प्रविधि प्रयाेगमा फड्को मार्दै बीमा कम्पनीहरू,लकडाउनले सिकायो पाठ

Aug 04, 2020 01:09 PM Merolagani

  • अरूण पाख्रेन

लकडाउनपछि बीमा कम्पनीहरूले डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (काेभिड १९) रोकथाम तथा नियान्त्रणको लागि सरकारले लकडाउन गरेपछि बीमा कम्पनीहरूले डिजिटल प्रविधिको प्रयोग तीब्र बनाएका हुन्।

लकडाउन कै बीचमा बीमा कम्पनीहरूकाे नियमन गर्ने  निकाय बीमा समितिले अनलाईन मार्फत बीमालेखहरू जारी गर्न निर्देशन दिएको थियो । यसैगरी, बीमा समितिले बीमाशुल्क पनि अनलाईन मार्फत भुक्तानी गर्ने सकिने व्यवस्था गरेको थियाे ।

बैंक तथा वित्तीय संस्थाबाट साथै, इसेवा, खल्ति, फोन पे लगायतका डिजिटल वालेट मार्फत पनि बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरिएकाे थियाे । लकडाउन अघि केही कम्पनीहरूले मात्रै यस्तो सुविधा दिँदै आएकोमा अहिले अधिकांश बीमा कम्पनीहरूले यस्तो सुविधा दिँदै आइरहेका छन् ।

जीवन बीमा अन्तरगत नेपाल लाइफ, प्राइम लाइफ, सुर्या लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, युनियन लाइफ, मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ, महालक्ष्मी लाइफ, नेशनल लाइफ, प्रभु लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ लगायतले नवीकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएका छन् ।

यस्तै निर्जीवन बीमा कम्पनीहरू अन्तरगत शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले पनि अनलाइन मार्फत बीमा शुल्क तिर्न मिल्ने व्यवस्था गरेका छन् ।

लकडाउनको अवधीमा बीमा समितिले अनलाईनको माध्यमबाट गर्न सकिने कामका लागि घरबाट गर्न सकिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको थियो । त्यसअनुसार जीवन बीमा कम्पनीहरूले बीमाशुल्क रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउन तथा बीमाशुल्क संकलन गर्न बैंक वित्तीय संस्था तथा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थासँग सहकार्य गरेका हुन् । यस्तै बीमा कम्पनीहरूले आफ्नो मोवाईल एप्स मार्फत पनि सेवा सुविधाहरू प्रदान गर्दै आइरहेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले पनि दावी भुक्तानीका लागि विद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकिन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाएका छन् ।

समितिले सूचना प्रविधिको नीति तथा उपयोगबाट बीमितहरूलाई सेवा तथा सुविधा दिन बीमकको सूचना प्रविधि मार्गदर्शन समेत लागू गरिसेको छ । त्यसअनुसार पनि बीमा कम्पनीहरूले सूचना प्रविधिमा आफुलाई अपग्रेड गर्दै लगिरहेको समितिका सूचना प्रविधि प्रमुख मिलनराज नेपालीले मेराे लगानीलाई बताए । प्रविधिकाे प्रयाेगकाे लागि लकडाउनले थप प्राेत्साहन गरेकाे पनि उनकाे भनाइ छ ।

समितिले जारी गरेको सूचना प्रविधि मार्गदर्शन अनुसार बीमा कम्पनीहरूले आफ्नो कार्य सञ्चालनको लागि कोर एपलीकेशन सफ्टवयरको प्रयोग गर्नुपर्ने र आवश्यकता अनुसार मोवाइल तथा अन्य प्रकारको एप्स निमार्ण गरी प्रयोग ल्याउनु पर्ने व्यवस्था छ ।

यस्तै बीमकले नयाँ बीमालेख जारी गर्दा र नविकरण शुल्क भुक्तानी गर्दा इजाजत प्राप्त विद्युतिय भुक्तानीका माध्यमहरू प्रयोग गर्नुपर्ने उल्लेख छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।