डाक्टर बन्न हिँडेकी सरिता इन्जिनियर बनिन्, त्यसपछि प्रगतिकाे जग खनिन्

Feb 08, 2020 10:34 AM Merolagani

ज्याेति शाह।

सरिता श्रेष्ठ नेपाल दुरसञ्चारकाे फर्स्ट क्लास अफिसर हुन्। धेरै सरितामध्यकी एक पृथक नारी हुन्, सरिता। जीवनको हर उतारचढाव पार गर्दै आज नेपालकै एक प्रतिष्ठित संस्थाको जिम्मेवार पदमा आसिन छिन्, उनी।

सरिता नेपालको ग्रामीण क्षेत्रमा सञ्चार क्षेत्रको विकासका लागि स्थापना गरिएको “ग्रामिण सञ्चार विकास कोषकी परियोजना प्रबन्धक हुन्। नेपाल दुरसञ्चार प्राधिकरणले हाल सरिता र उनको टिमलाई प्रदेश नं १, २ र ३ को २९ जिल्लाको फाइबर नेटवर्क तयार गर्ने परियोजनाको जिम्मा दिएको छ। २ वर्षको परियोजनालाई स्थानीय तहसम्म पुर्याउने सरिताको धोको छ। उनको अर्को लक्ष्य यो प्रोजेक्टलाई सफल बनाउने छ। यसका लागि उनी र उनका टिमले अथक मिहिनेत गरिरहेकाे छ। फाइबर पुर्याउने योजना विस्तार गर्दै प्रदेश ६ र ७ को लागि पनि उक्त योजनाको नेतृत्व सरिताले नै गर्नेछिन्। 

  • बुवा नै सरिताको प्रेरणापुञ्ज 

२०२४ साल माघ १४ गते स्याङ्जाको पुतलीबजारमा जन्मेकी सरिता बाल्यकालदेखि नै पढाईमा अब्बल थिइन्। सरिताको बाल्यकाल स्याङ्जा र बर्दियामा आधा आधी बित्यो। उनको परिवार समाजका हिसाबले अलि पृथक थियो। उनका बुवा कृष्णगोपाल श्रेष्ठ व्यापार गर्थे र शिक्षाका कुरामा एकदम सचेत थिए। विशेषगरी शिक्षादेखि वञ्चित रहेकालाई सहयोग गर्ने उनकोे स्वभाव थियो। आमा मखमली श्रेष्ठ भने घर धन्दामा सीमित थिइन्। प्रत्यक्ष रूपमा व्यवहारमा नजोडिए पनि सरिताले हरकुरामा अनुमति भने आमासँग नै माग्नुपर्थ्यो। 

सरिता ९ वर्षको हुँदा बुवासँग व्यापारको सिलसिलामा बर्दियाको दुर्गम गाउँ सितापुरमा गईन्। २ वर्ष उतै बसिन्। बुबा सदैव सरिताको अध्यनतर्फ नै ध्यान दिन्थे। उनका लागि विद्यालयदेखि ट्युसनका शिक्षक खोज्नेसम्म उनैले गर्थे। आर्थिक हिसाबले सबल भएकाले पनि सरिताले बाल्यकालमा कुनै कठिनाई झेल्नु परेन। कारण, उनका बुवा कृष्ण जो हर समय आफ्ना छोराछोरीका समस्याका सामु ढाल बनेर उभिन्थे। 

गुणस्तरीय शिक्षाको लागि सरितालाई बुबाले फेरि स्याङ्जामा फिर्ता पठाए। दाइ, दिदी र भाइका तुलनामा मिहेनत कम गरेपनि उनले सधैँ विद्यालय टप गर्थिन्। सरकारी विद्यालयमा अध्ययन गरे पनि अंग्रेजी, गणित र विज्ञानमा उनी तेज थिइन्। सरिताको बुवाको लक्ष्य थियो उनलाई डाक्टर बनाउने। त्यसैका लागि बुबाले उनलाई हर सुविधा र अवसर दिएर तयार बनाउँदै थिए।

अन्तत: लक्ष्यको एक चरण पार गर्दै सरिताले स्याङ्जाबाट २०३९ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्। छोरीलाई सेतो एप्रोन लगाएर स्टथेस्कोपले बिरामी जाँचेको देख्ने सपना आँखाभरि सँगालेर बुबा कृष्ण र सरिता काठमाडौँ भित्रिए। सोही लक्ष्य अनुसार विज्ञान संकाय नै सरिताको रोजाई हुनपुग्योे। नाम निस्केका अन्य दुई क्याम्पस छोडेर सरिता अमृत साइन्स क्याम्पसमा भर्ना भइन्। ठमेलमा कोठा भाडामा लिइन्। बाटो चिन्न, खाना बनाउन र लुगा धुन समेत बुबाले नै सरितालाई सिकाए र घर फर्किए।

  • जीवनकै ठूलो बज्रपात

प्रवन्धक सरिता श्रेष्ठको जीवनमा अचानक ठूलो बज्रपात पर्यो। उनको जीवनका मार्गदर्शक उनका बुबाको दुर्घटनामा परि निधन भयो। जाडो बिदा परिवारसँग बिताएर फर्केकी सरितालाई यो अप्रत्याशित खबरले महिनौँ दिन अचेत बनायो। उनी गम्भीर मुद्रामा सम्झिन्छिन् “मलाई केही याद नै छैन। म केही समय शकमा नै रहेँ।” 

उनीसँगै उनकी आमालाई पनि त्यो पीडा असह्य भयो। घर व्यवहार डामाडोल भयो ,व्यापार पुरै खस्कियो। अब सरितालाई पढाउन निकै जटिल भयो। आर्थिक हिसाबले परिवार डुबिसकेको थियो। त्यसैताका, सरितालाई आफन्तका माध्यमबाट विवाहका प्रस्ताव पनि आए। तर सरिताकी आमाले मानिनन्। कलिलै उमेरकी छोरी, त्यसमाथि पढाइमा तेज छोरीलाई विवाहको बन्धनमा बाँध्न उनको मनले मानेन।

परीक्षाको रूटिन निस्केपछि सरिता भाइ लिएर काठमाडौँ आइन्। हर किसिमले जटिल अवस्थामा रहे पनि उनले  पास गरिन्। पछि उनले बुबाको ईच्छा र हौसला सम्झिँदै पढ्नमा जोड दिइन्।

सरिताको जीवनमा प्रेरणा दिने बुबाले पहिले आफुलाई लेखेको चिठी अहिले पनि हेर्ने गरेको उनी बताउँछिन्। ती चिठीको मसी अहिले पनि जस्ताको तस्तै छ, जस्तो बुबा गुमाएको पीडा उनको मनमा ताजा नै छ। आजको उपलब्धि सरिताको बुबाले हेर्न पाउनु भएको भए के भन्नुहुन्थ्याे होला भन्ने प्रश्नको जवाफ सरिता मनमनै आफैसँग खोज्छिन्।

सरिताको आमाले बिस्तारै घर व्यवहार सम्हालिन्। ढोकाबाट भाइहरूले पढेको सुनेर साक्षर भएकी सरिताकी आमाले हिम्मतका साथ डुबिसकेको परिवार र घरलाई उकासिन्। बुबा जीवित रहँदासम्म आमाको भूमिका खासै नभएपनि आमाले पछि पुरै बागडोर सम्हालिन्। सरिताको परिवारले बुबा बितेको दश बर्षसम्म नै आर्थिक अभाव र तनाब झेल्नुपर्यो। 

नेपाली माध्यममा पढेकाले आईएससी अंग्रेजी माध्यमबाट पढ्दा केही कठिनाई झेल्नुपरे पनि उनले आईएससी ७० प्रतिशतसहित पास गरिन्। 

सरिताको बाल्यकालदेखि डाक्टर बन्ने उद्देश्य पुरा गर्ने समय आएको थियो। शिक्षण अस्पताल  महाराजगञ्जमा परीक्षा दिइन्। यद्यपी सपनाले स्वरूप लिन पाएन। उनको १५ जना भित्र छात्रवृत्तिका लागि नाम निस्केन। उनको लक्ष्य त्यत्तिकै रह्यो। 

तर १२ कक्षामा एक्स्ट्रा दिएको गणितको परीक्षा र परीक्षाको एक दिनको मिहेनतले उनको जीवनलाई अर्कै मोड दियो। ख्यालख्यालैमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दिएको प्रवेश परीक्षामा अन्तिम नम्बरमा उनको नाम निस्क्यो। उनी भर्ना भइन्। डाक्टर बन्न हिँडेकी सरिताको बाटो मोडिएर इन्जिनियरिंग कलेजको सिटमा पुग्यो। भर्ना भइसकेपछि पनि उनलाई भारतमा चिकित्सा विज्ञानको अफर आयो। तर उनलाई पढाई छोडेर विदेश जान मन लागेन। महिला आरक्षणमा पुल्चोक क्याम्पसमा भर्ना भएकी सरिताका लागि मौका नपाएकालाई आरक्षण महत्वपूर्ण हो भन्ने लाग्याे र त्यसपछि आफ्ना लागि भने उनलाई कहिल्यै आरक्षणको जरूरत परेन। उनको पढाईले कहिल्यै आरक्षणको मौका माग्नुपर्ने अवस्था नै दिएन।

सानै देखिकी टपर सरिताले इन्जिनियरिङ क्याम्पसमा पनि प्राय कक्षा टप गरिन्। २०४७ सालमा उनको सिभिल इन्जिनियरिङको अध्ययन सकियो। उनी दोश्रो टपर भइन्। ऐश्वर्य विद्या पदकले सम्मानित भएर स्वर्गीय बुबाको अधुरो ईच्छा पुरा गरिन् सरिताले। 

  • जागिर यात्रा

पढाई सकिएपछि सरिताले जागिरका लागि दुई ठाउँमा बायोडाटा पेश गरिन्। तर पहिलो जागिर नेपाल सरकारको नेपाल इन्जिनियरिंग कन्सलटेन्सी सर्भिसेज लिमिटेडमा गरिन्। उक्त कम्पनीका चिफ शिवराम प्रधानांगकसँगको ७ या ८ मिनेटको भेटमै उनलाई जागिरको अवसर मिल्यो। २ हजार ४ सय ५० रूपैयाँ तलब लिएर उनले तेश्रो तहको अफिसरका रूपमा काम थालिन्। इन्जिनियरिङ सुपरभिजन गर्ने काम पाएकी सरिताले करिब ३ महिना उक्त संस्थामा काम गरिन्। त्यो समयमा उनी बाहेक उनका अन्य साथीले जागिर पाएनन्।

पछि २०४८ सालमा सडक विभागको परिक्षामा नाम निस्केपछि बर्दिया जिल्लामा अस्थायी रूपमा काम थालिन। त्यो बेला सिडिओ कार्यालयमा प्रत्येक महिना ब्रिफ गर्न जाने उनी एक्ली महिला कर्मचारी थिइन्। कर्मचारी र स्थानीयबाट सहयोग पाएर कर्तव्य निर्वाह गरेकी सरिताले पछि स्थायी जागिरे हुन लोकसेवा अन्तर्गत परीक्षा दिइन् तर उनको नाम निस्केन।

त्यसपश्चात उनले स्याङ्जाका अर्जुन कुमार श्रेष्ठसँग २०५० सालमा विवाह गरिन्। सरिताभन्दा सिनियर थिए अर्जुन, जो इलेक्ट्रोनिक्स इन्जिनियर हुन्। विवाहपछि सरिता काठमाडौं फर्किन्। सरिता सम्झिन्छिन् “२०४६ सालको आन्दोलनले प्रोजेक्ट नपाएका कारण इन्जिनियरले जागिर पाउन निकै कठिन थियो।” तर उनले अन्य इन्जिनियर साथीभाईका तुलनामा कठिनाई झेल्नुपरेन। सरिताकै क्षमता र अनुभवका आधारमा उनलाई बिडिए कन्सलटिङ कम्पनीमा जागिर दिइयो। उक्त संस्थामा ५ महिना काम गर्दा गर्दै नेपाल दूरसंचारमा आवेदन खुल्यो।

  • नेपाल दूरसंचार र पदोन्नति

आवेदन खुलेसंगै सरिताले  सेवा र सुविधाका हिसाबले सुरक्षित भएकाले प्रवेश परीक्षा दिने निधो गरिन्। उनको मेहनत अनुसार उनी नेपाल दूरसंचारको तेश्रो तहको अफिसरको रूपमा छानिइन्। बढुवा हुँदै जाँदा सरिताले सातौँ तहमा धेरै वर्ष बस्नुपर्यो, कारण दरबन्दी थिएन। पछि दरबन्दी आयो र उनको आठौँ तहमा प्रोमोशन भयो। नवौँ तहमा बढुवा हुन महिलाकालगि ३ वर्षको अनुभव आवश्यक थियो भने पुरूषकालागि ४ वर्ष। यो अवसरलाई सरिताले महिलाका लागि उपयुक्त वातावरणका रूपमा लिइन। अवसरलाई सदुपयोग गर्दै उनी नवौँ तहमा बढुवा भइन्। नवौंबाट दशौं अर्थात फस्ट क्लासमा आउनका लागि भने उनलाई अलिकति मेहनत गर्नु। तर बढुवा भएर नै छाडिन्।

हाल सरिता नेपाल ग्रामीण संचार विकास कोषकी परियोजना प्रवन्धक रहेर काम गरिरहेकी छिन्। करिब ८ महिना उनले घरतिर पनि खासै ध्यान दिन पाइनन्। यसै योजनालाई सफलताका साथ पूरा गर्ने सरिताको योजना छ।

परियाेजना प्रवन्धक श्रेष्ठको परियोजनका प्राय काम गोप्य र धेरै हुने गरेकाले राति ८, ९ बजेसम्म पनि काम गर्छिन्। उनी जिम्मेवारीका कुरामा कुनै सम्झौता गर्न चाहन्नन्।

  • महिला नेतृत्वका चुनौती र ती चुनौतीका सामना

सरिताले हर किसिमको चुनौतीको सामना गर्नसक्छु भन्ने अठोटकासाथ यस क्षेत्रमा आएको बताइन। महिला भएर नै विशेष अधिकार पाएकाले  सरिता आफुलाई भाग्यशाली ठान्छिन्। उनी सुनाउँछिन् “सबै असल र सहयोगी मानिससँग भेट भयो। घर,परिवार,साथी भाईदेखि हाकिम या कर्मचारी सबै सहयोगी पाएँ। कहिल्यै विभेद नै खेप्नुपरेन।”

तर सधैँ मिठो अनुभव मात्र त कसको हुन्छ होला र? एक तितो अनुभव पनि सुनाइन् सरिताले “वातावरण सम्बन्धि एक परियोजनामा आवद्ध हुँदा केही अप्ठ्यारो महसुस गरेँ। एक सहकर्मीबाट केही नकारात्मक आशयका कुरा र हाउभाउ पाएँ। मलाई ठिक लागेन।” त्यो उनको जीवनको पहिलो र अन्तिम तितो अनुभव थियो। उनले थपिन् “त्यसपछि मैले मेरा हाकिमलाई बेलीबिस्तार लगाएँ। उहाँले मेरो सुरक्षाका लागि ती अर्का सहकर्मीभन्दा बेग्लै स्थानमा कुर्सी लगेर राखिदिनुभयो।”

यस्तो अनुभवका भोगेका कारण सरिताले हर किसिमका महिला हिंसा, उत्पीडन या दुरूपयोगबाट बच्नका लागि सकेसम्म आफै सर्तक रहनुपर्ने र प्रतिक्रिया जनाउन अत्यन्त आवश्यक रहेेेको बताउँछिन्। यद्यपी, अहिलेको समयमा भइरहेका बलात्कारका दुर्घटनाले भने उनलाई समेत तर्साएको छ। उनी कार्यालयकै कामले रातिसम्म बस्नुपर्यो भने परिवारको साथमा मात्र घर जाने गरेको सुनाउँछिन्।

उनले कामका सवालमा केही संकुचित विचार राखेका पुरूषका सामु खुलेर नै विरोध गर्ने गरेकी छिन्। “फिल्डमा छोरी मान्छे जाँदैनन्, अफ्ठ्याराे हुन्छ, महिलालाई जागिरमा राख्दा सुत्केरी बिदाका कारण धेरै दिन विदा बस्छन्” भनेर धारणा बनाउनेलाई उनी सकरात्मक हिसाबले सम्झाउने गर्छिन् र कहिलकाँही भने उनी रूखो पनि बन्छिन्। 

महिला भएकै आधारमा क्षमता माथि शंका गर्ने सोचका व्यक्तिले भने उनलाई आजका दिनसम्म खुलेर प्रश्न र्तेसाउन सकेका छैनन्।

सरिता दरिलो भावमा भन्छिन् ," सचेत भएर काम गरेमा समस्या आउनै सक्दैन। पुरूषसरह काम गर्ने भनेर आएका हौँ। सब चुनौती पार गर्दै आफुलाई प्रमाणित गर्नैपर्छ।”

  •  हिम्मत भएकी महिला सरिता

 नेपाल दुरसंचारकी फर्स्ट क्लास अफिसर सरितालाई पनि कहिले काँही व्यक्तिगत कुराले तनाव हुन्छ तर उनले जीवनमा कहिल्यै हार मान्दिनन्। पेप्सीकोला प्लानिङमा श्रीमान र छोराका साथमा बस्ने सरिताले मौका मिलेसम्म समाजसेवा गर्छिन्। 

उनी आजको दिनसम्मको सफलताकालागि सहयोग गर्ने श्रीमान र परिवारप्रति आभारी छिन्।

पेशामा उनको लक्ष्य र दर्शन पनि स्पष्ट छ,“निर्देशक त बन्नु नै पर्ने हो। भविष्यमा समय र परिस्थितीले साथ दियो भने डिजी,एमडि पनि त हुनैपर्यो नि !” आत्मविश्वासका साथ भन्छिन् उनी।

बुवाको मृत्यु,दाईको मृत्यु, आफ्नै स्वास्थ्य, सरितालाई तनावले छोडेन तर उनी कमजोर भइनन्। हरपल हिम्मत जोड्दै नेपाल दूरसंचारको प्रवन्धकको जिम्मेवारी सम्हाल्न पुगिन् उनी।

उनको जीवन भोगाइले लाखौँका लागि उर्जा दिनसक्छ भन्नेमा कुनै शंका छैन। वाल्यकाल सुखसयलमा बितेका बच्चाहरूले भविष्यमा आइपर्ने हण्डरलाई कसरी व्यवस्थापन गर्न सक्लान भन्ने सवालमा सरिता एउटा पाठ बनेकी छिन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।