नियामक निकायले कार्यान्वयनमा ध्यान नदिँदा अक्सन मार्केट सञ्चालन तीन वर्षदेखि अलपत्र

Dec 03, 2019 12:05 PM Merolagani

सुधा देवकोटा

धितोपत्र बजारको आवश्यक पूर्वाधारको रुपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले पटक-पटक अक्सन कारोबार कार्यविधि बनाएपनि तीन वर्षसम्म अक्सन मार्केट सञ्चालनमा आउन सकेको छैन। 

उता धितोपत्र बोर्डले तीन वर्षयता वार्षिक कार्यक्रममा अक्सन मार्केट सञ्चालनमा ल्याउने विषय समेट्दै आएकोमा चालु आवको नीति तथा कार्यक्रमबाट उक्त योजना नै हटाएको छ। अक्सन मार्केट सञ्चालनका लागि यसअघि २०७३ सालमा नै नेप्सेले ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा बनाएको थियो भने सो पश्चात धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को मस्यौदा निमार्ण गरेको थियो। तर पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डर नेप्सेबीच समन्वय हुँन नसक्दा दुबै प्रकृया पूर्णता नपाउँदै तुहिए।

अचम्म त के छ भने तीन वर्षदेखि वर्षिक कार्यक्रममा समावेश गरि लागू गर्ने बताउँदै आएको पूँजीबजारको सर्वोच्च निकाय धितोपत्र बोर्डको चालु आर्थिक वर्षको कार्यक्रममा उक्त विषय नै अटाएन।

धितोपत्र बोर्डले अक्सन मार्केट सञ्चालन गर्ने विषयलाई चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना, नीति तथा कार्यक्रममा समावेश गरेको छैन भने पछिल्लो पटक जारी गरिएको सुधारका कार्यक्रममा पनि उक्त विषयलाई कुनै स्थान दिइएको छैन। यसले पूँजी बजारको सर्वोच्च नियामक निकायले  नै अहिले पनि अक्सन मार्केट सञ्चालनलाई आफ्नो प्राथमिकतामा नदिएको स्पष्ट हुन्छ।

ब्रोकर एसोसियनका अध्यक्ष भरत रानाभाट आफ्नो संघले साउन १ गतेदेखि धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लागू भैसकेको सन्दर्भमा कार्यविधिलाई पूर्णता दिई नेप्सेले अबिलम्ब अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्नेमा घच्घचाइरहेको बताउँछन्। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि यो बजारको  आवश्यकता धेरै नै रहेको उनको भनाई छ। यो बजारको सञ्चालनपछि कारोबार रद्ध गर्ने अभ्यास समेत अन्त्य हुनेछ।

हाल धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा पनि अक्सन मार्केट सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ। तर सम्बन्धित जिम्मेवार निकायहरुको प्राथमिकतामा अक्सन मार्केट पर्न सकेकाे छैन भने शीघ्र कार्यान्वयनमा ल्याउने गरि कार्य भएको पनि देखिँदैन।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने अक्सन मार्केट सञ्चालन सम्बन्धी काम समानान्तर रुपमा अगाडि बढिरहेको बताउँछन्। उनले भने, अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धि कार्यविधि बनिसकेको छ। पराजुलीले उक्त कार्यविधिमाथिको छलफल नेप्से सञ्चालक समितिमा भैरहेको बताए।

नेप्से सञ्चालक समितिको छलफलबाट पारित भएपछि उक्त कार्यविधि धितोपत्र बोर्डमा अन्तिम स्वीकृतका लागि पठाइने उनको भनाई छ। उक्त कार्यविधि बोर्डबाट स्वीकृत भएपछि मात्र अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धमा आवश्यक पूर्वाधारहरु निमार्ण हुने प्रवक्ता पराजुलीले बताए।

प्रवक्ता पराजुलीको भनाई अनुसार नै अक्सन मार्केट सञ्चालन गर्ने सम्बन्धि कार्यविधि धितोपत्र बोर्डबाट पारित भएर आएपनि पूर्वाधारहरु निमार्ण तथा अक्सन मार्केट सञ्चालनका लागि सिस्टम तयार गर्नुपर्ने भएकाले  थप समय लाग्ने बुझिन्छ। यसले अक्सन मार्केटबाट कारोबार सुरु हुन भने अझै समय लाग्ने स्पष्टै देखिन्छ। किनकी हालै मात्र धितोपत्र बोर्डमा बल्लन नेतृत्व चयनको लागि दरखास्त आह्वान गरिएको अवस्था छ।

एकातिर नेप्से सञ्चालक समितिमा कार्यविधिमाथि छलफल सकिन नै समय लाग्ने र यसअघि जस्तै  सो धितोपत्र बोर्डबाट कार्यविधिको अन्तिम स्वीकृति पाउन थप समय लाग्नेछ।

यसअघिका मस्यौदाले पूर्णता नपाउँदै त्यसै तुहिएको अवस्थाले पनि इतिहास फेरि तेहेरिन्छ कि भन्ने आशंका पनि देखिन्छ।

यसअघि पनि नेप्सेले अक्सन मार्केट सञ्चालनका लागि तीन वर्ष अगाडि नै ‘अक्सन कारोबार कार्यविधि २०७३’ को मस्यौदा तथा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७४ को मस्यौदा निमार्ण गरि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो। तर नियामक निकायले नै कार्यन्वयनलाई प्राथमिकतामा नराख्दा मस्यौदा स्वीकृत नभई नेप्सेले अक्सन मार्केट सञ्चालनमा ल्याउने सकेको थिएन।

अहिले पनि अक्सन मार्केटको सम्बन्धि कार्यविधिमाथि छलफल गर्ने क्रममा नै नेप्से रहेको र सञ्चालक समितिको छलफलबाट पारित भएपछि धितोपत्र बोर्डमा अन्तिम स्वीकृतका उक्त कार्यविधि पठाएर स्वीकृति पश्चात कार्यान्वयनमा ल्याउने नेप्सेले बताएको छ। तर तीन वर्ष अगाडि पनि धेरै चर्चापरिचर्चा भएपनि बजार सञ्चालनमा आउन नसककाले भन्दै अब भने छिटोभन्दा छिटो अक्सन मार्केटलाई सञ्चालनमा ल्याउनुपर्ने आम लगानीकर्ताको माग छ।

नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल जसरी बोर्डले वार्षिक नीति तथा कार्यक्रम ल्याउँछ त्यस अनुसार कार्यन्वयन गर्न नसकेको बताउँछन्। अक्सन मार्केट मात्र नभएर धितोपत्र बोर्डले ल्याउने गरेको कुनै पनि नीति तथा कार्यक्रम तोकिएको यथासमयमा सम्पन्न हुन नसकेको उनको भनाई छ। जसको असर पछिल्लो समय शेयर बजार तथा लगानीकर्तामा देखापर्ने गरेको उनको भनाई छ।

लम्सालले बोर्ड आफैँले घोषणा गर्ने कार्यक्रमलाई सोही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरि काम गर्ने नेतृत्व अहिलेको आवश्यकता रहेको समेत बताए। जसका लागि पूँजी बजारको सुधार गर्न सक्षम व्यक्तिलाई धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको नियुक्ती गर्नुपर्नेमा इन्भेष्टर्स फोरमले जोड दिँदै आएको उनले बताए।

अक्सन मार्केटमा कारोबार नेप्सेले हेर्ने र शेयर राफसाफको पाटो सिडिएससीको हुन्छ। जस अनुसार नेप्सेले शेयर खरीद बिक्री गर्न छुट्टै विन्डो बनाउनुपर्ने र सिडिएससीबाट पनि राफसाफ गर्ने सम्बन्धमा काम भइरहेको प्रवक्ताको भनाई छ। कारोबार प्रणाली भने हाल सञ्चालन रहेकोे प्रणालीसँग नै कनेक्ट हुनेछ।

सिडिएससी पनि सोमबारदेखि कायम मुकायबाट सञ्चालन भएकाले यसको नेतृत्व चयनमा पनि समय लाग्ने देखिन्छ। आफ्ना मान्छे र राजनैतिक भागवण्डाका आधारमा प्रमुख चयन हुने परिपाटीले पनि जुनसुकै कार्यक्रम कार्यान्वयनमा ल्याउन कठीनाई हुँदै आएको छ। सम्बद्ध निकायहरुबीच नै समन्वय हुन नसक्दा पनि लगानीकर्तालाई अत्यावश्यक रहेको कार्यक्रम लागू गर्न पनि वर्षै लाग्ने गरेको छ।

  • अक्सन मार्केट के हाे ?

अक्सन मार्केटलाई शेयर सापट गर्ने बजारकाे रूपमा  लिइन्छ। शेयर नभएका कारण राफसाफ हुन नसकेको कारोबार अन्य दलाल कम्पनीबाट अक्सन मार्केट मार्फत सापट लिई राफसाफ गराउने प्रक्रिया नै अक्सन मार्केटकाे मुख्य विशेषता हाे। सापटी शेयर पाइने भएकाले याे बजारको सञ्चालनपछि कारोबार रद्द  हुने सम्भावना रहँदैन।

अक्सन मार्केटमा दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताले आफूसँग भएको शेयरभन्दा बढी बिक्री गरेमा अक्सन मार्केट मार्फत खरीद गरि उक्त शेयरको भरपाई गर्न पाउने व्यवस्था हुन्छ। जसले गर्दा लगानीकर्ता क्लोजआउटमा पर्ने सम्भावना रहँदैन।

अक्सन मार्केट सञ्चालन हुने हो भने क्लोजआउटमा परेका लगानीकर्तालाई नपुगेको शेयर बोलकबोल (अक्सन) मा किनेर सेटलमेन्ट गर्न सकिने अवस्था रहन्छ। यदि लगानीकर्ताले अक्सन मार्केटमा पनि शेयर उपलब्ध नभएमा मात्र क्लोजआउटको क्षतिपूर्ति स्वरूप २० प्रतिशत रकम जरीवाना तिर्नुपर्ने हुन्छ।

अक्सन मार्केट मार्फत हुने कारोबारमा धितोपत्र दलाल (ब्रोकर) हरू नै सहभागी हुनेछन् । तर ब्रोकर कम्पनीहरुले आफ्ना लागि शेयर खरीद बिक्री गर्न भने पाउँदैनन्।

धितोपत्र दलालहरूले अक्सन मार्केट खुल्ने समयभन्दा अगावै आवश्यक शेयरको संख्या र मूल्य खुलाई नेप्सेमा पेश गर्नुपर्छ भने खरीदकर्ताले पनि सोही प्रक्रियाअनुसार नेप्सेमा जानकारी गराउँछ। अक्सन मार्केटमा भएको कारोबारको राफसाफ कारोबार भएको भोलिपल्ट गरिनेछ।

अक्सन मार्केटमा सट्टा-पट्टामा सहभागी हुन गएमा, खरीदकर्ता सदस्य दलालहरुलाई उपलब्ध गराउनुपर्ने शेयर सदस्य दलाल स्वयंले राखेमा, अवाञ्छित र भ्रमपूर्ण सूचना सम्प्रेषण गरी धितोपत्रको मूल्यमा असर पर्न गएमा, भित्री सूचनाको आधारमा कारोबार गरेमा र नेप्सेले दिएको निर्देशनहरु पालना नगरेमा कारोबार रद्ध गर्न सक्ने व्यवस्था गरिएको छ।

अक्सन मार्केटमा कारोबार गर्दा नियमित कारोबार सरह शुल्क लाग्नेछ भने कारोबारमा लाग्ने पूँजीगत लाभकर तथा अन्य शुल्क सम्बन्धित पक्षले नै बुझाउनुपर्ने हुन्छ।

  • अस्कन मार्केटकाे समय

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार अक्सन मार्केट प्रत्येक आइतबारदेखि बिहीबारसम्म ३ः३० बजेदेखि ४ः०० बजेसम्म र शुक्रबार ११ बजे देखि १२ बजेसम्म खुला हुन्छ।

त्यसैगरी अक्सन कारोबारमा मूल्य परिवर्तन सीमा अन्तिम कारोबार दिन नियमित कारोबारको अन्तिम मूल्यको अधिकतम १० प्रतिशतसम्म घटी वा बढी हुनुपर्ने व्यवस्था रहेको छ।

यस्तै उक्त अक्सन कारोबारको समय नेप्सेले हेरफेर गर्न सक्नेछ भने सार्वजनिक विदाका दिनमा अक्सन मार्केट बन्द हुनेछ। अक्सन कारोबारमा कायम भएको मूल्यलाई अन्तिम मूल्य तथा बजार परिसूचक गणनामा समावेश गरिएकाे हुँदैन। सम्पन्न भएका कारोबारको राफसाफ कारोबार भएको भोलिपल्ट गर्नुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ।

comments powered by Disqus