"सुकेनास" लागेका कम्पनीहरुको शेयर किन्दा खतरा नै खतरा, वित्तीय विवरण अनिवार्य अध्ययन गर्नुहोस

Jul 30, 2019 12:01 PM Merolagani

तिलक कोइराला ।
शेयर बजारमा लगानी गर्नेहरुले राम्रो, बलियो र सस्तो शेयर मूल्य भएका कम्पनीहरुमा लगानी गर्दा फाईदा हुन्छ तर शेयर मूल्य सस्तो छ भन्दैमा सुकेनास रोग लागेका कम्पनीहरुको शेयर किनियो भने नराम्ररी फसिन्छ ।

जुन कम्पनीको शेयर मूल्य अति सस्तो त छ तर ब्यवसाय बिस्तार छैन, सुक्दै गएको छ, अहिलेसम्म नाफा बाँडेको छैन, जगेडा कोष जर्जर छ, संस्थागत सुशासन दयनीय छ र कम्पनीले प्रगति गर्ने कुनै संभावना देखिन्न भने त्यस्तो कम्पनीको शेयर एक रुपैयाँ प्रतिकित्तामा पाए पनि किन्नहुन्न । त्यस्तो शेयर न बैंकमा धितो राखेर कर्जा पाईन्छ न त आफुलाई आबश्यक परेको बेलामा बेचेर गर्जो नै टार्न सकिन्छ ।

नेपालको शेयर बजारमा त्यस्ता कम्पनी कुन कुन हुन ? यहाँ नाम उल्लेख नगरिकन भन्न सकिन्छ, एक दर्जन भन्दा बढी छन् । कम्पनी स्थापना भएको बीस बर्ष पुग्न लाग्दापनि अहिलेसम्म लाभांश नबाँडेकादेखि भर्खरै सर्बसाधारणलाई आईपीओ भिडाएका सम्मका कम्पनीहरु यो बर्गमा परेका छन् ।

बरु १० रुपैयाँ महंगो नै किन नहोस् ब्यवसाय बिस्तार गर्दै गरेका, नाफा बढाउँदै लगेका, पूँजी आधार र जगेडा कोष बलियो पार्दै गरेका, संस्थागत सुशासन राम्रो भएका, अघिल्लो बर्ष लाभांश वितरण गरेका र गत बर्षको खुद नाफाबाट लाभांश वितरण गर्ने क्षमता भएका, प्रतिशेयर नेटवर्थ अंकित मूल्य धन्दा धेरै भएका, प्रतिशेयर आम्दानी १५ रुपैयाँमाथि र मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेका कम्पनीहरुकै शेयर किन्नुपर्छ । विगतमा बिग्रेर सप्रदै गरेका कम्पनीहरुको शेयर पनि किन्नु त हुन्छ तर आफ्नो जोखिमबहन क्षमता चाँही गहन रुपमा विचार गर्नेपर्छ ।

कतिपय कम्पनीहरु हलक्कै बढेका जस्ता पनि हुनसक्छन् । बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्रभित्रै कुहिएर ढल्नै लागेकामा पनि फस्न पुगिएला । बाहिर राम्रो प्रचारबाजी गरेर महंगोमा शेयर भिडाई चलाखहरुले सोझा लगानीकर्ता फसाउँने खेल खेलेका पनि हुनसक्छन् । त्यसैले कम्पनीको समग्र अवस्था विचार नगरी हुलमुलमा लगानी गर्नबाट जोगिनुपर्छ । त्यसका लागि कम्पनीको बित्तीय विवरण र अन्य आधारभुत कुराहरु अध्ययन नै गर्नुपर्छ ।

अहिले कम्पनीहरुले धमाधम गत आर्थिक बर्षको चौथो त्रैमासको बित्तीय विवरण प्रकाशित गरिरहेका छन्, ती बित्तीय विवरणहरुका साथै गत तीन बर्षको अवस्था तुलना गरेर कम्पनीको अवस्था थाहा पाउँन सकिन्छ ।

बित्तीय विवरण अध्ययन र तुलनात्मक विश्लेषण गर्ने क्षमता नभएकाहरु शेयर बजारमा लगानी गर्छु भन्दै आउनु नै बेकार छ । जो लगानीकर्ताले कम्पनीको आधारभुत अवस्था अध्ययन गर्दैनन्, हल्ला र अफवाहको भरमा, अनलाईनहरुको हेडलाईन, सामाजिक संजालमा गरिएका प्रचारवाजी हेरेर लगानी गर्छन, उनीहरु डुब्छन् ।

कुनै कम्पनीले एर्कैपल्ट धेरै बोनस बाँड्छु भन्यो वा धेरै हकप्रल बेच्छु भन्यो भने पनि त्यस्ता कम्पनीको शेयर उचालिएर किन्नुहुन्न । यस्तो कम्पनीमा लाग्दा विगतमा धेरै फसेका छन् । एकैपल्ट धेरै बोनस वितरण गर्ने र हकप्रद बैच्ने कम्पनीले पूँजी बढाए अनुसार नाफा बढाउँन सक्दैनन्, बोनस र हकप्रदका कारणले मूल्य समायोजन हुँदा शेयर मूल्य घट्छ । हकप्रद कम्पनीले लगानीकर्तालाई मायाँ गरेर दिने नभई उसको पूँजी बढाउँनुपर्ने बाध्यताले लगानीकर्तालाई शेयर भिडाएर पैसा थुत्ने काम गर्छ । एकातिर हकप्रदको लोभमा महंगोमा शेयर किन्नु, अर्कोतिर हकप्रदका लागि फेरि पैसा थप्नाले दोहोरो घाटा लाग्छ ।

सुकेनास लागेका कम्पनीहरुको शेयर मूल्य घट्यो भने घाटालाई थेग्ने आधार केही हुन्न, बढ्यो भने मात्र फाईदा हो । राम्रा, बलिया र लाभांश दिने कम्पनीको शेयर मूल्य घट्यो भने पनि कर्जाको ब्याज तिर्ने र आफ्नो गर्जो टार्ने पैसा लाभांशले दिन्छ । यस्ता शेयरहरु बजारमा तत्कालै बेचेर पनि बाहिर निस्कन सकिन्छ । 

खराब र मूल्य उचालिएका कम्पनीहरुमा लगानी गर्दा विगतमा नेपालको शेयर बजारमा धेरै डुबेका छन् । शेयर बजार आफैमा जोखिमको क्षेत्र हो तर पर्याप्त अध्ययन गरी राम्रा तर सस्ता शेयर मूल्य भएका कम्तिमा १० वटा कम्पनीहरुको शेयरमा लगानी गरे डुब्नबाट जोगिन सकिन्छ । आफ्नो जोखिमबहन क्षमता हेरी सुझबुझपूर्ण लगानी गर्नेहरुले अरु क्षेत्रमा भन्दा शेयर बजारमा कमाउँने संभावना धेरै नै हुन्छ तर हावादारी लगानीकर्ताहरुले अक्सर गुमाउँछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।