बैंकहरुले २५% बढाएर साढे ६५ अर्ब कमाए नाफा, कुन बैंकको कस्तो छ प्रगति ?

Aug 17, 2019 05:38 PM Merolagani

-तीर्थराज पौड्याल/दीप थापा।
बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा औसतमा २५.३० प्रतिशतले आफ्नो खुद नाफा बढाएका छन्। कूल २८ वटा बैंकमध्ये २५ बैंकले खुद नाफा बढाएका हुन् भने ३ बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ।

  • २८ बैंकले कमाए ६५ अर्ब ४० करोड मुनाफा

गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकले कूल ६५ अर्ब ४० करोड खुद मुनाफा आर्जन गरेका छन्। अघिल्लो आवमा बैंकहरुको यस्तो नाफा ५२ अर्ब १९ करोड रहेको थियो। गत आर्थिक वर्षमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड खुद नाफा आर्जन गरेको छ भने सिभिल बैंकले सबैभन्दा कम ७६ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा धेरै २७० प्रतिशतले बढेको छ भने नेपाल बैंकको १२.६७ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी बैंकको पनि खुद नाफा घटेको छ।

  • सिद्धार्थ बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै घट्यो, सेञ्चुरीको सबैभन्दा कम

अघिल्लो आवको तुलनामा गत आवमा १४ बैंकको वितरणयोग्य नाफा बढेको छ भने १४ बैंकको घटेको छ। गत आवमा २८ बैंकको वितरणयोग्य मुनाफा ४९ अर्ब १४ करोड रहेको छ। बैंकहरुको वितरणयोग्य नाफा अघिल्लो आवको तुलनामा ६.१८ प्रतिशतले घटेको छ।

एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै १५३ प्रतिशत बढेको छ भने सिद्धार्थ बैंकको सबैभन्दा धेरै ६१.१४ प्रतिशतले घटेको छ।

नेप्सेमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३ करोड १८ लाख रहेको छ भने सेञ्चुरी बैंकको सबैभन्दा कम ५३ करोड ५० लाख रहेको छ ।

  • पाँच बैंकको इपिएस घट्यो

गत आर्थिक वर्षमा २३ बैंकले प्रतिशेयर आम्दानी बढाएका छन् भने ५ बैंकको घटेको छ। समग्रमा बैंकको इपिएस औसतमा २६ रुपैयाँ २३ पैसा रहेको छ। अघिल्लो आवको तुलनामा बैंकहरुको इपिएस १५.७८ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा नबिल बैंक, सेञ्चुरी, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, र नेपाल बैंकको इपिएस अघिल्लो आवको तुलनामा घटेको छ। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको इपिएस ५९ रुपैयाँ रहेपनि यो बैंकमा सर्वसाधारणको लगानी नरहेकोले ४८ रुपैयाँ इपिएस रहेको कृषि विकास बैंकको उच्च मान्नुपर्ने हुन्छ। सिभिल बैंकको सबैभन्दा कम साढे ९ रुपैयाँ छ।

  • कुन बैंकको शेयर लगानीका लागि उचित ?

गत आवमा बैंकहरुले चुक्ता पूँजी अनुरुप गरेको मुनाफाका आधारमा निर्धारण भएको प्रतिशेयर आम्दानी र बैंकको असार मसान्तको शेयरमूल्यका आधारमा कृषि विकास बैंकको शेयरमूल्य सस्तो देखिएको छ।

बैंकको मूल्य आम्दानी अनुपात ९.६० गुणा रहेको छ । साधारणतया १५ भन्दा तल पिई रेसियो रहेको कम्पनीको शेयर लगानीका लागि उपयुक्त मानिन्छ। नेप्सेको तीब्र गिरावटले हाल धेरैजसो वाणिज्य बैंकको पिई रेसियो १५ गुणाभन्दा तल नै रहेको छ।

सूचीकृत २७ मध्ये १७ वाणिज्य बैंकको पिई रेसियो १५ गुणाभन्दा कम छ । १० बैंकको पिई रेसियो १५ गुणाभन्दा धेरै रहेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै २१.९० गुणा छ। बैंकको मूल्य आम्दानी अनुपात २९.१७ बाट घटेपनि अझै उच्च छ।

गत आवमा नेपाल बंगालादेश बैंकको पिई सबैभन्दा धेरै प्रतिशतले घटेको छ। बैंकको पिई रेसियो २६ प्रतिशतले घटेर ११.०९ गुणामा झरेको हो। नेपाल बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै बढेको छ । बैंकको मूल्य आम्दानी अनुपात ६.६५ बाट बढेर १२.६२ गुणा पुगेको हो।

  • निक्षेप संकलन वृद्धिमा जनता अगाडि, प्राइम र सेञ्चुरीको घट्यो

जनता बैंकले गत आवमा अन्य वाणिज्य बैंकभन्दा बढी निक्षेप संकलन बढाएको छ। बैंकले २६ प्रतिशतले निक्षेप संकलन बढाएर ७६ करोड संकलन गरेको छ।

निक्षेप संकलन रकमको आधारमा भने राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै एक खर्ब ९० अर्ब र एनआईसी एशियाको एक खर्ब ७६ अर्ब र नबिल बैंकको एक खर्ब ६४ अर्ब रहेको छ। उता प्राइम र सेञ्चुरी बैंकको भने अघिल्लो आवको तुलनामा निक्षेप घटेको छ।

२८ वाणिज्य बैंकले गत आवको असार मसान्तसम्ममा १२.९६ प्रतिशतले निक्षेप संकलन बढाएका छन्। अघिल्लो आवमा २४ खर्ब ७० अर्ब रहेको बैंकको निक्षेप संकलन विस्तार भएर २७ अर्ब ९० करोड पुगेको हो।

  • कर्जा विस्तार औसत १३.३४ प्रतिशतले बढ्यो, २४ खर्ब लगानी

गत आवमा २८ वटै वाणिज्य बैंकको कर्जा प्रवाह रकम बढेको छ । बैंकहरुको औसत कर्जा वृद्धिदर १३.३४ प्रतिशतले बढेर २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो रकम २१ खर्ब १५ अर्ब रहेको थियो।

जनता बैंकले सबैभन्दा धेरै २२.४० प्रतिशतले कर्जा लगानी बढाएर ६६ अर्ब ८४ करोड प्रवाह गरेको छ । रकमका आधारमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एनआईसी एशियाले १ खर्ब ४२ अर्ब र नबिल बैंकले १ खर्ब २९ अर्ब लगानी गरेको छ। सिभिल बैंकको सबैभन्दा कम ४२ अर्ब ६९ करोड कर्जा लगानी रहेको छ।

  • राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा धेरै, १६ बैंकको सुधारियो

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ३.९० प्रतिशत रहेको छ। ११ बैंकको खराब कर्जा अनुपात बढेको छ भने १६ बैंकको घटेर सुधारिएको छ। नेपाल एसबिआई बैंकको ०.२० प्रतिशतमा स्थिर रहेको छ।

कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा अनुपात २ प्रतिशत भन्दा धेरै रहेको छ ।

सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई, माछापुच्छ्रे, एनआईसी एशिया, ग्लोबल आईएमई, नबिल, सिद्धार्थ, एनएमबि, मेगा, प्राईम, कुमारी बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा तल छ।

 

 

(वित्तीय विवरण विश्लेषणमा गत आवको चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण र अघिल्लो आवको पनि अपरिष्कृत वित्तीय विवरण तुलना गरिएको छ। अघिल्लो आवको परिष्कृत वित्तीय विवरण र गत आवको अपरिष्कृत वित्तीय विवरण विश्लेषणमा केही प्रतिशतको तलमाथि देखिन सक्छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।