महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ; कानूनविद्

Oct 02, 2019 07:39 PM RSS

कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिएका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनीहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएका बताएका हुन् ।

नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसद्मा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताए। 

उनले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पारे।  संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान शुरु गर्नुपर्ने र निर्दोष ठहरिए पुनः सांसद हुने नाताले नयाँ सभामुखको निर्वाचनमा उम्मेदवार बन्न पाउने बताए।

उनले अनुसन्धानका क्रममा प्रमाण नपुगेको अवस्थामा प्रहरीले त्यो मुद्दालाई तामेलमा राख्नसक्ने अथवा महान्यायाधिवक्ताले मुद्दा चल्न नसक्ने भनी निर्णय गर्नसकिने बताए। ज्ञवालीले पीडितले जाहेरी नदिए पनि अनुसन्धान प्रक्रिया नरोकिने बताउँदै बलात्कार भएको पुष्टि भए १५ वर्ष, सामान्य भए तीन वर्ष तथा कुटपिट गरेको ठहरिए एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको जानकारी दिए।

 

नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले महराका साथै पीडितको पक्षमा पनि अनुसन्धान गर्नुपर्ने बताए।  पीडित महिलाले महराको चरित्र हत्या गर्ने मनसायले त्यस्तो अभिव्यक्ति दिएको हो भने ती महिलामाथि पनि अनुसन्धान गरी साइबर क्राइमको मुद्दा चलाउन सकिने उनको भनाइ थियो । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका महासचिव लक्ष्मी दाहालले अब सभामुखको नयाँ निर्वाचन हुनुपर्ने तथा महरा र पीडितको पक्षमा अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए।

  • महराकाे राजीनामा सम्बन्धी सूचना प्रकाशित

सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिएकाे राजीनामा सम्बन्धी सूचना प्रकाशित गरेको छ। संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी सभामुख महराले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा पेश गरेका थिए।

उपसभामुख डा. शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावली बमोजिम सभामुख महराको राजीनामा सम्बन्धी विषय बुधबार सूूचना पत्रमार्फत जानकारी गराएको हो। सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचना मार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिईन्। 

रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ। त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ। दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ।

comments powered by Disqus