"शेयर लगानीकर्तालाई लकडाउन उल्लंघन गर्न बाध्य पार्दै अर्थमन्त्री"

Mar 26, 2020 01:43 PM Merolagani

सरकारको बुधबारको निर्णयले लकडाउनको आफनै प्रतिबद्धता उल्लंघन हुने देखिएको छ। सरकारले राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा अन्तर्गतका सबै सेवाहरू सुचारू गर्ने निर्णय प्रधानमन्त्रीको राष्ट्रको नाममा भएको सम्बोधनमा उल्लेख गरेपनि अर्थमन्त्रालय त्यो भन्दा बाहिर गएर आफ्नै तजबीजी अधिकार प्रयोग गरिरहेको छ।

जसले सरकारद्वारा घोषित लकडाउनलाई उल्लंघन गर्न सहयोग पुर्याउने देखिएको छ।

सन्दर्भ हो धितोपत्र बजार खुल्ला गर्ने विषय। अर्थमन्त्री संयाेजक रहेकाे वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिकाे बुधबार बसेकाे बैठकले धिताेपत्र बजार खुल्ला गर्न  निर्देशन दिएपछि लगानीकर्ता अन्याैलमा परेका छन्।

धितोपत्र बजार वित्तीय सेवामा अन्तर्गत परेपनि अत्यावश्यक क्षेत्रमा भने पर्दैन। बैंकिग सेवा पनि वित्तीय सेवा नै हो तर यो भने राजपत्रमा उल्लेख भए अनुसार अत्यावश्यक क्षेत्रमा पर्छ। व्यवहारिक रूपमा जनताले संकटकालमा अनुभूति गर्ने कुरामा पनि बैंकिग क्षेत्रको आवश्यकता जति पर्छ, त्यति धितोपत्र बजारको पर्दैन।

अहिले जारी लकडाउन न त बिप्लव समूहको बन्द हो न कुनै राजनीतिक दलको ऐजेण्डामा भएको बन्द हो। यो लकडाउन त सरकार आफैंले जनताको स्वास्थ्यका निम्ति आह्वान गरिएको बन्द हो। अरू राजनैतिक बन्दमा सरकारले उपस्थिति देखाएर खुलाउनुपर्छ। किनभने बन्द गराउने शक्तिभन्दा कुनै पनि हालतमा सरकार बलियो छ भन्ने देखाउनु पर्छ। त्यहाँ सरकारले इगो देखाउन सक्छ। तर अहिलेको लकडाउनमा भने सरकारले धेरै धेरै क्षेत्रमा लकडाउन गर्न जनतालाई प्रेरित गर्नुपर्छ, लकडाउन स्व:स्फूर्त हुनुपर्छ। स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलनमा जनतालाई सम्झाउँदै भनेका थिए कि यो कुनै आन्दोलन होइन त्यसैले बिहान या बेलुका खुल्छ भनेर बाहिर ननिस्किदिनु होला। एकजना मन्त्रीले यसाे भन्ने तर अर्थमन्त्रीले  धिताेपत्र बजार खाेलेर लगानीकर्तालाइ ब्राेकरकाेमा जान बाध्य पार्न लागेकाे लगानीकर्ताले आराेप लगाएका छन्।

विश्वका अन्य देशमा विषम परिस्थितिमा त्यहाँका धितोपत्र बजार प्राय बन्द हुँदैनन्, सत्य हो। अहिले पनि फिलिपिन्सको बाहेक अन्य देशको बजार बन्द छैन, फिलिपिन्सकाे पनि खुलिसकेकाे अवस्था हाे। तर, यहाँ भुल्न नहुने कुरा के हो भने विकसित देशका बजार पूर्वाधारमा बलिया छन्। अनलाइन प्रणाली संस्थागत रूपमा विकास भइरहेको छ। नेपालमा भर्खर भर्खर शुरू भएकाले केही प्रतिशतले मात्र यो सेवा उपभोग गरिरहेका छन्। त्यसमा पनि प्राविधिक त्रुटीहरू धेरै छन्। इन्भेष्टर्स फोरमका अध्यक्ष छाटेलाल रौनियारका अनुसार नेपालको अनलाइन होइन सेमी अनलाइन सिस्टम हो। किनभने यो बैंकसँग इन्ट्रीगेशन भएको छैन भने राफसाफ गर्नुपर्दा ब्रोकरकोमा नपुगी हुँदैन। २० लाख डिम्याट भएकामध्ये २० हजारको मात्र अनलाइन हुनु र अनलाइन हुने लगानीकर्ताले ब्रोकरकोमा गएर म्यानुअल्ली कारोबार गर्दा पनि अनलाइनमै देखिनुले अनलाइनको नेप्सेको तथ्यांक सही नभएको उनको तर्क छ।

लकडाउनको समयमा अनलाइन प्रणालीमा लगानीकर्तालाइ प्रेरित गर्नु एउटा महत्वपूर्ण विषय हुनसक्छ तर अनलाइनबाट मात्र कारोबार गराउन खोज्नु भनेकाे अर्कै कुरा हाे। इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्विका पौडेलले भनेका छन्, 'नेपालको पूँजी बजार पूर्ण रूपमा वेभ मोडलमा गइसकेको छैन। अहिलेको अवस्थामा अनलाइनबाट मात्र कारोबार गराए बजार असन्तुलित हुन्छ। किनकि ठूलाे हिस्साले अहिले पनि म्यानुअल्ली काराेबार गर्ने गर्छ। अनलाइनकाे मात्र भरपर्दा बजार असन्तुलित हुन्छ।

यो समय सरकारले गरेको अभियानलाई सबैले मिलेर समाधान गर्ने बेला हो। यस्तो बेला न त सरकारी पक्ष न त निजी कसैले पनि इगो देखाउने बेला होइन। गत आइतबार लगानीकर्ता, ब्रोकर लगायतका सरोकारवालाको साथ बिनै नेप्सेले बजार खुलाउँदा १९ करोडको मात्र कारोबार हुनु भनेको पौडेलले भने बमोजिम असन्तुलित कारोबार नै हो।

अहिले लगानीकर्ता भयभीत छन्। धेरैजसो शहर छाडेर गाँउ पुगेका पनि छन्। कोरोनाको संक्रमण महामारीको रूपमा फैलिए के होला? भन्ने मनोविज्ञानमा आम लगानीकर्ता छन्। अहिले उनीहरू व्यक्तिगत रूपमा सर्तक रहने र खानेकुराको जोहो गर्न तल्लीन भएको अवस्थामा छन्। धेरैजसो भइपरी आउने अवस्थाका लागि खर्च जोहो गर्ने क्रममा छन् न कि शेयर बजारमा लगानी गर्न। इटालीको घटना दैनिकजस्तो खबरहरूमा देख्ने गरेका लगानीकर्ता कम्पनीको वित्तीय विवरण होइन कोरोनाको विश्वव्यापी तथ्याक हेरेर बसेका छन्।

कोरोनाको भयले मनोविज्ञानमा प्रभाव परेका लगानीकर्ता अहिले धितोपत्र बजार खोल्दा लगानीका लागि आइहाल्छन भन्ने छैन। अर्कोतिर जसले अनलाइन लिएका छैनन्, उनीहरू पूँजी बजारको पहुँचबाट टाढा देखिन्छन्। बजार असन्तुलित हुन्छ र निरन्तर ह्रासोन्मुख हुन्छ। लामो समयसम्म अनेक प्रताडना खेपेर बल्ल बल्ल लय समाएको बजार फेरि रसातलमा भासिए लामो समयसम्म माथि आउन सक्दैन।

रौनियार थप्छन्, 'अति नै निम्न तहमा आएको बेला कुनै ठूलो समूहले शेयर किनेर नाफा त कमाउला तर नाफा कमाउने त्यो समूहभन्दा गुमाउने लगानीकर्ताको संख्या धेरै हुन्छ। नाफा समूहले कमाउला तर गुमाउने सर्वसाधारण लगानीकर्ता हुन्छन्। 

लगानीकर्ताका अनुसार अहिले अर्थमन्त्रीले धितोपत्र बजार खोले लगानीकर्ता ब्रोकरकोमा नगइ सुखै छैन।

रौनियार भन्छन्, 'अहिलेको अवस्था भनेको कतै पनि ननिस्केर घर परिवारसँगै बस्ने हो र सर्तक बन्ने हो। एकातिर आवश्यकता बिना कतै ननिस्कनु भन्ने सरकार र अर्कातिर ब्रोकरकोमा जान बाध्य पार्ने अर्थमन्त्री यो विरोधाभासपूर्ण कुरा भयो। भारतमा इतिहासमै पहिलो पटक रेल्वे सेवा बन्द गरेर जनताको स्वास्थ्यको ख्याल गरिएको छ। नेपालमा भने इटालीकै हाल ल्याउन खाेजिएकाे छ', उनी भन्छन्, 'शेयर बजार फुल अटोमेशन भएकोले खुल्ला छ, नेपालकोसँग कुनै हालतमा तुलना हुँदैन।'

धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धिताेपत्र बजार खाेल्ने बिषयमा छलफल भएकाे तर निर्णय भइ नसकेकाे बताउँछन्। उनले मेराेलगानीकाे जिज्ञासामा भनेका छन्, 'यस  बिषयमा सराेकारवालासँग छलफल गरेर टुंगाेमा पुगिने छ।'

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।