आफुले लुकाएर लगानीकर्तालाई परिबन्दमा पार्न खोज्ने यी तीन निकायहरुले भोलि आईतबार बिहानसम्ममा लगानीकर्तालाई सहज हुने गरी कुनै समाधान दिएनन् भने सबै लगानीकर्ताहरुले शेयर कारोबार ठप्प पारी यी तिनै निकायका प्रमुखहरुलाई कठघरामा उभ्याएर पूँजी बजारलाई अस्थिर बनाउँन खोजेकोमा सजाय दिनैपर्छ ।

यसमा रमिता हेरेर बस्ने धितोपत्र बोर्ड, त्यसका अध्यक्ष डा. रेबतबहादुर कार्की र कार्यकारी निर्देशक निरज गिरी त नालयाक सावित हुने नै छन् भने आन्तरिक राजश्व विभाग हुँदै अर्थमन्त्रीसम्मका उच्च पदस्थहरुको पनि मुखौटो यही मौकामा उतार्नै पर्छ । लगानीकर्ताले नै घाटा खाएर तिरेको कर र कमिशनबाट तलव भत्ता खानेहरुले उल्टै लगानीकर्तालाई पीडा दिएको अन्यायपूर्ण अबस्था सहेर टुलुटुलु हेरी बस्नु कुनै हालतमा हुँदैन ।

किन यति कडा कुरा गरिएको हो भने प्रमाण र तथ्यको आधार यो छ:

१. लगानीकर्ताले बर्षौ अघि किनेको शेयरको बिल र कारोबार नम्बर उनीहरुसँग छदैछैन । कतिपयलाई शेयर दलालले रसिद र कारोबार नम्बर दिएकै थिएनन् भने कयौंले त्यो पाएर पनि सुरक्षित राख्नु आबश्यक ठानेनन् । कयौंको कागजात भुकम्प र बाढी पहिरोको बेला नष्ट भयो भने कयौंले केही समयपछि आफै त्यो नष्ट गरिदिएँ । आज भन्दा तीन बर्ष अघि डिजिटल प्रविधिमा कागजात सुरक्षित गर्ने चलन नभएकाले अधिकांश लगानीकर्तासँग आफुले किनेको शेयरको भारित औसत प्रमाणित गर्ने कागजात छैन । कतिपय शेयर दलालहरुको लाईसेन्स नै खारेज भएर ६० वाट ५० वटामा झरेकाले कयौं लगानीकर्ताले प्रमाण खोज्न चाहे पनि पाउँने अबस्था छैन । कृषि बिकास बैंकले ऋणीलाई बर्षौ अगाडि वितरण गरेको शेयरको वास्तविक हकदार बाजे, बराजु वितेर गईसकेको हुँदा उनीहरुका सन्ततीले त्यो शेयरको भारित औसत लागत प्रमाणित गर्ने कागजात खोज्न कहाँ जाने ?

२. २०७२ माघ १ गते शेयरको अभौतिकीकरण हुनु भन्दा अघिको कारोबार विवरण नेप्से र शेयर दलालको प्रणाालीमा रहेको हुन्छ भने त्यस यताको सबै विवरण सीडीएससीको प्रणालीमा समेत छ । लगानीकर्ताको शेयरको भारित औसत लागत गणना गर्न तथ्यांक र प्रमाण उपलब्ध गराउनु पर्ने प्राथमिक दायित्व यी तीन वटै निकायको हो । लगानीकर्ताले दिने एउटा निबेदनका आधारमा उनीहरुले सबै कारोबार विवरण उपलब्ध गराउनुपर्छ भने पूँजीगत लाभकर गणनामा उनीहरु आफैले त्यो तथ्यांक प्रयोग गर्नुपर्छ । यसबाट भागेर लगानीकर्ताको टाउकोमा सबै दोष थोपर्ने षडयन्त्र उनीहरुले गर्न पाउँदैैनन् ।

३. नेप्सेको कथित पूर्ण स्वचालित अनलाइृन कारोबार प्रणालीमा आबद्ध भएर लगानीकर्ताले विदेश र दुरदराजबाट शेयर किनबेच गरिरहेको अबस्थामा शेयर दलालको कार्याललयमा सशरिर भौतिक रुपमा उपस्थित भएर ल्याप्चे समेत लगाई प्रमाण जुटाउँन लगाउँनु प्रविधिको सिधै अपमान हो । आधुनिकबाट ढुंगे युगमा फर्काउने दुष्प्रयास हो । यो संभवै छैन ।

४. पूँजी बजारमा भारित औसत लागतमा पूँजीगत लाभकर गणनाको बहस चलेको झण्डै डेढ बर्ष भयो र नेपाल ईन्भेष्टर्स फोरमसँग अर्थमन्त्रालयमा भएको सर्बपक्षीय बैठकमा सहमति भएकैै एक बर्ष भईसक्यो । त्यहाँ सीडीएससीका प्रमुख देवप्रकाश गुप्ताले कसरी भारित औसत लागत निकाल्ने भन्ने प्रस्तुति दिँदा के उनी भाड. खाएर गएका थिए ?
नयाँ बजेटले भारित औसत लागतमा पूँजीगत लाभकर गणनाको ब्यवस्था गरेकै डेढ महिना नाघिसक्यो । त्यसलाई लागु गर्न पर्याप्त गृहकार्य नगरेर अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, शेयर दलालहरु के गरेर बसेका थिए ? कस्तो संयन्त्र र कार्यविधि बनाए र कहिले बनाए ? अब यो पनि स्पष्ट रुपमा बाहिर ल्याएर जनताको करबाट तलब भत्ता खाने तर काम नगर्नेहरुलाई दण्डित गर्नेपर्छ ।

५. कथित लगानीकर्ता संघका नेताहरुको त कमजोरी झन् कति हो कति । कोही अर्थमन्त्रीसँग एक्लै घण्टौ बन्द कोठामा गोप्य वार्ता गरेर आएको फुइँ लाउँनेहरु छन् भने कोही दृष्टि नभएको ब्यक्तिले हात्ती छामे जस्तो गरी अहिलेको समस्यालाई लिएका छन् । यिनीहरुले आफ्नो स्वार्थ पुरा गर्न लगानीकर्ता संघ नामक झुण्ड बनाएका छन् र बेला बेलामा स्वार्थको डम्फु बजाउँछन् । पूँजी बजारको बृहत्तर बिकास र लगानीकर्ताको लगानी सुरक्षाको सवालमा यिनीहरुले सिन्को भाँच्ने काम गरेका हैनन् । लगानीकर्ताका नेताहरुको अनुहार हेर्नु भयो भने नै यिनीहरु कुन स्वार्थको कारणले हिँडेका छन् र कहाँ गएर रोकिन्छन् भन्ने सजिलै बुझ्न सकिन्छ । यी संघ भन्नेहरु यस्ता छन् कतिपयको त १० जना सदस्य पनि जुटाउँन सक्ने हैसियत छैन भने कसरी यिनीहरुले आम लगानीकर्ताको हितमा काम गर्छन ?

त्यसैले आम लगानीकर्ताहरु नै पूँजी बजार बिकास र सुधारको बृहत अभियानमा एकताबद्ध हुनुको विकल्प छैन । नेप्से घट्यो र बढ्यो भन्ने जस्ता हावादारी गफमा कुँदेर अब पूँजी बजारमा गरिएको लगानी सुरक्षित हुन सक्दैन । कुनै पनि बेला थाम्नै नसकिने खालको गिरावट आएर लाखौं लगानीकर्ताको बेहाल हुने संभावना उत्तिकै छ । यहाँ एक पछि अर्को षडयन्त्रहरु निरन्तर भईरहेका छन् ।

जब पूँजी बजारमा लगानीकर्ताहरु आशावादी भएर लगानी गर्न आउँछन्, अब नयाँ नयाँ समस्या र आतँक सिर्जना गरेर भड्काउँने प्रयास हुँदै आएको छ । यसपल्ट असार मसान्तमा तरलता सहज हुुँदै गर्दा लगानीकर्ताहरु नयाँ आशा र भरोसा लिएर शेयर बजारमा लगानी गर्न जुर्मुराउँदै थिए, त्यही बेला बेटेज एभरेजको नाममा ढुंगे युगको नियम ल्याएर तर्साउँने काम भएको छ । विगतमा सम्पति शुद्धिकरण, भ्याट, प्यान, कारोबार कर, संस्थापक शेयर साधारणमा परिवर्तन लगायतका अनेक आतंक सिर्जना गरी लगानीकर्ताको सम्पतिमा क्षति पुर्याउँने अपराधपूर्ण काम हुँदै आएको हो । बितेको चार बर्षमा मात्रै लगानकिर्ताले सात खर्ब सम्पति गुमाईसकेका छन् भने अब लगानीकर्ताहरु अरु गुमाउँन तयार हुनुहुन्न । आफ्नो सम्पतिको सुरक्षा गर्न आफै जुट्ने हो ।

समस्या वेटेज एभरेज गणनाको मात्रै हैन, सरकार र नियमनकारी निकायहरु आफैले गर्छु भनेर समय सिमा तोकेका कामहरु नहुँदा नेपालको पूँजी बजार फेरि एकपटक गंभीर समस्यातर्फ उन्मुख भएको छ । ती सबै कुराहरुको एकमुष्ट छिनोफानो हुने गरी अब एकताबद्ध भएर निर्णायक चरणको आन्दोलन गर्नुको विकल्प छैन । टालटुले समाधानले नेपालको पूँजी बजारको समस्या समाधान गर्न सक्दैन भन्ने कुरालाई गंभीर रुपमा मनन् गरौं ।

पूँजी बजारमा गरिएको लगानी सुरक्षाका लागि अब सबै शेयर लगानीकर्ताहरु एक ढिक्का भएर आईतबार शेयर कारोबार ठप्प पारी पूँजी बजार सुधार र बिस्तारका लागि फेरि फेरि पनि आन्दोलन गर्न नपर्ने गरी एकताबद्ध प्रयास गर्नैपर्छ । यहाँ किन्न र बेच्न पाउँनु लगानीकर्ताको नैसर्गिक अधिकारको कुरा गर्नेहरु पनि अघि सर्लान् तर आम लगानीकर्ताको लगानी नैै सुरक्षा नहुने अबस्थामा सिमित अधिकारको कुरा गर्नु कुनै पनि हालतमा सान्दर्भिक छैन । हामी सर्बसाधारण लगानीकर्तालाई अकल्पनीय आर्थिक क्षति हुने जान्दाजान्दै किन कारोबार गर्ने र मन्त्री, सांसद, उच्च सरकारी अधिकारीहरु, नियमनकारी निकायका पदाधिकारी र कर्मचारीहरु, शेयर दलालहरुलाई पालिन हामीले आफ्नो सम्पति गुमाउँने ?  

एक दिन वा केही दिन शेयर कारोबार नगर्दा हाम्रो केही गुम्दैन र आकाश पनि खस्दैन । नेप्से र धितोपत्र बोर्ड घेराउ गर्न जानु भन्दा शान्तिपूर्ण यही हो सही विकल्प । कम से कम प्रहरी बल प्रयोग गरेर हामी लगानीकर्तालाई दमन गर्ने निहुँ तर सरकारले पाउँदैन । नेपालका शेयर लगानीकर्ताहरुले कम्युनिष्ट सरकारको पूँजी बजार विरोधी नीतिलाई अश्वीकार गरें भनेर विश्वलाई देखाउँने उपयुक्त मौका पनि यही हो । 

आऔं, सबै लगानीकर्ताहरु मिलेर पूँजी बजार विरोधीहरु, सर्बसाधारण लगानकिर्ताहरुको सम्पति सुरक्षामा धावा बोल्नेहरुलाई अन्तिम धक्का दिऔं, आफ्नो सम्पतिको सुरक्षा आफै गरौं ।

(नोटः म सबैभन्दा पहिले यो देशको नागरिक, सचेत लगानीकर्ता र त्यसपछि मात्र पत्रकार हुँ । आम लगानीकर्ताको आवाज नै मेरो आवाज हो । यस आब्हानबाट कसैको मानहानी हुन गएमा संयोग मात्र भएको मान्नुहुन विनम्र अनुरोध छ )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।