एक सातामा लगानीकर्ताले गुमाए १ खर्ब ३७ अर्ब

Mar 20, 2020 12:50 PM Merolagani



यस साता लगानीकर्ताले १ खर्ब ३७ अर्ब ७८ लाख रुपैयाँ गुमाएका छन्। ५ कारोबार दिन नै खुला रहेको बजारमा नेप्से परिसूचक ३ कारोबार दिन उच्च अंकले घटेसँगै लगानीकर्ताहरुले सो रकम गुमाएका हुन्।

गत साताको अन्तिम कारोबार दिन १७ खर्ब ६१ अर्ब २५ करोड रहेको कूल बजार पूँजीकरण यस साता घटेर १६ खर्ब २३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

यस साता नेप्से परिसूचक १०७.८८ अंक घटेर एक हजार २६९.३० विन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से एक हजार ३७७.१८ विन्दुमा बन्द भएको थियो।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपाली शेयरबजारमा पनि परेको ब्रोकरहरु बताउँछन्। कोरोनाको प्रभाव समग्र अर्थतन्त्रमा नै पर्न सक्ने भएकोले लगानीकर्ताहरुको मनोबल घटेको उनीहरुको भनाइ छ। यस्तो अवस्थामा केही लगानीकर्ताहरु केही समयका लागि बजार बन्द गर्नुपर्ने माग सहित नियामक निकाय पुगेका छन्। तर, सरकार र नियामक निकाय भने बजार बन्द गर्ने मनस्थितिमा छैनन्। नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सतर्कता अपनाई घरमै बसी अनलाइन मार्फत कारोबार गर्न अनुरोध गरेको छ।

यस साता बजारमा १८६ कम्पनीको ९३ हजार १२१ पटकको कारोबारमा ८ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकम र कारोबार संख्याका आधारमा यस साता पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो कम्पनीको यस साता ४ हजार ४३९ पटकको कारोबारमा ६० करोड ८५ लाख रुपैयाँ बराबरको १० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। शेयर संख्याका आधारमा भने यस साता एनएमबि बैंक अगाडि रहेको छ। सो बैंकको यस साता १० लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

फ्लोरसिटका आधारमा यस साताको मोस्ट पपुल बाई स्टक मल्टीपर्पस फाइनान्स, गुराँस लघुवित्त, पोखरा फाइनान्स लगायतका रहेका छन् भने मोस्ट पपुलर सेल स्टकमा सेन्ट्रल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी आदि रहेका छन्।

यस साता कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९९६.१५ अंक घटेको छ। त्यसैगरी, यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक ७३६.६६ अंक घटेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।