शिवश्री हाइड्रोको आईपीओ बाँडफाँड

Dec 10, 2019 12:32 PM Merolagani



शिवश्री हाइड्रो पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ। आईपीओमा आवेदन गरेका सदर आवेदक सबैलाई आवेदन दिएजति शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बाँडफाँड भएपनि सो सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न भने बाँकी छ। केहि समयमा पूर्ण विवरण सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

कम्पनीले निष्कासन गरेको शेयर पूर्ण बिक्री नभएपछि आईपीओ बाँडफाँडमा विवाद भएको थियो। हाइड्रोपावर कम्पनीले सूचना लुकाएको भन्दै प्रत्याभूतिकर्ता र कम्पनीबीच विवाद बढेपछि आईपीओ बाँडफाँड हुन सकेको थिएन।

तर, विवाद नमिलेपनि धितोपत्र बोर्डले आईपीओ बाँडफाँडको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि यस दिन शेयर बाँडफाँड गरिएको हो।

शिवश्रीले ३३ लाख ५१ हजार १ सय ४० कित्ता अर्थात ३३ करोड ५१ लाख १४ हजार रुपैयाँको शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले गत असोज १६ देखि सर्वसाधारणका लागि निष्कासन गरेको कूल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्कासन गरिएको कूल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री हुन बाँकी नै छ। सो शेयर अब प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल र सीबिआईएल क्यापिटलले सकार्नुपर्ने भएको छ।

कम्पनीको आईपीओ बिक्री नभएपछि शेयर प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल, सीआईबीएल क्यापिटल र निष्काशनकर्ता कम्पनीबिच सूचना लुकाएको भन्दै विवाद उत्पन्न भएको थियो।

सूचना लुकाएका कारण बिक्री नभएको शेयर प्रत्याभूतिकर्ताले स्वीकार्न नसक्ने बताएपछि सो विवाद बोर्डमा पुगेको थियो।

कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको थियो।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाले कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत बढ्ने र प्रतिफल पाउन अझै समय लाग्ने देखिएको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।