नाेट सक्कली हो वा नक्कली छुट्ट्याइ माग्न राष्ट्र बैंक धाउनेहरू बढे,जुवाकाे खालदेखि इन्धन खरीदसम्म प्रयाेग

Aug 09, 2020 05:55 PM Merolagani

  • विष्णु बेल्बासे

बजारमा पछिल्लो समय नक्कली नोटको कारोबार निकै फस्टाएको छ । नक्कली नोटको बिगबिगी बढेपछि आफूसँग भएको नोट सक्कली हो वा नक्कली छुट्ट्याइ माग्न नेपाल राष्ट्र बैंक धाउनेको संख्या बढ्दै गएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषको हातमा नक्कली नोट पर्ने क्रम बढेको छ ।  दैनिक १० वटा नक्कली नोट भेटिने गरेका छन् ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवंम कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नक्कली नोटको बिगबिगी छ भन्ने हल्ला बजार जति छ त्यो अनुसारको नक्कली नोट नभएको बताए । ‘नक्कली नोट फाट्टफुट्ट रूपमा आउने गरेका छन्,’ उनले भने, ‘बजारमा हल्ला भएजति नक्कली नोट छैनन् ।’

प्रहरी प्रशासनले पनि त्यत्तिकै मात्रमा नक्कली नोट जफत गर्ने गरेको छ । उनीहरूले त्यसरी जफत गरेका नोटलाई आफ्नै तरिकाले नष्ट गर्ने गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बाहेक राष्ट्र बैंकका क्षेत्रीय कार्यालयले पनि ठूलो मात्रमा नक्कली नोट आउने गरेका छन् । क्षेत्रीय कार्यालयले पनि त्यसरी प्राप्त नोट वर्षको एकपटक जलाउने गर्छन् ।

बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषबाट नक्कली नोट आउने केन्द्रीय बैंकको भनाइ छ । त्यसरी आउने नक्कली नोटलाई ६ महिनादेखि एक वर्षभित्र मुचुल्का बनाएर जलाउने गरिएको छ । बढी भिडभाड हुने ठाउँमा नक्कली नोटको प्रयोग बढी हुने गरेको राष्ट्र बैंकको भनाइ छ ।

५ सय र हजार दरका नक्कली नोट सबैभन्दा बढी कारोबार हुने गरेको छन् । ‘ठूला दरका नक्कली नोट बनाउने गिरोहलाई फाइदा हुने गर्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालले भने, ‘त्यसैले ठूला दरका नोट मात्र नक्कली हुन्छन्, १ सय रूपैयाँ भन्दा साना दरका नोट अहिलेसम्म नक्कली भएको पाइएको छैन् ।’

अध्ययन अनुसार बढी भीडभाड हुुने क्षेत्र, जुवाको खाल, हाटबजार, इँटा भट्टाका मजदुरलाई ज्याला दिँदा, गाउँघरमा खसी–बोका किन्दा, होटल र भारतीय बजारमा लागू औषध तथा इन्धन खरिद हुने क्षेत्रमा नक्कली नोट प्रयोग हुने गरेको छ ।

राष्ट्र बैंकले नक्कली नोटविरुद्ध बेलाबेला सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । राष्ट्र बैंकले समयसमयमा चेतनामूलक कार्यक्रम गरे पनि नक्कली नोटको प्रयोगमा भने कमी आएको छैन ।

नक्कली भारतीय रूपैयाँको कारोबार र तस्करी हुने गरेको नेपालमा केही वर्षयता नक्कली नेपाली रूपैयाँको कारोबार बढेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब २० लाख नक्कली नोट बरामद भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय रौतहटमा ५ सय र हजार दरका ४९ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट फेला परेको थियो । त्यसैगरी, धरानको एउटा बैंकबाट भारतको खर्साङ पठाउन लागेको दुई लाख रुपैयाँमध्ये ७४ हजार नक्कली थियो ।

राजधानी काठमाडौं र बाहिरका विभिन्न स्थानबाट नक्कली नेपाली रुपैयाँ बरामद भएका छन् । केही वर्षअघि ललितपुरको ठैबबाट २ लाख ९९ हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली नोट मात्रै होइन, भारतीय नक्कली नोट पनि फेला पर्न थालेका छन् । गत असारको २८ गते झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद गरिएको थियो । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका थिए । यसअघि गत वर्षको जेठमा काठमाडौंमा ७ करोड रुपैयाँ नक्कली भारतीय नोटसहित युनिस अन्सारी पक्राउ परेका थिए । त्यसयता ठूलो परिमाणमा झापामा भारतीय नक्कली नोट समातिएको हो ।

प्रहरीका अनुसार पहिला नोट छाप्न मेसिन नै प्रयोग गरिन्थ्यो । अहिले प्रिन्टरका माध्यमबाट फोटोकपी गरेर बनाउने गरेको पाइएको छ । राष्ट्र बैंकले नक्कली नोट जम्मा गरेर जलाउने गरेको छ । बेलाबेला व्यक्तिगत वा संस्थामार्फत आएको नोट जलाउँदै आएको राष्ट्र बैंकको छ ।

नक्कली नोट कारोबार गर्नेलाई मुलुकी ऐनको खोटा चलन अन्तर्गत मुद्दा चलाइन्छ । लागू औषधको कुलतमा फसेका युवाको माध्यमबाट बजारमा पठाउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
नोटको प्रयोग गर्नुअघि आकार, साइज, गाढापन, होलोग्राम, सुरक्षा धागो हेर्नुपर्ने विज्ञ बताउँछन् ।
राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि विशेष सावधानी अपनाउन थालेको छ । नयाँ छाप्ने प्रक्रियामा नोटमा व्यापक परिवर्तन गरेको छ । नयाँ नोटमा सुरक्षा धागो, जनावरको तस्बिर लगायत परिवर्तन गरेको छ ।

सबैभन्दा बढी ५ सय र हजार दरका नक्कली नोट कारोबार हुने हुँदा ती नोटमा विशेष सावधानी अपनाउन लागिएको राष्ट्र बैंकको भनाइ छ । अहिलेको पाँच सयको नोटमा दुईवटा बाघको सट्टा नयाँमा एउटा चितवन निकुन्जमा पाइने बाघको तस्बिर राखिएको छ । हजार दरको नयाँ नोट पनि विशेष खालको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको जुम्ल्याहा हात्ती राखिएको छ । यसअघिको हजार दरको नोटमा एउटा हात्तीको तस्विर थियो ।

नेपालका जनावर अंकित नोट पहिचान गर्न सहज होस भनी यस्तो परिवर्तन गरिएको कार्यकारी निर्देशक नेपालको भनाइ छ । ‘पहिलेका नोटमा राखिएका जनावर अन्य देशमा पनि थिए,’ उनले भने, ‘नयाँ प्रचलनमा आउने नोटमा चितवनमा पाइने लोपोउन्मुख जनावर राखिएको छ ।’ यसले नोट पहिचान गर्न सहज हुनेछ । नयाँ नोटमा सुरक्षा धागो पनि विशेष चम्किलो हुने छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।