'हामीले लगानी गरेका सबै कम्पनीको काम राम्रोसँग भइरहेको छ,राम्राे रिर्टन दिन्छाै'

Jul 24, 2020 05:36 PM Merolagani

नेपालका लागि केही गराैं भने अभिप्रायले शुरू भएकाे गैर आवासीय नेपालीहरूकाे अभियानले अब मूर्त रूप लिंदैछ । एनआरएन मार्फत स्थापित ‘एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनी’ ले बिभिन्न जलबिद्युत परियाेजनामा लगानी गरेकाे छ । 

कम्पनीले लमजुङकाे दाेर्दी खाेला हाइड्राे,ताप्लेजुङकाे श्वेतगंगा हाइड्रोपावर,मिडिल तमोर,मैलुङ्ग खोला लगायतका आयोजनाहरुमा लगानी गरेकाे छ ।शुरूमा जलबिद्युत क्षेत्रमा लगानी गरेपनि लगानी विविधिकरण गर्ने याेजनामा कम्पनी छ ।

साउन १६ गतेबाट हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेकाे छ । कम्पनीमा लगानी किन गर्ने भन्ने प्रश्नकाे उत्तर खाेज्न कम्पनीकाे स्थापना, उद्देश्य, लगानीकाे अवस्था, प्रतिफलकाे सुनिश्चितता लगायतका बिषयमा कम्पनीका परिकल्पनाकार समेत रहनु भएका कम्पनीका अध्यक्ष तथा एनआरएन कै पूर्व अध्यक्ष जीवा लामिछानेसँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् ।

 

कोरोना महामारीको अवस्था छ। यहाँ मुलुक बाहिर हुनुहुन्छ। कस्तो छ त्यहाँको स्थिति ? 

म अहिले तपाइसँग जर्मनीको फ्र्याङफटबाट कुराकानी गरिरहेको छुँ। यहाँ पनि कोरोना महामारीको प्रभाव उत्तिकै छ। जनजीवन ठप्पै छ। सबै प्रकारका बन्द व्यवसायमा प्रभाव परेको छ। तर जर्मनी सरकारले यो महामारीलाई एक हदसम्म नियन्त्रण गर्न सक्षम भएको मैले महसुस गरेको छु। सुरुवाती दुई महिना यहाँ पनि पूर्णरूपमा लकडाउन गरिएको थियो। तर गएको दुई महिनादेखि लकडाउन खुकुलो पारिएको छ। तर नेपालमा जस्तै सभा, समारोह,गोष्ठी,भेला हुन अझै प्रतिबन्ध नै लगाइएको छ। तर मानिसलाई सतर्कता अपनाएर हिँडडुल गर्न र व्यवसाय सञ्चालन गर्न भने छुट दिइएको छ। बिस्तारै व्यवसाय खुल्न शुरु भएका छन्। जर्मनी पूर्ववत स्थितिमा फर्किने क्रममा छ। हामी होटेल व्यवसायमा छौं। यो क्षेत्रलाई प्रभाव परेकै अवस्था छ। 

कति जति नेपाली प्रभावित भएको अनुमान छ ? 

जर्मनीमा धेरै नेपालीलाई प्रभावित पारेको स्थिति छैन। तर गैर-आवासीय नेपालीले बेला-बेलामा तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। उसले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार बेलायत, अमेरिका, मिडिल इस्टमा बस्ने धेरै नै नेपालीलाई यसले प्रभाव पारेको छ। धेरै नेपालीले ज्यान पनि गुमाइसकेको अवस्था छ। तर जर्मनीमा भने अहिलेसम्म त्यस्तो कुनै असर देखिएको छैन। 

तपाईले गैर आवासीय नेपाली संघको अध्यक्ष हुँदा एउटा सपना देख्नुभएको थियो। विदेशमा बस्ने नेपालीहरूसँग पैसा जम्मा गरेर नेपालमा केही गर्ने, त्याे पृष्ठभूमि बारे बताई दिनुहाेस् न ।

यसलाई म यसरी सम्झिन्छु। हामीले गैर आवासीय नेपाली संघको अभियान सन् २००३ बाट शुरु गर्‍याै। यसका केही मूलभूत उद्देश्यहरू थिए । तीमध्ये विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी, ज्ञान र अनुभव छ त्यसलाई पनि ओभरअल नेपालको डेभलपमेन्टमा कसरी प्रयाेग गर्न सकिन्छ भन्ने थियो। हामीले केही वर्ष त्यसैका लागि विश्वभर नेटवर्क बनाउन खर्च गर्‍यौ। त्यो अभियानले यति बेलासम्म ८२ वटा देशमा नेटवर्क बिस्तार गरिसकेको छ। 

म संस्थाकाे संस्थापक पनि हुँ। म सन् २०११ देखि २०१३ सम्म नेतृत्वमा पनि थिए। त्यही बेला मैले शुरुवाती दिनमा लिएको उद्देश्यलाई पुरा गर्नुपर्छ भनेर एउटा अभियान सुरु गरेको थिएँ। त्यो अभियान भनेको विदेशमा रहेका नेपालीसँग भएको पूँजी संकलन गरेर नेपालको विकासमा लगाउने।

 लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गरिरहेको अवस्था भने त्यस बेलै देखि थियो। तर सामूहिक रुपमा ठूलो समूह बनाएर लगानी गरेको भने पाइएको थिएन। त्यसैले यसलाई टेस्ट प्रोजेक्टको रुपमा अघि ल्याउनुपर्‍यो भनेर यो अवधारणा शुरु गरेको थिएँ। त्यसमा धेरै साथीहरूले उत्साहजनक सहभागिता जनाउनुभयो। 

सन् २०१२ मा हामीले नेपालको कम्पनी ऐन अनुसार एनआरएन इन्फ्रास्टकचर डेभलपमेन्ट कम्पनी दर्ता गरेका हौं। दर्ता गर्नुपूर्व त्यति धेरै ठूलो तयारी पनि थिएन। चार/पाँच महिनाको अन्तरालमा नै झण्डै आठसय जानाले यो कम्पनीमा सहभागिता जनाइदिनुभयो। जसले कम्पनीको चुक्ता पूँजी ८० करोड बनाउन हामी सफल भयौं। 

तर पनि म के भन्छु भने देशको ओभरअल डेभलपमेन्टमा यो धेरै ठूलो पूँजी भने होइन। तर जुन टेस्ट प्रोजेक्टको रुपमा हामीले लिएका थियौ त्यसमा भने हामी पास भएको मैले महशुस गरेको छु।

फेरि यो कम्पनीमा लगानी गर्ने सीमा पनि तोकिएको थियो। जसमा एक व्यक्तिले एक लाख रुपैयाँ देखि एक करोडसम्म लगानी गर्न पाउने व्यवस्था रहेको थियो। किनकि एकै व्यक्तिको कम्पनीमा वर्चस्व नहोस भनेर यस्तो गरिएको हो। त्यसै अनुरूप यो कम्पनीमा शेष घले हुनुहुन्छ, भवन भट्ट, उपेन्द्र महतो लगायत अहिलेका अध्यक्ष कुमार पन्त पनि लगानीकर्ताका रुपमा  हुनुहुन्छ। 

५० जना भन्दा बढी शेयर होल्डर हुने बित्तिकै यो पब्लिक कम्पनीको अवधारणामा जान्छ। त्यही अनुसार यसलाई पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको हो। योजना अनुसार काम भएको छ। यतिबेला कम्पनी साधारण शेयर जारी गर्ने स्थितिमा आइपुगेको छ। 

इन्भेष्टमेन्ट कम्पनीले साधारण शेयर जारी गर्ने भनेको यो पहिलो पटक हो। अनुमति पाउन कसरी सम्भव भयो ? 

हो, यसले सजिलै अनुमति पाएको होइन। यसले साधारण शेयर जारी गर्नका लागि अनुमति पाउन धेरै समय कुर्नुपरेको थियो। त्यसैले पनि यसले साधारण शेयर जारी गर्न ढिलो समेत भएको हो। शुरुवातमा नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनी हजारौँ छन्। उनीहरूलाई नियमन गर्न सकिँदैन। त्यसैले तपाईँहरूलाई अनुमति दिन सकिँदैन भनेर भन्नुभएको थियो। पछि धेरै कम्पनीको समेत आवेदन परेको रहेछ। हामीले यो छुट्टै र केही उद्देश्य बोकेर आएको भएर यसलाई स्वीकृत गर्न अनुरोध गर्‍यौ। त्यसपछि थप कागजपत्र मागेर बोर्डले हामीलाई स्वीकृति दिएको हो। सम्भवतः यो नेपालकै पहिलो इन्भेष्टमेन्ट कम्पनी हो, जसले प्राथमिक शेयर जारी गर्दैछ। यसलाई हामीले गत चैतमै सूचीकृत गर्ने योजना बनाएका थियौँ। तर कोभिड १९ ले गर्दा हुन पाएन। 

कम्पनीले यस अघि कस्ता क्षेत्रमा लगानी गरेको छ ? 

यहाँले राम्रो प्रश्न गर्नुभयो। सबैभन्दा पहिले सन् २०१२ जब फण्ड जुटाइयो। त्यो रकमले लमजुङमा २७ मेगावाटको दोर्दी खोलामा लगानी गरेका छौं। त्यसले सन् २०१५ बाट काम शुरु गरेको हो। यतिबेला त्यो कम्पनी नेप्सेमा सूचीकृत समेत भइसकेको छ। त्यसमा ५१ प्रतिशत लगानी हाम्रो इन्भेष्टमेन्ट कम्पनीको छ। त्यो प्रोजेक्ट दुई वर्ष अघि नै पुरा भईसक्ने थियो। तर भूकम्पका कारण त्यो पुरा हुन सकेन। यतिबेला ९५ प्रतिशत काम सकिएको छ। आउने भदौमा यसको आरओडी हुने क्रममा रहेको थियो। तर फेरि कोभिडको कारण त्यो तालिका मंसिरमा सरेको छ। 

अर्को प्रोजेक्ट हाम्रो मिडिल तमोर हो। त्यसमा पनि विगत डेढ वर्षदेखि काम भइरहेको छ। त्यो सन् २०२१ मा सकिन्छ। अर्को लिखु खोला, मैलुङ खोलामा हाम्रो लगानी छ। यी तीनवटै प्रोजेक्टमा काम भइरहेको छ। सन् २०२२ सम्ममा यी सबै प्रोजेक्टको काम सकिन्छ। 

यहाँहरूकाे तीनवटै प्रोजेक्ट हाइड्रोको छ। तर,नेप्सेमा सूचीकृत धेरैजसो हाइड्रोको बजार मूल्य एकसय भन्दा कम छन् नि ? 

हो,यहाँले ठिक भन्नुभयो। हामीले सूचीकृत कम्पनीको मूल्य नजिकबाट हेरिरहेका छौं। यहाँनेर उल्लेखनीय कुरा के छ भने,सबै कम्पनीको भने घटेको छैन। केही कम्पनीले राम्रै लाभांश दिएको अवस्था पनि छ। मलाई के लाग्छ भने सबैलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन। 

हामीले लगानी गरेका सबै कम्पनीको काम राम्रोसँग भइरहेको छ। एउटा मंसीरबाटै आउँछ। अरूको काम पनि राम्रैसँग भइरहेकाे छ। सबै काम सानिमा ग्रुपले गरिरहेको छ। सानिमा ग्रुप यो क्षेत्रमा सिरियस्ली काम गर्ने कम्पनी हो। त्यसैले यी चारवटै कम्पनी समयमै सकिन्छन्। अहिले लगानी गर्नु हुने कम्पनीका शेयरधनीलाई पहिलो प्रोजेक्ट सकिने बित्तिकै केहि न केही प्रतिफल दिन सक्षम भईहाल्छौँ। हेर्नुस् त नयाँ लगानीकर्तालाई कति फाइदा छ। जब कि ६/७ वर्षदेखि लगानी गर्ने संस्थापकले पनि त्यही वर्षबाट प्रतिफल पाउनु हुन्छ । नयाँले पनि त्यही समयमा पाउनु हुन्छ। यसको अर्थ नयाँ लगानीकर्तालाई बढी फाइदा हुने भयो। 

स्टकमा सूचीकृत हाइड्रोपावर कम्पनीको अवस्थालाई हरेर लगानी गर्ने लगानीकर्ता अलमलमा छन् । कसरी आश्वस्त पार्नु हुन्छ ? 

मैले अघि पनि भनी हाले। फेरि पनि के दाेहाेर्याउँछु भने, सबै कम्पनीको त्यस्तो छैन। राम्रा कम्पनी पनि छन्। हाइड्रोपावर कम्पनीमा गरिएको इन्भेष्टमेन्ट लङ टर्म इन्भेष्टमेन्ट हो। त्यसलाई केही समय धैर्य गर्नैपर्छ। तर हाम्रो प्रोजेक्टमा लगानी भएको चार/पाँच वर्ष भइसकेको छ। प्रोजेक्टको काम सकिने क्रममा छन्। हामीले राम्रो प्रोजेक्ट मात्रै छानेर लगानी गरेका छाैं । 

फेरि हामीले जम्मा भएको रकम हाइड्रोमा मात्रै लगाउने भन्ने सोच बनाएका छैनौं। अन्य क्षेत्रमा लगानी गर्न समेत छलफल चलाइरहेका छौं। टुरिजम सेक्टरमा पनि हामीले लगानी भित्र्याउने भनेर छलफल गरिरहेका थियौ। तर कोभिडका कारण यो अलि सम्भव भएको छैन। त्यस बाहेक बैकल्पिक लगानीका क्षेत्रलाई पनि हामीले अध्ययन गरिरहेको अवस्था हो। हाम्रा अन्तर्राष्ट्रिय क्षेत्रमा रहनुभएका साथीहरूले लगानीका अन्य क्षेत्रहरूकाे पनि  पहिचान गरिरहनु भएको छ। 

अर्को कुरा हाम्रो समूहमा आबद्ध हुनुभएका साथीहरू पैसा मात्रै कमाउने होइन कि, सोसियल स्ट्याटसमा पनि माथि हुनुहुन्छ। उहाँहरूको पब्लिक स्ट्याटस धेरै राम्रो छ। उहाँहरूले पब्लिकसँग पैसा उठाएर काम गर्नुपर्ने अवस्था पनि होइन। आफ्नो नाम जोडेर उहाँहरू देशको विकासमा होमिनु भएको हो । त्यस कारणले पनि जनताले विश्वास गर्नुहुन्छ भन्ने हामीलाई लाग्छ। 

हेर्नुस् म आफै पनि लगानीकर्ता हो। लगानीमा थोर बहुत जोखिम त हुन्छ । जोखिममुक्त केही चिज पनि हुँदैन। बरु हामीले आफ्नो लगानीमा बढी रिस्क लिउँला तर पब्लिकको पैसा भने हामी सकेसम्म जोखिम कम भएकै क्षेत्रमा लगाउने छौं। 

बजारबाट कति पैसा उठाउँदै हुनुहुन्छ ?

३०/७० जुन रेसियो छ। जसमा ७० प्रमोटर र ३० प्रतिशत सर्वसाधारणबाट उठाउने, त्यही रेसियोमा उठाउँदै छौ। जुन पब्लिकको हकमा पर्ने ३४ करोड रुपैयाँ यही साउन १६ गतेबाट उठाउने तयारी गर्दै छौ। जसमा दुई प्रतिशत कर्मचारीहरूलाई र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याइएकाे छ। फेरि म यहाँलाई अर्को कुरा पनि भनिहाल्छु, पब्लिकलाई हामी साउन १६ गतेबाट शेयर निष्कासन गर्दैछौ। तर कर्मचारी र सामूहिक लगानी कोषको लागि भने साउन ६ गते मंगलबार सम्म थियो । जुन समाप्त भइसकेको छ। उक्त अवधिमा माग भन्दा बढी आवेदन परेको पनि म यहाँलाई जानकारी गराउँछु । 

हेर्नुस्, सामूहिक लगानी कोषले सोच बिचार नगरी लगानी गर्दैनन्। उनीहरूले लगानी गर्ने या नगर्ने भन्ने विषयमा एक्सपर्ट टिमबाटै निर्णय गर्नुपर्छ। एक्सपर्टहरूको नजरमा हाम्रो कम्पनी राम्रो ठहरिएको छ। जसले गर्दा उहाँहरूले करिव पौने दुई करोड रुपैयाँ लगानी गरिसक्नु भएको अवस्था छ। माग भन्दा बढी आवेदन परेकोले इस्यु म्यानेजरले उनीहरूलाई दामासाही रुपमा बाँडी पनि सकेको छ।

अर्को कुरा यो कम्पनीमा पहिले स्थापना कालमा जति मानिस आबद्ध हुनुभयो उहाँहरूले राम्रै मानेको अवस्था छ। तर जो आबद्ध हुनुभएन वा भनौँ जो साथीहरू नयाँ आउनु भएको छ । उहाँहरूले हामीलाई पनि आबद्ध हुन दिनुपर्‍यो भनेर सयौँ साथीहरूले भनिरहनु भएको थियो। अब उहाँहरूले नेपालमै भएका आफ्ना परिवारका माध्यमबाट यो प्रोजेक्टमा सहभागिता जनाउँदै हुनुहुन्छ। नेपालमा यसको राम्रै रेस्पोन्स आइरहेको छ। त्यसको उत्तर त आउने दिनले देला । तर अन्तर्राष्ट्रिय स्तरमा रहनुभएका हाम्रा एनआरएन साथीहरू माझ भने यसले खुब चर्चा पाएको छ।

धेरै वर्ष भयो दोस्रो बजारमा एनआरएनकाे लगानी भित्र्याउने भनेको, तर अझै यो सफल हुन सकेन। असफल हुनुको मुख्य कारण एक्स्युलट ल लाइ मानिन्छ। यही कारणले हो कि अन्य कारण छन्?

तपाइले भन्नुभएको कुरा ठीकै हो। तर यसले अहिले धेरै फड्को मारिसकेको अवस्था छ। हामीले पनि यस विषयमा धेरै कुरा उठाएका छाैं। तर यतिबेला नेपालमा लगानी लैजान हो भने कुनै समस्या छैन। 'गैर आवासीय नेपाली ऐन,२०६४ बनिसकेको छ। त्यसमा स्पष्ट रुपमा गैर आवासीय नेपालीहरूको लगानीलाई पनि मान्यता दिने भनेर समावेश गरिएको छ। तर त्यसमा शर्तहरू छन्। जसमा विदेशी मुद्रामा लगानी गरेको हुनुपर्ने, त्यो लगानी फिर्ता लैजान पाउने सबै व्यवस्था छ । तर पक्रियामा चाहिँ बैकिङ च्यानल प्रयोग गर्नुपर्ने हुन्छ। राष्ट्र बैकको स्वीकृति लिएको हुनुपर्छ। फेरि नेपालमा विदेशी मुद्राको संचितिमा ठुलो फरक पर्‍यो भने अर्थतन्त्रमै जटिल अवस्था आउने भएकोले प्रक्रिया भने जटिल पारिएको छ। 

शेयरको सन्दर्भमा भन्नुपर्दा, यस विषयमा पनि धेरै चरणमा कुरा भइसकेको छ। लाखौँ सङ्ख्यामा विदेशमा नेपाली छन्। उनीहरूले पैसा लगाउन सक्छन्। तर धेरै नेपालीले ठूलो रकम बाहिर लगे भने के होला भन्ने कुरा उहाँहरूको छ। त्यसैले राज्य र राष्ट्र बैंकले हेरिरहेको हुनुपर्छ। 

तर निश्चित रकम लगानी गर्न पाइने भन्ने लाइनमा पनि कुरा भएको छ। मलाई के लग्छ भने संसार एउटा सानो गाउँ जस्तै भइसकेको छ। अनलाइनको जमाना आइसकेको छ। अन्य देशले पनि यस्तो अभ्यास गरिसकेका छन्। ढिलो चाँडाे हामी पनि यो बजारमा प्रवेश गर्छौ होला । 

विदेशीले नेपालमा लगानी गर्ने तर स्वदेशीले चाहिँ विदेशमा लगानी गर्न नपाउने अवस्थाले नेपाल पछि पर्‍यो भनिरहेका छन् नि ? 

बाहिरको लगानी नेपाल ल्याउन केन्द्रीय बैकले कुनै अवरोध गरेको मैले थाहा पाएको छैन। तर नेपालीले बाहिर लगानी गर्ने भन्ने कुरामा चाहिँ त्यति धेरै फड्को मारेको जस्तो मैले देखेको छैन। विदेशबाट आएको पूँजी पुन: बाहिर लान भने कुनै समस्या छैन। 

तर नेपाली पूँजीलाई विदेशमा लगानी गर्ने भन्ने कुराको स्पष्ट कानुन भने छैन। भएको कानुन पनि संशोधन भएको छैन। आउने दिनहरूमा बिजनेस कम्युनिटी र राष्ट्र बैकसँग पनि धेरै चोटी छलफल हुँदा उहाँहरूले बिस्तारै यसमा पनि लचिलो हुनुपर्छ भन्ने आश्वासन पाएको छु । 

अन्त्यमा, आउने साउन १६ गतेबाट कम्पनीले साधारण शेयर निष्कासन गर्दैछ। सर्वसाधारणलाई के भन्नुहुन्छ ? 

अन्त्यमा म के भन्छु भने, विदेशमा बस्ने नेपालीहरूले असल उद्देश्यले यो कम्पनीमा लगानी गर्नुभएको छ। फेरि यसले समाजमा केही प्रभाव पारोस्, रोजगार सिर्जना गरोस्, केही रेभिन्यु जेनेरेट गरोस्, कर तिरोस्,भविष्यमा गएर आफूलाई पनि फाइदा गरोस् भन्ने उद्देश्यले पुरा गरिएको हो। यो कम्पनीले सबै राम्रा कम्पनीमा लगानी गरेको छ।आउने दिनहरूमा पनि हामी धेरै सोच बिचार गरेर मात्रै लगानी गर्नेछौ।  राम्रो रिटर्न दिने क्षेत्रमा लगानी गर्ने छौ।हामीलाई विश्वास गर्नुहोस्, फेरि के भन्छु भने तपाइले पनि अगाडि भन्नु भयो, शेयरमा लगानी गर्दा एउटै बास्केटमा धेरै चिज रख्न हुन्न । जोखिम जस्ताे लागेमा  थोरै मात्र लगानी गर्दा पनि हुन्छ। हामी राम्राे रिर्टन दिन्छाै । यही अनुरोध गर्छु । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।