अल्पकालीन लगानीकर्ताले गरे ‘प्रोफिट बुक’, नेप्से करेक्सन हुँदा पनि दुई कम्पनीमा सकारात्मक सर्किट

Jan 14, 2020 03:32 PM Merolagani



अल्पकालीन लगानीकर्ताहरुले ‘प्रोफिट बुक’ गरेसँगै मंगलबार नेप्से परिसूचकमा करेक्सन भएको छ। बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका हुन्।

गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको नेप्से, पछिल्लो तीन कारोबार दिनहरुमा ६१ अंक बढेको थियो। सोही मौकामा अल्पकालीन लगानीकर्ताहरुले सस्तोमा खरिद गरेको शेयर बिक्री गरी नाफा सुरक्षित गरेका हुन्। बजार बढेपछि करेक्सन हुनु स्वभाविक हो।

वित्तीय क्षेत्रमा तरलता सहज भएसँगै बजार बढ्न थालेको छ। तरलता बढेपछि बैंकहरुले ब्याजदर घटाउन थालेका छन् जसको सकारात्मक प्रभाव पूँजी बजारमा परेको छ। यसका साथै, दोस्रो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरुले नाफामूलक वित्तीय विवरण प्रकाशित गर्ने अपेक्षाले पनि बजारलाई बढ्न टेवा पुगेको छ।

मंगलबार नेप्से परिसूचक ७.४८ अंक घटेर एक हजार २६३.३८ विन्दुमा झरेको छ। यस दिन १८३ कम्पनीको ११ हजार ३१० पटकको कारोबारमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सेन्सेटिभ इण्डेक्स यस दिन २ अंक, फ्लोट इण्डेक्स ०.५९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

बजारमा करेक्सन भएपनि यस दिन दुई कम्पनीहरुको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो। मञ्जुश्री फाइनान्सको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, नेपाल फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य क्रमशः ७.२६ र ६.७४ प्रतिशत बढेको छ।

यस दिन दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.६ प्रतिशत गुमाएका छन्। वरुण हाइड्रोपावर सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर र आशा लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शिर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २ पटकको कारोबारमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर म्याचिङ्ग करोबार भएको हो। कम्पनीको ९ लाख कित्ता संस्थापक शेयर ब्रोकर नम्बर ५८ ले बिक्री गरी ब्रोकर नम्बर ४३ ले खरिद गरेको हो।

नागरिक लगानी कोषको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, डिप्रोक्स लघुवित्त र प्रभु बैंकको सर्वसाधारण शेयरको कारोबार रकम यस दिन २ करोड नाघेको छ।

मंगलबार व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ९.१५ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, होटल, अन्य र विकास बैंक उपसमूहका परिसूचक बढेका छन् भने बाँकी उपसमूहका परिसूचक घटेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।