स्टक डिलरसिपका लागि बास्केट फण्ड खडा हुँदै

Oct 30, 2019 11:13 AM Merolagani



-सुधा देवकोटा।
शेयर बजारमा स्टक डिलरसीपका लागि  बास्केट फण्ड खडा हुने भएको छ। सरकारी स्वामित्वमा रहेका संस्थानहरुले एउटै बास्केट फण्ड खडा गरेर स्टक डिलरसीपको काम सुरु गर्ने तयारी भईरहेको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले मेरोलगानीलाई बताए।

नागरिक लगानी कोषले स्टक डिलरसीपको रुपमा शेयर बजारमा लगानी गर्ने चर्चा चलिरहेको समयमा सरकारी स्वामित्वमा रहेका अन्य संस्थानहरुः कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, बीमा संस्थान, पूर्नबीमा कम्पनी र नेपाल टेलिकम जस्ता कम्पनीहरुले संयुक्त रुपमा एउटै सहायक कम्पनी स्थापना गरेर स्टक डिलरसीपको काम गर्ने तयारी भईरहेको कोषका निर्देशक नेपालले बताए।

उक्त संयुक्त रुपमा स्थापना भएको कम्पनीमा सबै संस्थानहरुबाट फण्ड जुटाएर डिलरसीपको काम गर्ने प्रकृया अगाडि बढेको हो ।

पहिले नागरिक लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम गर्ने तयारी भईरहेको तर कोषमा सञ्चित रहेको रकमले एउटा म्युचुअल फण्डले जति पनि रकम बजारमा लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरुसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रकृया अगाडि बढेको उनको भनाई छ।

पछिल्लो समय बजार लगातार घटेको अवस्थामा अधिक पूँजी बजारमा लगानी गरेर शेयर बजारलाई पुन: स्थीर बनाउन पनि ठूलो पूँजीको आवश्यकता पर्ने भएकाले बास्केट फण्ड खडा गरेर डिलरसीपको काम गर्नपर्ने भएको नेपालले बताए।

बास्केट फण्ड जुटाएर स्टक डिलरसिपको काम गर्ने सोच तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको पालादेखि चलेको देखिन्छ। नागरिक लगानी कोषको नेतृत्वमा बास्केट फण्ड बनाउने, त्यसमा सरकारले पनि लगानी गर्ने, कर्मचारी संचयकोष लगायत निकायबाट फण्ड जुटाएर शेयर बजारमा लगानी गर्ने अवधारणा रामशरण महतले नै अगाडि बढाएका थिए। यद्यपि उक्त प्रकृया हालसम्म पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । 

सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट मार्फत नै नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष, बीमा संस्थान र नेपाल टेलिकम जस्ता कम्पनीहरुलाई बजार निर्माताका रुपमा शेयर बजारमा परिचालन गर्ने व्यवस्था गरको थियो। यसैलाई आधार मानेर कोषले मार्केट मेकर र स्टक डिलरको रुपमा काम गर्नका लागि सरोकारवाला निकाय नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र बोर्डसँग छलफल गरेको थियो।

यद्यपि हालसम्म कुनै पनि निकायले मार्केट मेकर र स्टक डिलरको काम गर्ने बाटो खुला गरेका पाइदैन्। सुझाव समितिले बुझाएको प्रतिवेदनको ५३ नम्बरमा पनि २०७५ चैत मसान्त सम्ममा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता तथा व्यापारीको रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने निर्देशन छ।

शेयर बजार अस्थिर भएको अवस्थामा स्टक डिलरले बजारमा पूँजी परिचालन गरेर बजारलाई स्थीर बनाउन सघाउ पुग्ने भएकाले छिट्टै सरकारले स्टक डिलरसीपको सेवा सुरु गर्नुपर्ने माग लगानीकार्ताको छ ।

सेक्युरिटिज डिलर तथा बजार निर्माता सम्बन्धी अध्ययन गरी प्रतिवेदन धितोपत्र बोर्डमा पठाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए तर पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट यस सम्बन्धमा कुनै प्रतिकृया आएको छैन। 

  • बजार निर्माता तथा स्टक डिलरसिप के हो ?

शेयर बजारमा तरलता (शेयर आपूर्ति) प्रदान गर्न स्थापना हुने कम्पनी नै बजार निर्माता तथा स्टक डिलरसीप हो ।

यसले शेयर कारोबारमा आउने अस्वाभाविक उतारचढावबाट बजारमा पर्ने प्रभाव न्यूनीकरण गर्दै दिगो स्थिरता प्रदान गर्छ। उक्त कम्पनी हरेक समय शेयर खरिद तथा बिक्री गर्न तयार रहन्छ ।

आफूले बजार निर्माण गर्ने धितोपत्रको मूल्यमा अनुचित अस्थिरता हुन नदिने काम पनि बजार निर्माताको हो । आफूले बजार निर्माण गर्ने धितोपत्रको सम्बन्धमा नेप्सेले तोकिदिए बमोजिम कारोबार गर्छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।