कालिका लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, खराब कर्जा भने बढ्यो

Nov 08, 2019 11:08 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ लाख ८३ हजार खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ लाख ४१ हजार बढी हो।

गत आवको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा १२ लाख ४२ हजार मात्र रहेको थियो। गत आवको  तुलनामा खुद ब्याज आम्दानी र संचालन मुनाफा उल्लेख्य बढेपछि लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेको हो।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ७४ करोड ९६ लाख निक्षेप र ९१ करोड २३ लाख सापटीबाट १ अर्ब ८१ करोड ८५ लाख कर्जा परिचालन गरेको छ। यसबाट लघुवित्तले ४ करोड ९ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको यो खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १ करोड १५ लाख ५५ हजारले बढी हो।

जनसेवी लघुवित्त वित्तीय संस्थासंग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको चुक्ता पूँजी १० करोड ८० लाख रहेको छ। लघुवित्तले अघिल्लो आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो। गत आवको मुनाफाबाट भने लघुवित्तले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले १० करोड ५४ लाख ७८ हजार रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ। जुन गत आवको असोज मसान्तको तुलनामा ४ करोड ६९ लाख १९ हजार बढी हो।

सो अवधिसम्ममा ३१ लाख ५५ हजार खराब कर्जा उठाउन सफल यस लघुवित्तको निष्क्रिय कर्जा भने गत आवको तुलनामा ०.२८ प्रतिशत बिन्दुले बढेर २.०३ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ६७ लाख ७२ हजार ७२ हजार रुपैयाँ छुट्याएको छ।

नाफामा भएको उल्लेख्य सुधारका कारण लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको पहिलो त्रैमासको अन्त्यमा ४.९७ रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर २७.७२ रुपैयाँ कायम भएको छ।

लघुवित्तको मूल्य आम्दानी अनुपात २५.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९७.६७ रुपैयाँ रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।