'२०२० को डिसेम्बर अघि ठूला तारे होटल खुल्ने अवस्था छैन,पुरानाे लयमा फर्कन थप दुइ बर्ष लाग्छ'

Jul 31, 2020 06:28 PM Merolagani

बिहीवारबाट हाेटलहरू खुलेकाे छन्, तर पूर्ण क्षमतामा भने सञ्चालनमा आएका छैनन् । नयाँ पाँच तारे हाेटलहरू खुलेपनि पुराना खुलेका छैनन् । काेराेनाकाे प्रभाव विश्वव्यापी रूपमा परेकाले कहिलेदेखि हाेटल पूर्ण रूपमा सञ्चालन हुन्छन्, स्वंय हाेटल सञ्चालकहरू नै भन्न सक्ने अवस्थामा छैनन् ।

काेराेनाकाे संक्रमण बढिरहेकाे समयमा हाेटलहरू खाेल्नुपर्ने बाध्यता किन देखियाे? बाह्य पर्यटक शुन्य भएकाे अवस्थामा हाेटल सञ्चालनकाे आधार के हाेला? स्वास्थ्य सतर्कता कसरी अपनाइएकाे छ? सरकार र केन्द्रीय बैंकले दिएका राहत प्याकेजले कतत्तिकाे सहयाेग गर्छ? यिनै बिषयमा हाेटल एशाेसिएसन अफ नेपालका अध्यक्ष सिर्जना राणासँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् । 

हाेटल व्यवसायमा पछिल्लो समयको अवस्था के छ?  यहीबाट कुराकानीको थालनी गर्न चाहन्छु । 

भ्रमण वर्ष २०२० को जुन सपना हामीले देखेका थियौ त्यो सबै सपना कोभिडका कारण चकनाचुर भएको छ। यो नेपालमा मात्रै नभएर विश्व स्तरमै देखिएको समस्या छ। यसले टुरिजम क्षेत्रलाई नराम्ररी धक्का दिएको छ। एक महिनामा झन्डै सय मिलियनको धक्का लाग्दै गएको छ। जुन क्षेत्रमा करीव सात लाखले रोजगारी पाउँदै आएका थिए। उनीहरूको दैनिकी नै अप्ठ्यारो अवस्थामा पुर्याइदिएकाे छ। यो यस्तो क्षेत्र हो जसले धेरै क्षेत्रलाई एकैपटक फाइदा पुर्याउदै आएको थियो। जस्तै भनौँ, कुनै एक विदेशी पर्यटक नेपाल भित्रदा ११ क्षेत्र/व्यवसायका नेपालीले फाइदा पाउने गरेका थिए। जसमा ट्याक्सी व्यवसायीदेखि भरियासम्मले रोजगारी पाउने गरेका थिए। यसले अर्थतन्त्रमा राम्रो टेवा पुर्याउँदै आएको थियो।

यतिबेलाको अवस्था यति जटिल छ कि, आम्दानी शून्य छ। यस्तो अवस्थाको अनुभव हामीले कहिल्यै गरेका थिएनौ। जुन अहिले हामीले भोगिरहेका छौ। यसअघि भूकम्पले तहसनहस पारेको अवस्थामा पनि हामी बाउन्स व्याक भएका थियौ। त्यो बेला धेरै समय लागेको थिएन । हामी चाडै पुरानै लयमा फर्किएका थियौ। तर गएको पाँच महिनामा एक रुपैयाँ पनि आम्दानी नभएको अनुभव हामी यति बेला गरिरहेका छौ। समग्रमा धेरै खराब स्थिति छ अहिले। 

दरबारमार्गमा जुन ठाउँमा तपाइको होटेल छ। यस अघि त्यो ठाउँमा निकै चहल पहल हुन्थ्यो। तर यति बेला सुनसान र उराठलाग्दो देखिन्छ। त्यो दृश्य देख्दा तपाई कस्तो अनुभूति गर्नुहुन्छ ? 

दरबारमार्ग जस्तो मोष्ट ह्यापेनिङ्ग स्ट्रिटमा जाँदाखेरी त्यस्तो दृश्य देख्दा मलाइ मात्रै होइन त्यो बाटो हिँड्ने पब्लिकलाई समेत असाध्यै नरमाइलो लाग्छ। तर पनि म के भन्छु भने, हामी कुनै न कुनै दिन फेरि त्यही अवस्थामा पुग्छौ भन्ने विश्वास छ। धेरै अघि बढेपछि फेरि हामी त्यो दिनलाई फर्किएर हेर्ने छौ। अनि भन्ने छौ 'अहो त्यस्तो दिन पनि थियो है' । 

तर त्यो दिन आउन समय लाग्छ। त्यही भएर अहिलेको अवस्थामासँगै मिलेर अघि बढ्नुपर्छ। मलाई लाग्छ यसमा सरकार, लगानीकर्ता र कर्मचारी सबैले एक अर्कालाई साथ दिएर अघि बढ्नुपर्छ। 

होटल क्षेत्र किन सुचारु गर्न लागिएको हो। यो सुचारु गर्नैपर्ने जरुरी हो ? 

अहिलेको अवस्थामा नेपाल मात्रै होइन संसार नै आक्रान्त छ। ठुलो चुनौतीको सामाना संसारले गरिरहेको छ। कोभिडबाट बच्ने र अर्थतन्त्र कसरी जोगाउने वा भनौँ कसरी आफ्नो गाँस जुटाउने भन्ने चुनौती छ। तर यति भन्दै गर्दा संसारभरिका मानिसहरूले के सोच्न थाले भने, कोभिडबाट भाग्दैमा समस्या समाधान होला र? अर्थतन्त्र बिना कसरी आहारा सिर्जना होला? भन्ने अवस्था आएको हुनाले संसारका बजार बिस्तारै खुल्न थालेका छन्। नेपालमा पनि सरकार र सर्वसाधारणले अब त सधैँ बन्द गरेर हुँदैन। अर्थतन्त्र पनि बिस्तारै चलायमान गर्दै जानुपर्छ भन्ने भएर यस्तो अवस्थामा पनि केही खुकुलो पारिएको हो। 

सरकारले आउँदो १७ तारिखबाट अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेकाे छ। बिहीबारबाट सबै होटेल खोल्ने व्यवस्था गरि नै सकेकाे छ। त्यसमा म के भन्न चाहन्छु भने, मैले पनि केही छिमेकी र पर्यटकीय देशको अध्ययन गरेको थिए। त्यो अध्ययनले के देखायो भने, अन्तर्राष्ट्रिय भन्दा आन्तरिक पर्यटनमा बढी सम्भावना छ। कारण खोज्दा के पाइयो भने, पर्यटन भनेको मानिसको एक अंश पनि हो। फेरि अर्कोतर्फ छुट्टी भनेको छुट्टीमा मात्रै सीमित रहेन । मस्तिष्कको आराम पनि हो। त्यसको लागि केही दिन घर बाहिर निस्कनुपर्छ। जसले नयाँ अनुभव र आराम दिन्छ भन्ने सोच आम मानिसको हुन थालिसक्यो। 

त्यही भएर हाम्रो पर्यटन मन्त्रीले यसमा बढी जाेड दिइरहनु भएकाे छ। नेपालमा पनि यसलाई अघि बढाउने प्रयास गरिएको हो। फेरि उपत्यका बाहिरको होटेलमा उत्सुकता पनि देखिएको छ। त्यसकारण आन्तरिक पर्यटनमा अलि बढी सम्भावना देख्छु । 

बिहीवारबाट केही होटेल सुचारु भएका छन्। तर ठूला होटेल भने केही खुलेकाे र केही नखुलेको अवस्था छ। किन यस्तो ?

हेर्नुस् यस्तो बेलामा केही ठूला होटेल खुलेका छन्। केही बन्द नै छन्। जो यो क्षेत्रमा नयाँ आउनु भएको थियो, उहाँहरूले च्यालेन्ज नै लिएर चलाउनु भएको छ। फेरि नयाँ होटललाई ऋणको समस्या छ। उहाँहरूले  ऋण लिएर भर्खरै व्यवसाय सुरु गर्नुभएको छ। तर हाम्रो जस्तो ५० वर्ष पुराना होटेलमा कर्मचारी व्यवस्थापनमा समस्या छ। आम्दानीभन्दा खर्च बढी भयो भने हामीले थेग्न सक्ने स्थिति हुँदैन। त्यही भएर नयाँ ठूला होटेलले निश्चित सेवाहरू खोलेको अवस्था हो। पुराना ठूला होटेल भने खुल्दैनन्। तर अवस्थालाई तौलिँदै जान्छन्। त्यही अनुसार अरूले पनि खोल्दै जानेछन्।

पर्यटकको अवस्था के हुन्छ? ट्राभल्स अपरेटरहरूले कस्तो अफर ल्याउँछन्। सोधपुछ कस्तो हुन्छ। यस्ता आधारलाई हेरेर ठुला होटेल अघि बढ्छन्। २०२० को डिसेम्बर अघि भने ठूला तारे होटेल खुल्ने अवस्था म देख्दिन। 

भन्नुको अर्थ २०२० भन्दा अघि ठुला होटेल खुल्दैनन् ?

खुल्छ। तर सानो-सानो स्केलमा खुल्छ। सरकारले नै भनिसकेपछि नखोल्ने भन्ने हुँदैन। तर लार्ज स्केलमा भने खुल्दैन। फेरि लार्ज स्केलमै होटल खोल्ने भइयो तर पर्यटक आउँदै आएनन् भने? त्यो आर्थिक हिसाबले पनि खोल्न ठिक हुँदैन। त्यही भएर पर्यटक आगमनको अवस्था हेरेर खोल्दै लाने भनेको हो।

ठमेलका होटेल सञ्चालकहरू समेत व्यवसाय खोल्न उत्सुक हुनुहुन्छ। हामी कोसिस गर्छौ भनिरहनु भएको छ। 

तपाइले भन्नुभयो पुराना होटेल र नयाँ होटेलमा केही फरक हुन्छ। विशेषगरी खर्च र कर्मचारी व्यवस्थापनमा समस्या झेल्नुपर्छ भन्नुभयो । अलि प्रस्ट्याइदिनुस् न ? 

मैले अघि नै भने, नयाँ होटेललाई ऋणको ठुलो समस्या छ। त्यसको किस्ता तिर्नैपर्ने अवस्था छ। जसको लागि व्यवसाय खोल्नै पर्ने अवस्था छ। तर पुराना ठूला होटेलको खर्च अलि बढी छ। आम्दानीको ४० प्रतिशत कर्मचारी व्यवस्थापनमै खर्च हुन्छ। त्यो भनेको निक्कै उच्च प्रतिशत हो। तर यो भन्दै गर्दा पनि हामीले बाचौँ र बचाउ भन्ने नारालाई बिर्सिएका भने छैनौ। लगानीकर्ताले पनि संस्था बचाउनुपर्छ, कर्मचारीलाई हेर्नु पर्छ। कर्मचारीले पनि संस्था बचाउने भन्ने हुन्छ।

त्यही भएर होटेल एसोसिएशन अफ नेपालले सन् २०२० डिसेम्बरसम्मका लागि एउटा सम्झौता गरेको छ। जुन हाम्रो लागि निकै ठुलो उपलब्धि हो। कर्मचारीले अहिलेको अवस्थालाई राम्रोसँग बुझेका छन्। त्यही भएर अहिलेलाई विन विन सिच्युएशनमा सम्झौता भएको हो। 

सम्झौता कस्तो भएको हो ?

लेभल अनुसारका होटेलले, जस्तै ५ स्टार, ४ स्टार लगायतले २०२० डिसेम्बरसम्मलाई निश्चित पारिश्रमिक मात्रै दिने सम्झौता भएको छ। फेरि म भन्छु यो कर्मचारी र लगानीकर्तावीच भएको सबैभन्दा महत्त्वपूर्ण सम्झौता हो। जसमा जीवन बचाउने उपाय लगाइएको छ। लगानीकर्ता पनि कमजोर नहोस्, कर्मचारीको पनि जीवन धानियोस्। 

अर्को प्रसङ्गमा जाऊ, होटेल खोल्दै गर्दा स्वास्थ्यको चुनौती पनि छ। त्यसको व्यवस्थापन कसरी मिलाउँदै हुनुहुन्छ ?

यो बीचमा हामीले एउटा ठूलो उपलब्धि हासिल गरेका छौ। हाम्रो नेपालको टुरिजम बोर्डको प्रमुख कार्यकारी अधिकृतले यसलाई धेरै चासो दिएर टुरिजम एसोसिएसनलाइ समेटेर, डब्लुएचओको मापदण्ड, छिमेकी मुलुकहरूको मापदण्ड, टुरिस्ट बेस मुलुकका मापदण्डलाई सबै अध्ययन गरेर नेपालको पनि मापदण्ड तयार भएको छ। त्याे हाम्रो लागि ठूलो उपलब्धि भयो। त्यो प्रेसमा पनि आइसकेको छ। त्यसको अनलाइन तालिम पनि सुरु भईसकेको छ। त्यसैलाई आधार बनाएर होटेल चलाउने तयारी भएको छ। 

एकथरी मानिसहरूले के भनिरहेका छन् भने, यतिबेला होटेल खोल्नु भनेको चित्त बुझाउन मात्रै हुन्छ। किनकि पर्यटक आउने सम्भावना छैन । तपाईँलाई कस्तो लाग्छ ? 

अब नेपालीले नै देशको अर्थतन्त्रलाई टेवा दिने बेला आएको छ। विदेश घुम्ने नेपाली अब नेपाल पनि घुम्नुपर्‍यो। हाम्रो प्रडक्टको  पनि डेभलपमेन्ट गर्नुपर्ने जरुरी छ। त्यसमा पनि केही कमजोरी छ। म बारम्बार सरकारलाई त्यही सुझाव दिइरहेकी हुन्छु। हेर्नुस् हाम्रो यति राम्रो मुलुक छ। तर हाम्रो मुलुकको बारेमा कुरा गर्दा पोखरा र चितवनको मात्रै किन नाम आउँछ त? रारा भन्ने किन आउँदैन? धनकुटाको ३६ रङ्गको लालिगुराँस हेर्न जाने कुरा किन आउँदैन? त्यो कमी कमजोरी कसको हो? त्यो कमजोरी त सरकारकै हो नि । सरकारले प्रडक्ट  डेभलपमेन्ट गर्न नसकेकै कारण नेपालीले नै आफ्नो देशको कुना काप्चा हेर्न नपाएका हुन्। 

हो, त्यसमा हाम्रो कमी कमजोरी छ। तर पनि आन्तरिक पर्यटनले देशको अर्थतन्त्रमा धेरै ठूलो टेवा दिन्छ। त्यसैले आन्तरिक पर्यटन उत्तिकै महत्त्वपूर्ण छ। त्यो बाहेक हाम्रा दुई छिमेकी मुलुक भारत र चीनलाई यो अवस्था थोरै स्टेबलाइज भएपछि त्यहाँबाट पर्यटक आए भने त्यसले धेरै राहत दिन्छ।

युरोपियन पर्यटकको आशा नगरे पनि हामीले त्यसबाट पनि केही आशा गर्न सक्छौ। तर फेरि पनि भन्छु, अहिले अवस्था जटिलै छ। मैले जति पनि पढिरहेको छु । यो बेला ट्राभल गर्ने होइन भन्ने नै पाइरहेको छु। त्यही भएर अन्तर्राष्ट्रिय पर्यटक आगमनमा म पूर्ण विश्वस्त हुन सकेको छैन। तर आन्तरिक पर्यटनमा भने म विश्वस्त छु। 

तपाई आन्तरिक पर्यटनमा बढी नै विश्वस्त देखिनु भएको छ। तर स्वास्थ्य मन्त्रालयको डाटाले हरेक दिन सङ्क्रमण बढेको देखाइरहेको छ। उता पशुपतिनाथ मन्दिर खुलिसकेको छैन। यता होटेल क्वारेन्टिन पनि असफल भएको अवस्था हो। यस्तो बेलामा नेपाली घुम्न निस्किहाल्लान् र?

यो सरकारको कुरा भयो। सरकारले ल्याएका योजना राम्रा हुन्छन्। तर कार्यान्वयनमा चुनौती हुन्छ हाम्रो देशमा। यो प्रश्न तपाई सरकारलाई नै गर्नुस्। हामीले यो प्रश्न सरकारलाई गरेको धेरै भइसक्यो। योजनामा हाम्रो देश निकै अघि हुन्छ तर कार्यान्वयन सधैँ कमजोरी। सिस्टममा कमी कमजोरी छ। समन्वयात्मक तरिकाले काम गर्ने कमजोरी छ, इभ्यालुएसनमा कमजोरी छ, चेकिङमा कमजोरी छ। 

तरपनि त्यो आफ्नै ठाउँमा छ। हामी आफ्नो बाटो हिँड्नैपर्‍यो। व्यवसाय चलाउनैपर्‍यो। तर त्यसमा कुनै प्रश्नै भएन। तर म चाहिँ आन्तरिक पर्यटनमा डराउनुपर्ने अवस्था देख्दिन।

पछिल्लो समय सरकारले आन्तरिक पर्यटनलाई बढावा दिन भनेर बजेटमा सरकारी कर्मचारीलाई घुम्नकै लागि छुट्टी दिने भनेको छ। यसको कार्यान्वयन पक्षका बारेमा तपाइहरूले चासो राख्नुभएको छ ?

यसमा पर्यटन मन्त्रीको ठूलो जोड थियो। यो भारतमा पनि धेरै प्राक्टिसमा छ। अन्य मुलुकमा पनि यस्ता व्यवस्था छन्। त्यसले आन्तरिक पर्यटनमा सघाउ पुर्याउछ। आइडिया धेरै राम्रो तर फेरि कार्यान्वयनको चुनाैती छ। 

हिजै हामीले आफ्नै देशका पाहुनाहरूलाई के कस्तो प्याकेज दिन सक्छौ भनेर होटेल एसोसिएसनमा छलफल गरेका थियौ। अब काठमाडौँ बाहिरका च्याप्टरहरूलाई राम्रो प्याकेजहरू खोलेर आकर्षण दिनुपर्‍यो भन्ने छलफलमा कुरा भएको थियो। नेपाली एयरलाइन्सहरूले पनि त्यस्ता प्याकेज लिएर आएका छन्। होटलले पनि त्यस्तै प्याकेज ल्यायो भने त्यसले पक्कै यसमा आकर्षण बढाउँछ। 

अब आऊ, होटेलको समस्या र दायित्वतर्फ। दायित्व बढ्दै छ। त्यसमा पछिल्लो समय आएको मौद्रिक नीतिले केही सहयोग गर्‍यो? 

यतिबेला दुई वटा समस्या प्रमुख छन्। पहिलाे, पर्यटक आगमन शून्य छ, दोस्रो फाइनान्सियल्ली । यी दुवै समस्याको समाधान गर्न हामीले पहल गर्न छाडेका छैनौ। सबैभन्दा पहिले त आफ्नै तालुक मन्त्रालयमै बढी पहल गर्‍यौ। त्यसपछि नेपाल राष्ट्र बैकदेखि गर्नुपर्ने सबै ठाउँमा हामीले सुरु देखिनै पहल गर्‍यौ। तर पछिल्लो समय रिलिफको लागि जुन नेपाल राष्ट्र बैकले ल्याएको छ, त्यो राम्रो छ। जसमा सब्सिडाइज लोन, रि फाइनान्स, ब्याजदर पाँच प्रतिशतमा झारियो। 

यसमा केन्द्रीय बैकले परिस्थिति बुझेको छ। व्यवस्था पनि गरिएको छ। तर दिएपनि हामीलाई पुग्न त पुग्दैन। अझै पनि एक दुई कुरामा हामीलाई अझै चित्त बुझेको छैन। सिलिङ बिस कोड तोकिएको छ, त्यो ठुलो होटललाइ पुग्दैन। फेरि वर्किङ मोडालिटि बनाउनु भएन भने त्यसले काम गर्दैन।

तपाईकै मिडियाबाट सरकारलाई धन्यवाद पनि दिन्छु । सरकारले हाम्रो समस्या सुनिदिएको छ। तर फेरि भन्छु वर्किङ मोडालिटि चाँडै आउनुपर्‍यो। जतिसुकै योजना ल्याए पनि कार्यान्वयन भएन भने त्यसले काम गर्दैन।

मौद्रिक नीतिले दिएको सुविधा कार्यान्वयनमा आउने चुनौती छ। प्रत्येक ग्राहकको सिलिङ २० करोड रुपैयाँको गरिदिएको छ। तर त्यो पर्याप्त छैन। हाम्रो जस्तो ठूला होटेललाई त्यसले पुग्दैन। गत वर्ष २० प्रतिशत प्रतिफल दिएको हुनुपर्ने। त्यसैगरी सामाजिक सुरक्षा कोषमा रकम दाखिला भएको हुनुपर्ने। लकडाउनको अवधि सकिएपनि त्यो तत्कालै गर्न सक्ने अवस्था छैन। त्यसलाई पनि अझै बढाउनुपर्ने देखिन्छ। यसैगरी अहिलेसम्म पर्यटन क्षेत्रलाई राज्यको प्राथमिकता प्राप्त  क्षेत्रमा अझै राखेको छैन। यसलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राखिदिनु पर्छ। अरू इन्डष्ट्रिलाई यो सुबिधा छ। तर पर्यटन क्षेत्रलाई यो सुबिधा अझै दिइएको छैन। यस्तो सुविधा दिनुपर्‍यो भनेर हामीले धेरैचोटी भनिसकेका छौ। तर त्यो सुनवाई भएको छैन।

उहाँहरूले पर्यटन क्षेत्रको योजना बनाउँदा हाइ लेभलको पर्यटन व्यवसायलाई मध्य नजर गरेर एउटा समिति नै बनाउनुपर्छ। योजना बनाउँदा त्यो समितिमा छलफल गर्नुपर्छ। त्यसमा सम्बन्धित क्षेत्रका प्रतिनिधिलाई पनि सहभागी गराउनुपर्छ। त्यसले दिएका सुझावको आधारमा योजना तर्जुमा गर्न सकियो भने ठूलो उपलब्धि हासिल गर्न सकिन्छ। पर्यटन क्षेत्रमा पनि एकद्वार प्रणाली हुनुपर्छ।

त्यसैगरी पर्यटन क्षेत्रको विकासको लागि छुट्टै कोष खडा गर्नुपर्छ। यीनै हुन् हाम्रा माग अरू त केन्द्रीय बैंकले पुरा गरिदिएकै छ।

हरेका समस्याले नयाँ परिवर्तन ल्याउँछ भनिन्छ। यसले आगामी दिनमा कस्तो परिवर्तन ल्याउला?

जहिले पनि समस्या आउँदा मूल्य घटाउने प्रचलन छ। त्यो चाहिँ गर्नु हुँदैन । किनभने विश्व स्तरका आफ्ना आफ्नै मूल्य हुन्छन्। त्यसमा एकरुपता हुनुपर्छ। बरु सेवा सुबिधा अलि दिनुपर्छ। दुई/तीन वटा कुरा यो अवस्थाले थप सिकाएको छ। एउटा दुख पर्‍यो भन्दैमा गएका दिनमा गरेका गल्तीहरू नदोहोर्‍याउने। मूल्यलाई एकरुपता दिनुपर्छ। मुलुकको स्तर पनि राख्नुपर्छ।

अर्को कुरा नेपालको सेवा स्तर अलिकति खस्किएको छ। त्यसलाई अझै बढाउनु पर्छ र बढाउँछौ पनि।

अब वातावरणलाई पनि ध्यान दिनुपर्ने देखिएको छ। वातावरणमा प्रभाव पर्ने कुरालाई ध्यान दिन्छाै। अर्को कुरा भनेको कर्मचारीमा पनि परिवर्तन हुन्छ। यसअघिको मेरो जागिर भन्ने मानसिकता परिवर्तन हुन्छ। अब मैले गर्ने काम र मेहनतले नै मेरो करियरलाई अघि बढाउँछ। नत्र जागिरे प्रवृत्तिले टिक्न सकिँदैन भन्ने मानसिकताको विकास हुने छ। 

अब कति समय लाग्ला पुरानै लयमा फर्किन ?

२०२० त गईहाल्यो। २०२१ को अवस्थालाई हेरेर भन्न सकिन्छ। तर मलाई लाग्छ २०२२ देखि अघि बढ्ला । तर पुरानै लयमा फर्किन कम्तीमा चार वर्ष लाग्ला । किनकि यसले नेपालमा मात्र नभईकन विश्वकै अर्थतन्त्रमा प्रभाव पारेको छ। विश्वको अर्थतन्त्र नउस्की नेपालको मात्रै उस्की भन्ने हुँदैन। आखिर पर्यटक त विदेशबाटै आउने हो।  बिश्वमा  स्थायित्व नआई पुरानै लयमा फर्किन गाह्रो हुन्छ।

पर्यटन क्षेत्रले नेपालको भबिष्य नै परिवर्तन गर्नसक्छ भन्ने गरिन्छ। तर यसलाई राज्यले क्यास गर्न नसकिरहेको भन्ने पनि छ। सरकार कहाँ चलिरहेको छ ?

यसमा तीनवटा कुरा छ । हाम्रो मुलुकको सम्भावना तीन क्षेत्रमा बढी देखिन्छ। टुरिजम, कृषि र जलविद्युत। यसमा पनि जलविद्युतमा राम्रै लगानी भएको देखिन्छ। तर कृषि र पर्यटनको अन्तर सम्बन्ध छ। जसमा हाम्रो स्वदेशी उत्पादनमा गर्व गर्नुपर्छ। त्यसमा सुधार गर्ने बित्तिकै कृषि क्षेत्र परिवर्तन हुन्छ। 

अब पर्यटनको कुरा गराैं। नेपाल यस्तो सुन्दर देश छ। त्यसको महत्त्व हामीले अझै बुझेका छैनौ। नेपालीले त राम्रोसँग नेपाल देखेको छैन भने विदेशीको त कुरै छाडौँ।

चाहे त्यो रामायण सर्किट होस्, चाहे त्यो बुद्दिष्ट सर्किट होस् या एडभेन्चर टुरिजम होस्। खै त्यसको उपयोग भएको? त्यो सबैमा जानसक्ने वातावरण बन्नुपर्‍यो। एयर कनेक्टिभिटी र रोड कनेक्टिभिटी मिल्नुपर्‍यो।

यति गरेर मात्रै पनि पुग्दैन। बाटोमा शौचालय, चिया पसलदेखि होटेलसम्मको सरसफाइ र स्वास्थ्य खानेकुरा । ती सबैको राम्रो व्यवस्थापन हुन जरुरी हुन्छ। किनकि बाटामा एक कप चिया खादा बिरामी पर्ने अवस्था रह्यो भने त्यसले काम गर्दैन। स्वास्थ्य खानेकुरा वा भनौँ सेफ फुड हुनु पर्छ। चाहे त्यो साधारण होम स्टे होस् या ठुलो होटेल । त्यसको ग्यारेन्टी हुनु पर्छ। त्यसको निमन र अनुगम दह्राे  हुनु पर्छ।

अर्को चुनौती सरसफाइको छ। नेपालीले कहिले सिकेनन् कि आफ्नो मुलुक सफा राखौँ भनेर । त्यसमा ध्यान पुर्‍याउनु पर्छ। अर्को आपतकालिन सुरक्षा । त्यसको व्यवस्था पनि हुनु पर्छ। बेला बेलामा जसरी समस्या सिर्जित भइरहेको छ। त्यसको समाधानको उपाय लगाउनु पर्छ।

यो सबै कुरा भयो भने हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौ। फेरि प्रडक्टहरू तयार छन्। तर तिनको मार्केटिङ मिलेको छैन। कुन प्रडक्टको मार्केटिङ कसरी कुन देशमा गर्ने भन्ने निर्क्योल हुनु पर्‍यो। हाम्रो देशको मार्केटिङ हामीले गर्नै सकेका छैनौ। केही सोसल मिडिया र थोरै पोस्टर पम्पे लट छापेर हुँदैन। त्यसलाई राज्यले नै नेपाल भन्ने चिनाउने मार्केटिङ गर्नु पर्छ। अनि पो विश्वबाट नेपाल आउँछन्। अहिले मार्केटिङको पनि उत्तिकै आवश्यकता छ।

यति गरेर हामी अघि बढ्न सक्यौ भने यो क्षेत्रले नयाँ मोड लिने छ। बर्षौ वर्षदेखि केही भएकै छैन। तर सरकारले पनि नबुझेको भने होइन । उसले पनि बुझैकै हो। तर काम भएको छैन। 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।