प्रतिरोध विन्दु तोडेर उक्लिएसँगै नेप्से २१ महिना यताकै उच्च विन्दुमा

Feb 16, 2020 04:02 PM Merolagani



गत साता एक हजार ३५० प्रतिरोध विन्दु परीक्षण गरी बारम्बार फर्किएको नेप्सेले, यस साताको पहिलो कारोबार दिन नै सो प्रतिरोधलाई तोडेर माथि उक्लिएको छ।

बजारमा खरिदकर्ताहरुको चाप बढ्न थालेसँगै नेप्सेले सो प्रतिरोध विन्दु तोड्न सफल भएको हो। सो प्रतिरोध विन्दु तोडेर उक्लिएसँगै नेप्से २१ महिना यताकै उच्च विन्दुमा पुगेको छ। यस अघि २०७५ बैशाख २५ गते १ हजार ३६६.१५ विन्दुमा बन्द भएको थियो।

आगामी दिन नेप्सेले १ हजार ३९१ विन्दुमा नेप्सेले प्रतिरोधको सामना गर्ने एक विश्लेषकले बताए।

यस दिन नेप्से १९.३९ अंक बढेर एक हजार ३६३.९७ विन्दुमा पुगेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन १७६ कम्पनीको १८ हजार ८८५ पटकको कारोबारमा १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बजारमा उत्साह छाएसँगै यस दिन ५ कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन राधि विद्युत कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ९.४६, ङादी ग्रुपको ९.२४ प्रतिशत, नेपाल हाइड्रो डेभलोपर्सको ९.२३ र राष्ट्रिय बीमा कम्पनीको ९.१० प्रतिशत बढेको छ।

आइतबार करिब २ अर्बको कारोबार हुँदा हिमालयन डिष्टिलरी र शिवम सिमेन्ट्को सर्वाधिक शेयर खरिदबिक्री भएको छ। हिमालयन डिष्टिलरीको यस दिन १८ करोड बराबरको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको १३ करोड बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, नेपाल लाइफको यस दिन करिब साढे ९ करोडको शेयर कारोबार भएको छ।

यस दिन बीमा उपसमूहहरुको परिसूचक सर्वाधिक बढेको छ। निर्जीवन बीमाको परिसूचक यस दिन ६.७२ प्रतिशत र जीवन बीमाको ५.२२ प्रतिशत बढेको छ। यस दिन उत्पादन र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापरको १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन एभरेष्ट बैंकको शेयर धेरै लगानीकर्ताहरुले खरिद गर्न चाहेको देखिएको छ। आजको मोस्ट पपुलर बाईमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। भने महिला सहयात्रा माइक्रोफाइनान्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त र इन्फिनिटी माइक्रोफाइनान्स क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्।

त्यसैगरी, मोस्ट पपुलर सेलमा आज नेशनल हाइड्रोपावर अगाडि रहेको छ भने स्पर्श लघुवित्त, नेपाल एसबिआई बैंक, नेपाल इन्भेष्टमेन्टको संस्थापक शेयर र बैंक अफ काठमाण्डूले पछ्याएका छन्।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।