"खति बडा" भयो शेयर बजारमा विज्ञ अर्थमन्त्रीज्यू, लौन यी काम गरौं

Aug 12, 2019 07:04 PM Merolagani

-तिलक कोइराला।
अर्थमन्त्री यूवराज खतिवडा ज्यू, नमस्कार,

तपाईले मलाई राम्रोसँग चिन्नु त हुन्न होला तर नाम पक्कै सुन्नु भएको होला । अलि हेक्का राख्नु भयो भने तपाईले मलाई राम्ररी चिन्नु हुन्छ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी गठबन्धनले आम चुनावमा बहुमत ल्याएपछि दरबारमार्गको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार शम्भु श्रेष्ठसँगै तपाइँसँग कुरा गर्ने मान्छे म नै थिएँ ।

अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष प्रचण्डको पत्रकार सम्मेलन शुरु हुनुभन्दा अगाडि तपाईसँग भएको पाँच मिनेट जतिको कुराकानी याद गर्नुभयो ? तपाईले त्यतिबेला भन्नुभएको थियो कि "शेयर बजार १०, ११ जनाको हातमा छ, तिनीहरुलाई नभगाईकन पूँजी बजारको विकास र विस्तार हुँदैन ।"

तपाईले त्यतिखेर अर्को कुरा पनि भन्नुभएको मलाई राम्ररी याद छ। तपाईको मुखारविन्दबाट निस्किएको महान वाणी थियो, "वास्तवमा शेयरको मूल्य त एक सय रुपैयाँ हो, अनेक हल्ला गरेर त्यसलाई माथि पुर्याउने खेल खेलिएको छ। त्यो वास्तविक मूल्यमा आउनैपर्छ ।"

मैले तपाईको कुराको प्रतिवाद गरेको पनि यहाँलाई यादै होला । पूँजी बजारको स्वस्थ विकासका लागि बाम गठबन्धनको सरकारले खेल्नुपर्ने भुमिकाबारे दिईएका सुझावहरु तपाईले एक कानले सुनेर अर्को कानले उडाउनु भएको रहेछ भन्ने कुरा तपाई अर्थमन्त्री भएपछि प्रष्ट हुँदै गयो ।

तपाईसँगको संक्षिप्त कुराकानीपछि पत्रकार सम्मेलनमा अध्यक्ष केपी ओलीलाई पूँजी बजार सम्बन्धी प्रश्न सोध्ने पनि मै थिएँ ।

मैले सोधेंको थिएँ कि "कम्युनिष्ट आयो भने पूँजी बजार ध्वस्त हुन्छ, विदेशी लगानी आउँदैन, भएको विदेशी लगानी पनि भाग्छ भन्ने हल्ला गरिएको छ, यसको प्रतिवाद कसरी गर्नुहुन्छ ?"

त्यसको जवाफमा अध्यक्ष ओलीले भन्नुभएको थियो, "कम्युनिष्ट आयो भने पूँजी बजार ध्वस्त हुन्छ, विदेशी लगानी आउँदैन भन्ने कुरा देश माथिको घात हो । यस्तो हल्ला गर्नेहरुले देशमाथि घात गर्दैछन् । हामीले पूँजी बजार झन् राम्रो बनाएर लैजाने छौं।"

त्यतिखेरको पत्रकार सम्मेलनमा मैले सोधेको प्रश्न र अध्यक्ष केपी ओलीले दिनुभएको जवाफ कतिपय टेलिभिजन र फेसबुक प्रयोगकर्ताहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । रेकर्ड हेर्दा मैले ढाँटेको हैन भन्ने प्रमाणित होला।

तपाई अर्थमन्त्री भएपछि पूँजी बजारले फड्को मार्ने र प्रधानमन्त्री केपी ओलीको बचनबद्धता कार्यान्वयन हुने आश म लगायत धेरैमा थियो तर वितेको डेढ वर्षमा शेयर बजारमा क्षति (खति) ठूलो (बडा) अर्थात धेरै भईसकेको छ । संयोगले तपाईको थर पनि खतिवडा भएकाले शेयर बजारमा भएको ठूलो क्षतिको उपनाम "खति बडा" तपाईलाई दिन थालिएको छ । यस्तो उपनाम तपाईलाई सुहाउँदैन । 

तपाईले राष्ट्र बैंकमा काम गर्ने आफ्ना साथीले शेयर बजारमा लगानी गर्दा धेरै गुमाएको तर आफुले चाँही बैंकमा निक्षेप राखेर मनग्य पैसा कमाएको उदाहरण दिँदै शेयर बजारमा लगानी गरे डुबिन्छ भनी धितोपत्र बोर्डकै कार्यक्रममा भाषण गरेको पनि मैले बिर्सेको छैन । अनि आफुले भए भरको पैसा बैंक तथा सहकारीको निक्षेपमा राखेको र घरजग्गामा मात्रै पैसा खन्याएर कुनै कम्पनीको एक कित्ता शेयर नभएको तपाईको सम्पति विवरण पनि मैले हेरेकै हो ।

नेकपाका नेताहरुलाई पूँजी बजार विरोधी बनाउन तपाईले के कस्तो भुमिका खेल्नुभयो भन्ने कुरा पनि राम्ररी थाहा पाएकै हो । यद्यपी त्यतिबेला तपाईले २०४२ सालमै शेयर बजारसम्बन्धी पुस्तक लेखेको भनेर गफ पनि दिन छाड्नु भएको थिएन। विज्ञता ब्यवहारमा लागू नभएपछि सक्किगोनि मन्त्रीज्यू, उल्टो बुद्धिले उल्टै परिणाम दियो ।

शेयर बजारमा लगातारको गिरावट आएर वास्तविक मूल्यमा १० खर्ब रुपैयाँ लगानीकर्ताहरुले गुमाईसकेका छन्, बजार पूँजीकरणको् हिसाबले हेर्ने हो भने त्यो सात खर्ब भन्दा धेरै हुन्छ ।

तपाईले पूँजी बजारलाई प्रताडित गरेका कारण कयौं लगानीकर्ताहरु विगतमा आन्दोलित बने । पूँजी बजार सुधार र विस्तारको माग गर्दै गन्हाउने टुकुचाको छेउमा कठ्याग्रिदो जाँडो खाँदै रिले र आमरण अनशन बस्न म पनि बाध्य भएँ तर तपाईले कथित "शेयर सुन्दरी" समेत परिचालन गरेर अनलाईन खबरमा "राप्रपा र काँग्रेसका कार्यकर्ताहरु शेयरको मूल्य बढाउन अनशन बसेका हुन् "भनेर लेख्न लगाउनु भयो। त्यतिले थेग्न नसकेपछि हतारमा डेपुटी गभर्नरको संयोजकत्वमा कथित अध्ययन समिति गठन गर्नुभयो।

आज त्यो अध्ययन समितिको प्रतिबेदन टुकुचामा बगाउनु भयो कि बाग्मतिमा ? थाहा छैन । तर मैले तपाईलाई जवाफ दिनैपर्छ म कुनै राप्रपा र काँग्रेसको कार्यकर्ता हैन, तत्कालीन नेकपा एमाले र अहिलेको नेकपाको प्रतिबद्ध कार्यकर्ता नै हो। सम्भवतः पार्टी निर्माणमा तपाईको भन्दा मेरो बढी नै योगदान होला , तपाई कर्मचारी र विदेशीका कन्सल्टेण्ट बनेर डलर कमाउँदै गर्दा म पार्टीको काम गरिरहेको थिएँ। काठमाडौंको आरआर क्याम्पस, चितवन जिल्ला पार्टी कार्यालय र पिप्लेमा बुझ्नु भयो भने मैले के गरेको थिएँ भन्ने थाहा पाउनु हुनेछ । 

यहाँ शिक्षा, उमेर, बौद्धिकताले म भन्दा धेरै अगाडि अनि गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदै अर्थमन्त्री समेत भईसक्नु भएको ब्यक्तित्व हुनुहुन्छ, त्यसैले मैले आदर, सम्मान गर्नैपर्छ ।  

तपाईले आफ्ना छोरी ज्वाईँ डा. रामशरण खरेल र खाँटी काँग्रेस मार्काका उत्तरकुमार खत्रीजीको कानेखुशीमा पूँजी बजारलाई ध्वस्त पार्ने योजना बनाउँदा खरो रुपमा प्रतिबादमा उत्रिएको हुँ। यसमा हामी जति जना सशक्त रुपमा प्रतिबादमा उत्रियौं, त्यसमा हरि ढकाल लगायतका साथीहरु नेकपाकै प्रतिबद्ध कार्यकर्ता भए पनि कयौं अन्य फरक आस्था र विचारका थिए तर कुनै राजनीतिक रंग त्यो आन्दोलनमा थिएन । कयौं लगानीकर्ताहरु एमाले र माओबादीलाई नै भोट हालेर सुनौलो बिहानीको प्रतीक्षामा बसेका थिए, नसोचेको धोका पाएपछि डण्डी र दुर्गन्ध सहर्दै अनशन र आन्दोलनमा आए। कयौं लगानीकर्ता कुनै पार्टीमा आबद्ध थिएनन्।  तर तपाईहरुको भजन मण्डलीले हामीलाई बदनाम गर्ने प्रयास गर्यो ।

धितोपत्र बोर्डका अध्यक्षलाई परिचालन गरी मलाई ब्रोकरको १४ करोड बक्यौता तिर्न लगाउने तपाईकै ज्वाई र उत्तरजी हो भनेर मैले तपाईलाई जानकारी गराएको छु । कुन कुन ब्रोकरलाई तिरेँ, हिसाब उहाँहरुबाटै लिनुहोला। 

शेयर बजारमा लगानी गरेर म कंगाल भएको छैन, म डुबेर जोगी बनेको छैन् तर म जस्ता लाखौं ब्यक्तिहरु डुबेर मर्नु र बाँच्नुको अवस्थामा पुगेका छन् ।

यसो भन्दा तपाई र तपाईका भजन मण्डलीबाट के उसो भए "अर्थमन्त्रीले शेयरको मूल्य बढाईदिनु पर्यो? " भन्ने प्रश्नको बर्षा हुने नै छ ।

हामीले त्यसो गर्नुहोस् भनेको हुँदै हैनौं। गर्नुपर्ने काम फटाफट गरिदिनुस् भनेको हो । अध्ययन समितिले तत्काल गर्नुपर्ने भनी सिफारिस गरेका २२ वटा जति काम ६ महिनासम्म पनि नहुँदा नेपालको पूँजी बजारले अकल्पनीय क्षति ब्यहोरेको छ। शेयरको भारित औसत लागतको बारेमा तपाईले गर्ने दुई वाक्यको निर्णयले समस्या समाधान हुनेमा अनेक बहानाबाजी किन गर्नु परेको हो ?

तपाईले भनेका अर्बौ अर्बका कम्पनीको शेयर बिक्ने अवस्था अब छैन, हाईड्रोको शेयर नै ४० प्रतिशत भन्दा बढी बिक्न नसकेर प्रत्याभुतकर्ताहरु थला परिसके। तपाईको उक्साहटमा लगानीकर्ताले १०० रुपैयाँ हालेर किनेको हाईड्रोको आईपीओ अहिले कम्तिमा ३० रुपैयाँ घाटा खाएर ७० रुपैयाँमा बेच्छु भन्दा पनि किन्न कोही तयार नहुने अबस्था आईसक्यो।

तपाईले भने जस्तै विदेशबाट पैसा पनि आएन र बैंकहरुले बिक्रीमा ल्याउने डिबेन्चर पनि बिकेन। अर्थतन्त्र झन् झन् समस्यामा गईसक्यो। आएका विदेशी लगानी पनि फिर्ता जान लागे। सबैतिर चौपट्ट अवस्था देखिदै छ ।

तपाईको अर्थमन्त्रीको पदावधि त अब ४-५ महिना होला तर देश, अर्थतन्त्र र पूँजी बजार त सधैका लागि सबैलाई चाहिन्छ। तपाई अर्थमन्त्रीबाट हटेर कुनै देशको राजदुत हुने विचारमा हुनुहोला वा अरु पद ताक्दै हुनुहोला तर जानुभन्दा अगाडि नै "खति बडा" सामना गरेका लगानीकर्ताहरुलाई राहत पुग्ने गरी निम्न काम गरिदिनुस् ।

१. सीडीएससीको प्रणालीले नै २०७२ पुस मसान्तको मूल्यको आधारमा भारित औसत लागत गणना गरिदिने प्रणाली लागू।

२. नेप्सेमा रहेको सरकारको शेयर तत्काल विदेशी रणनीतिक साझेदारलाई बिक्री गरी विनिबेश गर्ने ।

३. गैर आवासीय नेपालीहरुलाई पूँजी बजारमा लगानी गर्न र लाभांश तथा लगानी फिर्ता गर्ने ब्यवस्थाको तत्काल कार्यान्वयन।

४. विदेशी संस्थागत लगानीकर्तालाई धितोपत्र बजारमा लगानीका लागि भएको ब्यवस्थाको तत्काल कार्यान्वयन।

५. नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई ऐनले नै पूँजी बजारको विकासका लागि काम गर्ने भनी स्पष्ट गरेको हुँदा उनीहरुले आफ्नो कोषको कम्तिमा ४० प्रतिशत रकम पूँजी बजारमा तत्काल लगानी गर्नुपर्ने गरी सरकारी हस्तक्षेप। दुबै संस्थाले तत्काल १०-१० अर्ब रकम दोस्रो बजारमा लगानी गर्नुपर्ने ब्यवस्था गर्ने।

तत्काल अर्थ मन्त्रालयले पाँच अर्ब र अन्य संस्था तथा निकायहरुको समेत सहभागिता हुने गरी एक खर्बको डिलरशीप खडा गरी पूँजी बजारमा हस्तक्षेप ।

तपाईको अर्थ मन्त्रालय, नागरिक लगानी कोष र कर्मचारी संचय कोषमा कोही बिज्ञ छैनन् भने हामी कम्तिमा १० जनाले निशुल्क सेवा दिउँला, कुनै ब्यक्तिगत स्वार्थ नराखी काम गरौला, गल्ति गरेमा जेलमा कोच्नुहोला, त्यो पनि स्वीकार छ, तर यस मामिलामा तत्काल केही  गर्नुस् ।

६. प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुका लागि प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था।

७. कम्तिमा ५० करोड चुक्ता पूँजी नभएका कम्पनीलाई पूँजी बजारमा आईपीओ बिक्रीमा रोक लगाउने। कम पूँजी हुनुका साथै दोस्रो बजारमा २० लाख भन्दा कम कित्ता साधारण शेयर रहेका कम्पनीहरुको मूल्य एक पटकमा १ प्रतिशत र कारोबार दिनभर पाँच प्रतिशत भन्दा कम बढ्न नपाउने ब्यवस्था गर्ने ।

८. बीमा कम्पनी, विकास बैंक र फाईनान्सहरुले समेत अलग सहायक कम्पनी खडा गरी आफ्नो प्राथमिक पूँजीको १० प्रतिशत रकम त्यसमा राखेर पूँजी बजारमा लगानी गर्नुपर्ने र सामुहिक लगानी कोषका ईकाईहरु बिक्रीमा ल्याउनुपर्ने ब्यवस्था गर्ने ।

९. सहकारी संस्थाहरुले सामुहिक लगानी कोषहरुको ईकाई खरिद र डिबेन्चरमा लगानी गर्न पाउने गरी कानूनी ब्यवस्था गर्ने ।

१०. सरकार र नियमनकारी निकायहरुले पूँजी बजारसम्बन्धी निर्णय गर्दा एक आपसमा पर्याप्त गृहकार्य गर्नुका साथै सर्वसम्मति बनाएर मात्र गर्ने। धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकका संचालक सदस्यहरुले सम्बन्धित बिषयमा त्यहीँ अन्तिम राय दिनसक्ने ब्यवस्था गर्ने ता कि निर्णय छिटो होस् ।

११. वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाईसेन्स वितरण गर्नुका साथै हालका शेयर दलालहरुलाई आफुले चाहेका जिल्ला र शहरमा एजेण्ट नियुक्त गरी अनलाईन कारोबार प्रणालीको प्रयोगकर्ता संकेत (युजर आईडी) र गोप्य नम्बर (पासवर्ड) वितरण गर्न सक्ने सुविधा दिने ।

१२. कम्तिमा तीन वर्ष शेयर बिक्री नगर्ने शर्तमा लगानी (ईन्भेष्टमेन्ट) कम्पनी खडा गरी आएर पाँच करोड भन्दा बढी शुरुको लगानी गर्नेहरुलाई लाभकरमा ५० प्रतिशत र आयकरमा ३० प्रतिशत छुट हुने विशेष ब्यवस्था गर्ने ।

यी काम गर्ने सवालमा तपाईले राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र आन्तरिक राजश्वलाई देखाउनु हुनेछ, तर उनीहरु तपाईका आदेशपालक मात्र हुन्, उनीहरु आफै सक्रिय भएर काम गर्दैनन्, तपाईको निर्देशन र ईच्छाशक्ति प्रदर्शन कुरेर बसेका छन् ।

लौन हजुर, सक्रियता देखाईदिउँ, खतिवडाले डुबाए भन्नेहरुलाई कामैले जवाफ दिउँ। प्रधानमन्त्री ओलीलाई बशमा राख्न सक्ने अद्भुत क्षमता र प्रतिभाले सम्पन्न हुनुभएका अर्थमन्त्रीज्यू, तपाईले चाहेमा हुन नसक्ने केही छैन । 

विगतमा दिईएको पूँजी बजार विरोधी अभिब्यक्ति र पूँजीगत लाभकर ५० प्रतिशत बढाउने जस्तो घोर विरोधी कार्य गरेकोमा तपाईलाई पश्चाताप महसुस भएकै देखिन्छ र हालैको बजेटबाट बढाईएको लाभकर फिर्ता पनि लिनुभयो तर पूँजी बजार सम्बन्धी सुधार र विस्तारका काममा तपाईको अझै गम्भीर अरुची देखिन्छ । त्यसलाई हटाएर खुला दिल र दृढ ईच्छाशक्तिले बजारको विकास र विस्तारमा ध्यान केन्द्रित गर्नुहोस् । मर्नुपर्दा खुट्टै तानेर मर्नुपर्छ । 

तपाई आएपछि शेयर बजारमा नयाँ लगानी थपिएन, भएको लगानी पनि झिकेर भाग्नेहरु धेरै भए । माग भन्दा आपुर्ति धेरै भयो। झन् नकारात्मक भाषण, नीति र ब्यवहारले लगानीकर्ताको मनोबल खस्काईदियो । चार वर्षदेखि लगातार गिरावट सहेका लगानकिर्ताहरुको आत्मविस्वास अहिले धेरै धर्मराईसकेको छ यद्यपी तपाईका प्रिय पात्र १० कित्तेहरु बुकुर्सी मारेर साना कम्पनीमा उफ्रिएका किन नहुन्। धितोपत्र बोर्डले पनि यही १० कित्ताको गौरव गाथा तपाईलाई सुनाईरहेको होला । शेयर बजार पहिलो बजार मात्रै हैन, दोस्रो बजार धेरै महत्वपूर्ण हो, दोस्रो बजारलाई बलियो नबनाई पहिलो बजार पनि धरासायी हुन्छ भन्ने ज्ञान आउन ढिला भईसकेको छ । 

पूँजी बजार सुधार र विस्तारको काम गर्न खोज्नेहरुलाई तपाईका ज्वाई र उत्तरजीले उल्टै मुद्धा र लफडामा फसाउन खोज्नु भएको थियो । हैट, यस्तो पाप पनि गर्नुहुन्छ भनेर उनीहरुलाई हप्काउनु होला। 

अर्थमन्त्री ज्यू,  तपाईप्रति कुनै ब्यक्तिगत दुरासय नराखी दिईएका यी सुझावहरु कार्यान्वयन गर्ने हो भने तपाईलाई फेरि अर्कोपल्ट अर्थमन्त्री बनाउनुपर्छ भनेर आवाज उठाउनेहरुमा म जस्ता धेरै लगानीकर्ताहरु हुनेछन् । कुनै  मोहजालमा पर्नुभयो वा दृष्टि नभएको ब्यक्तिले हात्ती छामेको जस्तो पूँजी बजारको समस्या नबुझ्ने "धन्यबाद वक्तब्यवाला"  कथित नेताको हुटहुटीमा लाग्नुभयो वा आफ्नै ज्वाइँ र उत्तरजीहरुको घेरा तोड्न सक्नु भएन वा आफ्नै ढिपी छाड्नु भएन भने अहिले नै "राम राम" भन्नैपर्छ ।

तपाईको पूँजी बजार विरोधी सोच, ब्यवहार र नीतिको चर्को आलोचना गर्ने मध्येको एक लेखक तथा लगानीकर्ताको यो सुझाव पत्रमा कुनै गल्ति लेखिएको भए माफ गर्नुहोला ।

धन्यबाद ।

(यहाँ कसैलाई पनि ब्यक्तिगत गाली गलौज गरिएको छैन, त्यो आशय पनि हैन तर कसैप्रति त्यस्तो भ्रम पर्न गएमा संयोग मात्र भएको बुझिदिनुहुन अनुरोध छ । )

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।