‘त्यो बेला नेपाल इन्स्योरेन्सको शेयर १० रुपैयाँ प्रतिकित्तामा पाईन्थ्योे’

Mar 21, 2020 01:29 PM Merolagani

ज्योति शाह

काठमाडौंको भेडासिंहमा सन् १९५६ मा जन्मिएका निरन्जन टिबडेवाल शेयर बजारमा पाका लगानीकर्ताका रुपमा परिचित छन् । जंग बहादुर राणा प्रधानमन्त्री भएको बेला तीन मारवाडी परिवारलाई नेपालमा व्यापार गर्न बोलाइएको थियो । तीन मध्येका एक परिवार निरन्जनका बुवा जुगल किशोर टिबडेवालको  पुर्खाको थियो ।

उनका जिजुबुवा तथा हजुरबुवाले व्यापार गरेर डोकोमा चाँदीको मोहोर बोकेर ल्याएको निरन्जन अहिले पनि सम्झन्छन् । जर्मनी, जापान तथा लण्डनबाट कपडा आयात गर्ने गरेको पनि उनको स्मरणमा ताजा छ । नेपालमा पेट्रोलियम व्यवसायलाई सर्वप्रथम निरन्जनकै परिवारले सुरुवात गरेका थिए । शंकरदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातकोत्तर गर्ने उनी पहिलो ब्याचका निरन्जन महेन्द्र विद्या भुषण पदकबाट विभुषित छन् ।

नेपाल, फ्रान्सको संयुक्त लगानी रहेको इण्डोसुएज बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बीमा कम्पनी,एसबिआई बैक, एभरेष्ट इन्स्योरेन्सका निर्देशक भईसकेका उनी अहिले सोल्टी होटलका निर्देशक हुन भने एम बि पेट्रोल्युब उद्योग उनको व्यापार हो । उनी नेपाल सरकार मातहतका उच्चस्तरीय कर प्रणाली समीक्षा आयोगका सदस्य पनि थिए । नेपालको कर्पोरेट क्षेत्रमा नीति संशोधन तथा नयाँ नीति निर्माण गर्ने थोरै मध्येका एक हुन् निरन्जन । नेपालमा ग्रामिण विकास बैंकको अवधारणा अघि सार्ने पहिलो व्यक्ति उनलाई कर प्रणालीको डिजाइनको श्रेय पनि जान्छ।

निरन्जन पुराना शेयर लगानीकर्ता हुन् । निरन्जनकोे जीवनमा शेयरको महत्वपूर्ण भूमिका रहको उनी बताउँछन् । तथापि केवल नाफा आर्जनका लागि मात्र भने शेयर खरिद नगरेको उनी खुलाउँछन् । 'कुनै पनि बैंक वा संस्थाले प्रगति गरको खण्डमा मेरो शेयर त स्वत बढ्छ, त्यसैले म संस्थाको विकाश हेर्छु,'उनी प्रष्ट पार्छन् ।

निरन्जन शेयर बजार प्रवेश भएको समय सम्झदै भन्छन्, 'त्यो समयमा धेरै शेयर राणा परिवारको हुन्थ्यो भने जनताको कम शेयर थियो र व्यक्तिगत रुपमा शेयर बिक्री गरिन्थ्यो । खरिदकर्ता र बिक्रेताको सहमतिमा सम्झौता पत्रमा हस्ताक्षर भएसँगै उक्त शेयर बोर्डबाट स्वत : ट्रान्सफर हुन्थ्यो ।' राणा परिवारका पुण्य बिक्रम राणाका माध्यमबाट उनको परिवारले शेयर खरिद गर्ने गर्थे ।

निरन्जन आफैले भने नेपाल बैंक र नेपाल इन्स्योरेन्सको शेयर पहिलो पटक किनेका थिए । गोपालमान श्रेष्ठले उनलाई व्यक्तिगत रुपमा शेयर खरिद गर्नका लागि सल्लाह दिएपछि उनले लगानीको थालनी गरेका थिए । उनी सम्झन्छन्,' त्यतिबेला नेपाल इन्स्योरेन्सको शेयर भ्याल्यु १० रुपैयाँ प्रतिकित्ता थियो प्रिमियम भ्यालुसहित ५८ रुपैयाँ मैले तिरेको थिएँ।' नेपाल इन्स्योरेन्समा उनी १५ वर्ष निर्देशक समेत रहेका थिए ।

शेयर कारोबारमा भएका नाफाका बारेमा भने उनी भन्छन्, '५० रुपैयाँमा किनेको नबिल बैंकको शेयर र नेपाल इनभेष्टमेन्ट बैंकको ६० रुपैयाँमा, राष्ट्रिय बिमा कम्पनीको ४१५ रुपैयाँमा खरिद गरेको शेयरबाट आजका दिनसम्म पनि मैले निरन्तर लाभांश र नाफा पाइरहेको छु ।' उनी त्यसैलाई शेयर कारोबारको नाफाका रुपमा लिन्छन् ।

निकोन एअर, गोरखकाली रबर, सेती चुरोट कारखाना, अरुण बनस्पति उद्योग लगायतमा भने निरन्जनको लगानी डुबेको छ । उनी लगानी डुबेको अवस्थामा तनाब नलिने र नआत्तिने बताउँछन् । उनी भन्छन्,' ऋण लिएर कारोबार गरेको छैन, त्यसैले त्यति तनाब हुँदैन ।'

तर निरन्जनले जीवनमा एकपटक ऋण लिएर शेयर खरिद गरेका थिए । तर शेयरको मूल्य घट्दा र तरलताको अभावसँगै ब्याजदर ह्वात्तै बढ्यो । त्यो समय भने उनी निकै चिन्तित भएको बताउँछन् । ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताए पछि उनले कुनै बैंकको सबै शेयर घाटामा बेच्नुपर्यो । त्यो उनको शेयर जीवनको पहिलो र अन्तिम तितो अनुभव हो ।

उनले विगत ४५ वर्षदेखि नेपाली शेयर बजारको सुक्ष्म अध्ययन गरिरहेका छन् । उनले शेयर बजारमा पनि निरन्तर लगानी गरेका छन् । उनले शेयरको लगानी र नाफा शेयरमा नै प्रयोग गर्ने गरेका छन् । तर उनी भन्दा हाल उनका परिवारले शेयर कारोबारको जिम्मेवारी सम्हाल्ने गरेका छन् तथापि सल्लाह भने उनी आफैले नै दिने गरेका छन् ।

निरन्जन परिष्कृत शेयर बजार देश विकाशको एक मापदण्ड भएको मान्छन् । कोरोना भाइरसका कारण विश्वको अर्थ विकाश नै अहिले ठप्प छ । नेपालको अर्थतन्त्र पनि उक्त भाइसका कारण सुस्ताएको छ । अहिलेको कठिन परिस्थितीमा निरन्जनलाई सर्वप्रथम जीवनको अस्तित्व कसरी राख्ने भन्ने महत्वपुर्ण कुरा मान्छन् । 'यसमा कसरी स्थीर बन्ने भन्ने प्रश्न हो । अबको १ महिनामा अवस्था थाहा होला , यसको असर लामो अवधिसम्म नै देखिन्छ तर अहिले केहि आशा गर्नुको अर्थ छैन । जब सबै साम्य हुन्छ तब फेरी उहि गति लिन पनि पक्कै समय लाग्छ । फेरी उस्तै गति लिएपछि मात्र विकाशोन्मुख हुनेछ । तर त्यसका लागि भने शेयर बजारमा पुर्वाधार तयार बनाइरहनुपर्छ । पहिले यो अवस्थामा आत्मनिर्भर कसरी हुने भन्ने सोच्नुपर्यो । हाल यसरी घटेको मूल्य र बजारमा विचार गरेर लगानी गर्नकालागि म भन्छु । यदि कसैले आफुलाई यो अवस्थामा थाम्न सक्नुहुन्छ भने अहिले शेयर नबेच्नुहोस् ।'उनी सुझाउँछन् ।

निरन्जन अनलाईन कारोबारका कारण शेयर बजारको विकाश हुनेमा विश्वस्त छन् । उनी भन्छन्,'अनलाईन कारोबार शुरु भएसँगै लगानी गर्ने अवसर सबै नेपालीलाई खुलेको छ । पहिले पुँजीबजारमा, त्यसपछि ब्रोकरकोमा आफै जानुपर्ने हुन्थ्यो अब आफै कारोबार गर्न पाइने भयो जसले गर्दा लगानीकर्तालाई कारोबार गर्न सजिलो भएको छ ।'

'संसारभरमा जब अनलाईन ट्रेडिंगको शुरुवात भयो बजार इन्डेक्स बढेको देखिन्छ । नेपालमा पनि त्यस्तै भएको छ । माग बढ्दा लगानी बढ्छ,'उनी थप्छन् । 'व्यवस्थापन र नेपाल सरकारले बढि जिम्मेवार भएर लगानीकर्ताको सेन्टिमेन्टलाई हासिल गरेर राम्रो प्रतिक्रिया दिन सकेमा देशको अर्थिक विकाशमा धेरै सहयोग पुग्नेछ ।'

'यदि बजार बढेसँगै कम्पनीलाई विकाश गर्दै त्यस अनुसारको जनतालाई पनि रिर्टन दिन सकेमा, लगानीको प्रतिफल मिल्छ ,आर्थिक विकाश हुन सक्छ । आंकलन गरेर धेरै घाटा हुन्छ भन्नुभन्दा त्यो अवसरको सदुपयोग गर्नुपर्यो । यदि लगानीकर्ताको विश्वास जित्न सकियो भने भविष्यमा ठुला प्रोजेक्टलाई पनि सहयोग पुग्न सक्छ 'निरन्जन बताउँछन् । 

शेयर बजारमा विदेशी लगानी भित्र्याउने हकमा विदेशी लगानीका लागि निश्चित निती लागु भएमा मात्र उचित हुने निरन्जन मान्छन् । 'यदि हाम्रो देशमा त्यस्तो सुविधाको विकाश गरिएमा,विश्वासको वातावरण सिर्जना हुन्छ । विदेशी लगानीकर्ताले पनि नेपालमा यस बजारलाई मंचको रुपमा प्रयोग गर्न सक्छन् । त्यसका लागि उपयुक्त कानुन,व्यवस्था , स्टक बजार चाहिन्छ,'उनी भन्छन् ।

'विदेशमा जस्तै हाम्रो देशमा पनि सोहि कल्चर अनुसार दुई किसिमको शेयर बाँडफाड गरेर शेयर कारोबार गर्न सकेमा एफडिआई मार्फत लगानी भित्रिन सक्छ । तर प्रत्यक्ष विदेशी लगानीको एक मापदण्ड उनीहरुको लगानीको तरलता हो । जुन शेयर बजारबाट मात्र सुनिश्चित हुन सक्छ । मेरो विचारमा संसारभरका मानिसले नेपाली शेयर बजारमा लगानी गर्न पाउनुपर्छ नत्र बजार सिमित हुन्छ । हाल केवाईसी पनि महत्वपुर्ण छ बजार निगरानी गर्न मद्धत गरिरहेको छ। त्यसपश्चात राम्रा ब्रोकर तथा कम्पनीहरु र विश्वासयोग्य सफ्टवयरको पनि आवश्यक्ता छ, 'निरन्जन सल्लाह दिन्छन् ।

शेयर बजार जुवा घर हो भन्ने मानसिकताबाट बाहिर निस्कनपर्नेमा निरन्जन जोड दिन्छन् । निरन्जनका अनुसार शेयर लगानीकालागि सुविधा दिने मंच हो जसले लगानीकर्तालाई तरलताको प्रत्याभूति दिन्छ ।उनी थप्छन्, 'शेयर बजारका बारेमा नकरात्मक टिकाटिप्पणी हुन्छ , विश्लेषण हुन्छ ।त्यसलाई सच्चाउने हाम्रो काम हो ।' तर सच्चाउने नाममा बन्द गर्ने भन्ने उनी मान्दैनन् ।

'लगानीकर्ता सबैलाई सबै कुराको जानकारी हुन नसक्ला यद्यपी अहिलेका लगानीकर्ता धेरै जानकार र जागरुक भइसकेको अवस्था हो । नेपालमा पुँजी कर र लाभांश कर को नियम लागु भएको छ । हामीले यस्ता नियमलाई अवलम्बन गर्न भन्दा पनि आर्थिक विकाशतर्फ जोड दिँदा हुन्थ्यो कि ?' निरन्जन प्रश्न गर्छन् । 'सबै ठाउँमा करको स्रोत हुनुपर्छ भन्ने जरुरत छैन । यदि आर्थिक विकाशले तिब्र गति लिन्छ भने त्यसको अनुपातमा कर कतिको अर्थपुर्ण हो भन्ने विश्लेषण गनुपर्छ' उनी भन्छन् । शेयर बजारको स्वस्थ विकाश हुनपर्ने उनको भनाई छ ।

पुनःलगानी को चक्रलाई देशको ठुलो उपलब्धि मान्दै लगानीकर्तालाई हतोत्साहित बनाउन भन्दा दुरगामी भई निती नियम बनाउनुपर्नेमा निरन्जन जोड दिन्छन् ।

लगानीकर्ताहरुलाई घाटाबाट बच्नकालागि निरन्जन लगानी गर्दा होहल्लाका पछि नलागी आफैले अनुसन्धान गरेमा उचित हुने सल्लाह दिन्छन् ।त्यस्तै उनी लगानी गर्नुपुर्व कम्पनीको आधारभूत, व्यवस्थापन अध्ययन र विकाश हेर्नुपर्ने पनि बताउँछन् । 'शेयर बजारमा केवल आधारभूत अध्ययनका आधारमा मात्र कारोबार हुँदैन, केहि उचित अनुमान पनि गर्नसक्नुपर्छ ।'

'भविष्य राम्रो देखेमा ति कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहन्छ । तर त्योसँगै यसका कारण शेयर कारोबार बढ्छ , नाफा कमाउँछु भन्ने मात्र सोंचेर लगानी गर्नुहुन्न । कसैले निर्धारित आयमा काम गर्न थालेमा उसले आफ्नो क्षमता गुमाउँछ 'निरन्जन बताउँछन् । शेयरको आयलाई आधार बनाउन नहुने र शेयरमा जति नै नाफा भए पनि काम छोड्न नहुने उनको तर्क छ ।'कर्म आवश्यक छ ।शेयर कारोबार अर्थको स्रोत हो,आम्दानी हुन्छ । यो सुरक्षित लगानी पनि हो तर यसैलाई मुख्य व्यापार बनाउनलाई म उचित ठान्दिन,' निरन्जन थप्छन् ।

'आफ्नो फन्डको योजना आफै बनाइराख्नुपर्छ । सबै जना शिक्षित भएको अवस्थामा बजार अध्ययन गर्न पनि सजिलो छ । थोरै प्रयास गरेमा शेयर बजार सजिलोसँग बुझ्न सकिन्छ ।' निरन्जन लगानीलाई बढावा दिनपर्नेमा जोड दिन्छन् । उनी भन्छन्,'शेयरमा लगानी थप्नैपर्छ । तर कम्पनीको जिम्मेवारीबोध छ कि छैन भन्ने ख्याल गर्नुपर्छ ।' 

कोरोना भाइरसको त्रास र देखिएको असरका कारण उनी हाल भने शेयर बजारलाई नियालीरहेका छन् । उनी भन्छन्,'म पर्ख र हेरको अवस्थामा छु । अहिले शेयर बेच्ने सोच छैन । यस्तो आपतकालिन अवस्थामा आत्तिनु हुँदैन बरु जिविकोपार्जनतर्फ केन्द्रीत हुनुपर्छ । तर म केहि समयमा शेयर बजार बढ्नेमा ढुक्क छु । आज नहोला तर २ वर्षसम्म त पक्कै बजार बढ्छ ।'

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।