गण्डक जलविद्युत केन्द्रमा उत्पादन शुरु, क्षमता १५ मेगावाटको उत्पादन ३ मेगावाट मात्र

Dec 31, 2019 09:15 AM RSS

दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन शुरु भएको छ।

नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो।
गत मङ्सिर ३० गतेदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए। केन्द्रमा हाल दैनिक करिब तीन मेगावाट विद्युत उत्पादन हुँदै आएको अवस्था छ।
पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत उत्पादन हुँदै आएको छ। दैनिक १५ मेगावाट विद्युत उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरुपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ।
केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेशिनरीका समान पुरानो भएपछि तीनमध्ये दुई वटा टर्वाइन बिग्रिएर पूर्णरुपमा थन्किएका छन् भने एउटामात्रै (२ नं) टर्वाइन सञ्चालनमा रहेको छ। मर्मतसम्भार नहुँदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं ३ वर्षैदेखि बिग्रेको अवस्थामा छ।
हाल सञ्चालन रहेको २ नं टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ। सञ्चालनमा रहेका एउटा टर्वाइनसमेत पुराना उपकरण र मेसिनरीका कारण लक्ष्यअनुसार विद्युत उत्पादन गर्न सकेको छैन।
नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग नीहित छ । केन्द्रमा रहेको मेशिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ।

केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ। यद्यपि आवश्यकताअनुसार पानी आए पनि र नहरमा राम्रा उपकरण नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरुपमा उत्पादन हुन नसकेको हो। करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरण पुराना रहेका छन्। केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन बृहत मर्मतसम्भार योजना आवश्यक रहेको बताइएको छ। पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ।
दैनिक १५ मेगावाट विद्युत उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ। सो केन्द्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यसअगावै बताउँदै आएका छन्।
उक्त केन्द्रमा रहेको सबस्टेशनमार्फत विद्युत भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीका बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ। उक्त विद्युतगृह सन् १९७९ बाट सञ्चालनमा आएको थियो। सम्झौताअनुसार पावर हाउस सन् १९८१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत केन्द्रका अधिकांश भवन र संरचना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन्।
केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करिब ५० कर्मचारी कार्यरत छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।