बैशाख लागेदेखि नै बैंकहरुको निक्षेप वृद्धिदर घट्यो, कर्जा लगानीमा १६ अर्बले कमी

May 21, 2020 11:44 AM Merolagani



रविन पौडेल

गएको एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। गत चैतको तुलनामा निक्षेप संकलनको वृद्धिदर थोरै बढेको छ भने, कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको छ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथाङ्क अनुसार बैशाख महिनाभरिमा बैंकिङ्ग प्रणालीमा ३० करोडले निक्षेप बढ्दा कर्जा लगानी १ करोड रुपैयाँले खुम्चिएको छ। बैशाखमा निक्षेप थोरै बढेको देखिए पनि अघिल्लो महिनाको तुलनामा भने निक्षेप वृद्धिदर ६० प्रतिशतभन्दा बढीले घटेको छ। चैतको अन्तिमसम्ममा बढ्दै गएको निक्षेप संकलन बैशाखको पहिलो साताबाटै ह्वातै घटेको घट्न थालेको हो। चैतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४९ करोड रुपैयाँले बढेको थियो भने कर्जा लगानीमा ४२ करोड रुपैयाँको वृद्धि थियो। 

बैशाखको पहिलो साता ११ करोड रुपैयाँले बढेको निक्षेप संकलन दोस्रो साता ८ करोड रुपैयाँले मात्र बढेको थियो। त्यस्तै, तेस्रो साता ९ करोड रुपैयाँले बढेको थियो भने जेठ पहिलो साता ५ करोड रुपैयाँले मात्र बढेको छ। यस अवधिमा स्वदेशी मुद्राको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ भने विदेशी मुद्राको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घटेको छ।

चैत अन्तिम सातासम्म ३१ खर्ब ८९ करोड रुपैयाँ रहेको निक्षेप संकलन जेठ पहिलो साता आइपुग्दा ३२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो। जसमध्ये ३० खर्ब ८६ अर्ब स्वदेशी मुद्रा निक्षेप रहेको छ भने १ खर्ब ३३ अर्ब विदेशी मुद्रा निक्षेपको भुमिका छ।

बैशाख पहिलो साता २७ वटा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ करोड रुपैयाँले घटेको थियो। दोस्रो साता एक करोड, तेस्रो साता ४ करोड र जेठ पहिलो साता आइपुग्दा ७ करोड रुपैयाँले घटेको छ। 

चैतमा केहि बढेको भए पनि बैशाख लागेदेखि बैंकहरुको कर्जा लगानी लगातार घटेको छ। बैंकहरु चैतमा पनि लकडाउनका कारण नयाँ कर्जा भने जारी गर्न पाएका थिएनन्। मुलक लकडाउनमा गएपश्चात केहि शाखा कार्यालयहरु खोलेर सेवा प्रदान गर्दै आएका बैंकहरुले, गत सातादेखी सबै शाखा कार्यालय खालेर सेवा प्रदान गर्ने प्रयास गरेका थिए। तर, संक्रमीतको सँख्या बढ्दै गएपछि सरकारले लकडाउन थप कडाइ गर्यो। कडाइ गरेसँगै बैकिङ कारोबार पुन: केहि शाखा कार्यालयमै सीमित हुन पुगेका छन्। सोहि कारण निक्षेप र कर्जामा फराकिलो अन्तर देखिएको बैकर एसोसिएशनले जनाएको छ।

  • गत दुई महिनामा कर्जाको तुलनामा निक्षेप ३ गुणाले बढ्यो

गत दुई महिनामा बैंकहरुको कर्जाको तुलनामा निक्षेप संकलन ३ गुणाभन्दा धेरैले बढेको छ। गत चैत र बैशाखमा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन ७९ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानीको वृद्धिदर २६ अर्ब रुपैयाँमा सीमित भएको छ।

गत फागुन अन्तिममा ३१ खर्ब ४० करोड रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन गत २ महिनामा ३२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २८ खर्ब ३ अर्ब रुपैयाँबाट बढेर २८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

जुन सामान्य अवस्थाको भन्दा निकै कम हो। गएको दुई महिनामा दुई खर्ब रुपैयाँको मात्रै फरक हो। कोरोना भाइरसका कारण चैत दोस्रो सातादेखि देश नै लकडाउन भएको थियो जसले गर्दा बैंकहरुको कारोबार समेत प्रभावित हुदा फरक देखिएको हो। नियमित आम्दानी हुनेहरुको रकम बैकमा जम्मा हुदै गएको छ। सरकारी कर्मचारी, निजी क्षेत्रले उपलब्ध गराएको तलब र सामान्य व्यवसायीक गतिविधिका कारण निक्षेप थोरै बढेको हो। तर व्यवसायीक गतिविधि र लगानीको वातावरणमा संकुचन आउदा कर्जा लगानीमा भने प्रभाव परेको एसोसिएशनको भनाई छ।

 

  • बैंकिङ्ग प्रणालीमा ५० अर्ब रुपैयाँ बराबरको तरलता

केन्द्रिय बैकका अनुसार बजारमा तरलता अझै पर्याप्त छ। तरलताकै कारण समस्या देखिएको छैन। जसको नियमित अनुगमन भइरहेको केन्द्रिय बैकले जानएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अहिले बैंकिङ्ग प्रणलीमा ५० अर्ब रुपैयाँ बराबरको तरलता  छ। तर यो गत महिनाको तुलनामा ११ अर्ब रुपैयाँ कम हो। गत बैशाखको यसै अवधिमा बैंकिङ्ग प्रणालीमा ६१ अर्ब रुपैयाँभन्दा धेरै तरलता रहेको थियो।

पछिल्लाे समय सरकारले ठुलाे रकमकाे आन्तरिक ऋण उठाएको छ। त्यसले गर्दा बजारको तरलता सरकारी ढुकुटिमा सरेको हो। सोहि कारण गत महिनाको तुलनामा तरलता केहि घटेको भट्टले बताए। यसले बजारमा कुनै दबाब भने नरहने उनले स्पष्ट पारे। उनका अनुसार पछिल्लो ४/५ वर्षको बजारलाइ फर्केर हेर्दा ३०-३२ अर्बको तरलता रहेको अवस्थामा पनि बजार ठुलो प्रभाव पर्ने गरेको थिएन। त्योभन्दा कम भएपछि मात्र तरलतामा केहि दबाब देखिने गरेको थियो। 'अहिले थप कर्जा जाने अवस्था छ। गएको कर्जा पनि असुल हुने अवस्थामा छन्,' उनले भने, '५० अर्ब तरलता भनेको पर्याप्त तरलता हो'। यसअघि राष्ट्र बैंकले लकडाउनकै समयमा अनिवार्य नगद अनुपात १ प्रतिशतले कम गरेर करिब ३५ अर्ब रुपैयाँ बराबरको तरलता थपेको थियो। 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।