पूँजीबजारले धितोपत्र बोर्डमा कस्तो व्यक्तिलाई अध्यक्षको रुपमा चाहेको छ ?

Oct 22, 2019 05:49 PM merolagani

केहि दिनदेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । तत्कालीन अध्यक्ष डा.रेवत बहादुर कार्कीको चार वर्ष कार्यावधि समाप्त भएसँगै बोर्डको अध्यक्ष पद खाली भएकाे हाे ।

नेपालको शेयर बजारको सर्वोच्च निकायको अध्यक्ष पदमा कस्तो व्यक्तिले नियुक्ति पाउने होला भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ। बोर्डको अध्यक्ष पदमा मन्त्रिपरिषदको बैठकले नियुक्त गर्ने व्यवस्था भएकाले नियुक्ति पनि राजनैतिक हुनसक्ने आँकलन लगानीकर्ताको छ ।

शेयर बजारको सर्वोच्च निकायको अध्यक्ष पदमा नियुक्ति हुँदा राजनैतिक वा स्वतन्त्ररुपमा जे भए पनि उक्त पदको लागि सक्षम व्यक्ति नियुक्त हुनुपर्ने बिज्ञहरुको भनाई  छ ।

पूँजी बजार एउटा महत्वपूर्ण लगानीको स्रोत भएकाले पूँजीबजारलाई अर्थतन्त्रसँग जोड्न सक्ने र कानुनी र प्रकृयागत सुधारगरी समग्र पूँजी बजारको हितमा काम गर्न सक्ने क्षमता भएकाे अध्यक्षको आवश्यकता रहेको बिश्लेषक अनलराज भट्टराईले बताए ।

उनले भने, पूँजी बजारको दायरा फराकिलो बनाउन आवश्यक काम गर्न बाँकी छ ।

अहिले जुन किसिमले पूँजीबजार अर्थतन्त्र सँग जोडिनु पर्ने थियो त्यो हुन सकेको छैन् र उत्पादनमूलक क्षेत्रलाई समावेस गराउन सकिएको छैन।

शेयर बजारका जानकार दिलिपकुमार मुनंकर्मीका अनुसार  समग्रमा बजारको सही नियमनसँगै समस्यामा साथ दिने र समस्याको गाँठो फुकाउन सक्ने क्षमता भएको अध्यक्षको खाँचो रहेको छ  

अहिलेको अवस्थामा बजारलाई नियमन र सही दिशामा निर्देशित गर्दै लगानीकर्ताहरूको मनोवल बढाउने नेतृत्वको आवश्यकता रहेको भन्दै उनले भने, लगानीकर्ताका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने, नेतृत्व र सहजीकरण गर्न सक्ने अध्यक्ष चाहिएको छ, न कि सरकारले वा सम्बन्धित निकायको निर्देशनमा चल्ने ।

बजारमा धितोपत्र मूल्य र माग तथा आपूर्ति प्रभावित हुने सूचना, कम्पनीका वित्तीय विवरणहरूको परीक्षण र शुद्धताका साथै भित्री सूचनाहरू समेतको लागि आवश्यक संस्थागत क्षमता स्थापित गर्नसक्ने अर्थात बजार भिजिलियन्स, अनुगमन र नियमन दरिलो रूपमा गर्नसक्ने नेतृत्व आजको आवश्यकता रहेको मुनंकर्मीले बताए ।

  • चुनौती के छ ?

शेयर बजारको बर्तमान अवस्थालाई नियाल्दा समग्र लगानीकर्ताको मनोबल खस्किएको छ । यस्तो अवस्थामा बोर्डको अध्यक्षमा नियुक्त हुने व्यक्तिले समग्र पूँजी बजारसहित लगानीकर्ताको मनोवललाई समेत ध्यानमा राखेर काम गर्नु  चुनौतिको  बिषय छ ।

बिश्लेषक  अनलराज भट्टराई भन्छन्, अब बन्ने अध्यक्षलाइ पूँजी बजारको दायरा फराकिलो बनाउनु पर्ने चुनौती हुने छ ।

अर्कातिर  पूँजी बजारलाई छिमेकी देशको तुलनामा लैजानको लागि प्राविधिक विकास, पूँजीबजार प्रयोग विभिन्न किसिमका उपकरणहरु प्रयोग र व्यवस्थापन गर्दै नियमलाई पूँजी बजार सुहाउँदो बनाउनु पर्ने चुनाैति पनि छ ।

नेपालका नियामक निकायहरु एक अर्काको परिपूरक  भन्दा पनि आफ्नो आफ्नो ढंगले काम गर्ने गरेको देखिन्छ । धितोपत्रबोर्डलाई स्वतन्त्र बनाउनु पर्ने आवश्यकता पनि छ । याे पनि अर्काे चुनाैति हाे ।

नेपालको पूँजी बजार सँग सम्बन्धित नियामक निकायहरु एक अर्कामा कार्यगत रुपमा अन्तरसम्बन्धित रहेकाले ती निकायहरुसँग समन्वय र सहकार्य गर्दै  पूँजी बजारको सुधारमा काम गर्नु अब बन्ने अध्यक्षका लागि मुख्य चुनौती हुने विश्लेषकहरु बताउँछन् ।

  • कस्तो व्यक्ति हुन सक्छ बोर्डको अध्यक्ष ?

धितोपत्र बोर्डको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्छ । अध्यक्षको कार्यअवधि बढीमा चार वर्षको हुन्छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार बोर्डको अध्यक्ष पदमा नियुक्त हुनको लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका प्रतिष्ठित व्यक्ति हुन सक्ने व्यवस्था छ ।

बोर्डको अध्यक्षमा नियुक्त हुन राजनैतिक दलको पदाधिकारी, धितोपत्र व्यवसायमा संलग्न, ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको, मानसिक सन्तुलन गुमाएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्तिलाई उक्त ऐनले बन्देज गरेको छ ।

साथै अध्यक्षमा नियुक्त भएको व्यक्तिले बोर्डलाई हानी नोक्सानी पुर्याउने, पूँजी बजारको विकास विपरित हुने गरी काम कारवाही गरेमा सरकारले उक्त पदबाट हटाउने व्यवस्था ऐनमा छ ।

  • अध्यक्ष पदकाे आकर्षण

बोर्डको अध्यक्षयले पाउने तलब भत्ता नेपाल सरकारको विशिष्ट श्रेणीको तलबमा रहने व्यवस्था छ । अध्यक्षले अन्य अधिकृत कर्मचारीले पाए सरह सञ्चय कोषको सुविधाका साथै अध्यक्ष सहित कर्मचारीलाई प्रत्येक महिना औषधि उपचार खर्च प्राप्त हुनेछ भने विरामी परेर अस्पताल भर्ना भएको खण्डमा अस्पतालको विल बमोजिमको खर्च समेत थप पाउने छन् । उक्त रकम अध्यक्षको एक वर्षको तलव बराबरको रहने छ ।

अध्यक्षलाई दुई महिनाको तलब बराबरको रकम र सो रकममा प्रतिवर्ष १० प्रतिशतका दरले थप गरी हुन आउने रकम उनको सेवा अवधि पूरा भए पछि एकमुष्ठ रकम प्रदान हुने छ ।

अध्यक्षलाइ सवारी साधनको सुबिधा हुन्छ भने टेलिफाेन खर्च नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सरह हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।