बीमा समितिले गत फागुन २९ गते बीमकको लागि लगानी निर्देशिका २०७५ लागू गरेसंगै लगानीको दायरा पनि विस्तार भएको छ। यद्यपी बीमा कम्पनीहरु भने अझै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप नै सुरक्षित रहेको बताउँछन्।
लगानी निर्देशिका अनुसार लगानीको क्षेत्रहरु धेरै भएपनि अझै वाणिज्य बैंक तथा विकास बैंकको निक्षेप लगानीलाई जोड दिएको सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले जानकारी गराए। उनले भने, लगानी निर्देशिका अनुसार कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार र घरजग्गामा समेत लगानी गर्न सकिने व्यवस्था छ। तर हामीले अहिलेसम्म त्यस्ता क्षेत्रमा लगानी गरेका छैनौं । शेयरमा लगानी गरौ भने बजारको हालत त्यस्तै छ । पछिल्लो समय बैंकहरुको ऋणपत्रमा केही लगानी गरेका छौं। बाँकी बैंक तथा वित्तीय संस्थाको मुद्धतिमै लगानी गरिरहेका छौं।’
यस्तै नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्तेनले पनि बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा ऋणपत्रमा मात्रै लगानी सीमित भएको बताए। लगानी निर्देशिकाले लगानीको दायरा बढाएको भएपनि बीमा कम्पनीहरुको लगानीको लागि अहिले बैंकको निक्षेप तथा ऋणपत्र नै पर्याप्त भएको उनको भनाई छ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले पनि नयाँ कम्पनी भएकोले अहिले बैंक तथा वित्तीय क्षेत्रको मुद्धति निक्षेपमै लगानी गर्दै आइरेको बताए।
लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले सूचीकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने समेत व्यवस्था छ।
यस्तै कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ऋण वा पूँजी समेत लगानी गर्न सकिने व्यवस्था छ।
- लगानीमा पनि नेपाल लाइफ अगाडि, निर्जीवन तर्फ राष्ट्रिय बीमा
जीवन बीमा तर्फ नेपाल लाइफले सबै भन्दा धेरै रकम लगानी गरेको छ। सबैभन्दा धेरै चुक्ता पूँजी भएको इन्स्योरेन्सको खुद बीमा संकलन तथा नाफामा उत्कृष्ट रहँदै लगानी गर्ने जीवन बीमा कम्पनीमा पनि अगाडि देखिएको हो।
इन्स्योरेन्सले यस अवधिमा ७७ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको हो। यो जीवन बीमा अन्तर्गत कूल लगानी रकम २ खर्ब ५८ अर्ब २५ करोड २४ लाख रुपैयाँको ३०.०५ प्रतिशत हो ।
यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ४६ अर्ब ८८ करोड ७९ लाख, नेशनल लाइफले २७ अर्ब ५१ करोड ८ लाख, राष्ट्रिय बीमा संस्थानले २२ अर्ब २ करोड ५४ लाख रुपैयाँ र मेट लाइफले १९ अर्ब २ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ। एशियन लाइफ र प्राइम लाइफले १० अर्ब भन्दा बढी रकम लगानी गर्दा गुराँस र सूर्या लाइफले ६ अर्ब बढीको लगानी गरेको बीमा समितिको तथ्यांक छ।

नयाँ जीवन बीमा कम्पनी मध्ये युनियन लाइफ इन्सयोरेन्सले सबैभन्दा धेरै ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ। रिलायवल लाइफ, सिटिजन लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफले २ अर्ब बढीको लगानी गरेका छन्। बाँकी रिलायन्स लाइफ, प्रभुलाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले ढेड अर्ब भन्दा बढी रकम लगानी गरेका छन्। सबैभन्दा कम महालक्ष्मी लाइफले एक अर्ब ५८ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ।
यता निर्जीवन बीमा कम्पनी तर्फ भने राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै ४ अर्ब ४० करोड लगानी गरेको छ। यो कूल निर्जीवन तर्फ लगानी भएको ३८ अर्ब ५ करोड १० लाख रुपैयाँको ११.५६ प्रतिशत हो।
प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् भने नेको, सगरमाथा सिद्धार्थ, लुम्बिनी जनरल र एनएलजी इन्स्योरेन्सले २ अर्ब रुपैयाँ भन्दा बढी लागनी गरेका छन्। यस्तै हिमालयन जनरल, नेपाल इन्सयोरेन्स, आइएमई जनरल, प्रुडेन्सियल, एभरेष्ट र प्रभु इनस्योरेन्सले एक अर्ब भन्दा बढी रकम लगानी गरेका छन्।

नयाँ सञ्चालनमा रहेका तीन निर्जीवन बीमा कम्पनी सहित युनाइटेड र नेशनल इन्स्योरेन्सले भने लगानी रकम अर्ब पुर्याउन सकेका छैनन्। सबैभन्दा कम नेशनल इन्स्योरेन्सले १ करोड २९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ।